‘फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा’
यो नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष भवानी राणाको सबैभन्दा मनपर्ने गीत हो । दिनभर व्यवसायको दौडधूप, महासङ्घको जिम्मेवारी, पारिवारिक दायित्व, सामाजिक कर्तव्य वहन गरेर थकाइले चुर भएका बेला पुनर्ताजगीका लागि उनले सङ्गीतलाई सहयोगी बनाउने गरेकी छिन् । हिन्दी तथा नेपाली सदावहार गीत सुन्न रुचाउने उनी आनी छोइङ डोल्माका गीतले मनमा शान्ति दिने बताउँछिन् । नारायण गोपाल, नातिकाजी, फत्तेमान, अरुणा लामाजस्ता सदाबहार गायकदेखि वर्तमान पुस्ताका दीपक लिम्बू, रामकृष्ण ढकाल, उदय–मनिला सोताङलगायतका गीत मन पराउँछिन् । पुरानादेखि वर्तमान पुस्ताले गाएकासम्म गरी करीब ४ हजार गीतसङ्गीतको सङ्कलन उनीसँग छ ।
राणाजस्ता धेरै व्यवसायी/उद्योगी आफ्नो व्यावसायिक व्यस्तताका बीच पनि गीतसङ्गीतलाई साथी बनाइरहेका छन् र त्यसकै माध्यमबाट केहीबेर थकान बिर्सिएर आनन्द लिन्छन् । तिनैमध्येका अर्का एक हुन्–पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ । उनलाई राष्ट्रवादी गीतहरू मन पर्छन् । ‘नाइण्टिन सेभेण्टी फोर एडी’ ब्याण्डले रिमिक्स गरेर गाएको गोपालप्रसाद रिमालले लेखेको गीत ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ उनलाई एकदमै मन पर्छ । यात्राका क्रममा गीतसङ्गीत सुन्न उनलाई धेरै मन पर्छ । उनी आनी छोइङ डोल्मा, बच्चु कैलाश, नारायण गोपाल, फत्तेमानका स्वरबाट आनन्द लिन्छन् । उनी भन्छन्, ‘पछिल्लोपल्ट नयाँ पुस्ताले पनि गीतसङ्गीतमा फड्को मारेको छ ।’
सङ्गीतका अर्का पारखी हुन् नेपाल युवा उद्यमी सङ्घका अध्यक्ष समीर थापा । गीत सङ्गीतले जीवनमा स्फूर्ति र काममा रौनक भरिदिने उनको भनाइ छ । खासगरी ब्लूज र रक गीत सुन्न रुचाउने उनी पनि ‘नाइण्टिन सेभेण्टी फोर एडी’का गीतहरू बढी मन पराउँछन् । ‘यो मन त मेरो नेपाली हो’, लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’जस्ता कवितालाई ब्याण्डले उच्चस्तरमा सङ्गीत भरेको उनी बताउँछन् । गीतसङ्गीत सुन्नका लागि विभिन्न प्रविधि भित्रिसकेको भए पनि उनी अझैसम्म सीडीमै गीत सुन्दा आनन्द अनुभूति गर्छन् । उनीसँग ३ सय ओटा सीडी सङ्ग्रहित छन् । पर्यटन व्यवसायी भोला थापा मर्निङ वाकमा आईपोडमार्फत गीत सुन्छन् । उत्साहप्रद गीतमात्र मन पराउने उनी हिन्दी र आधुनिक सङ्गीतका पारखी हुन् । ‘गीतसङ्गीतले थकाइ र तनावबाट मुक्ति दिन्छ,’ उनी भन्छन् । बिहान ‘सफ्ट’ गीत सुन्ने उनी ड्राइभिङका बेला भने ठूलो भोल्युममा गीत बजाएर आनन्द लिन्छन् । उनी पनि देशप्रेमका गीत मन पराउँछन् । प्रेसिडेण्ट ग्रूप अफ कम्पनीका अध्यक्ष उनीसँग करीब ५ सय गीत सङ्कलित छन् । उनले आईपोड, आईप्याड र सीडीमा गीत राखेका छन् । नेपाली गीतलाई अन्तरराष्ट्रिय हवाई उडानमा बजाउन प्रयास गरे पनि कपिराइटसम्बन्धी व्यवस्थाका कारण अहिलेसम्म आफू सफल नभएको उनले बताए ।
औद्योगिक समूह गोल्छा अर्गनाइजेशनका प्रबन्ध निर्देशक शेखर गोल्छा पनि सङ्गीतप्रेमी हुन् । काममा ऊर्जा प्राप्त गर्न र मनोरञ्जनका लागि उनी गीतसङ्गीत सुन्ने बताउँछन् । सुफीलगायत हिन्दी गीतले बढी आकर्षित गर्ने उनको रोजाइमा नेपथ्यका गीत र सुकर्म ब्याण्डका सङ्गीत पर्छन् । उनलाई नारायण गोपाल, फत्तेमानलगायतका गीत पनि उत्तिकै मन पर्छ । एक दशकअघिसम्म नेपाली गीतसङ्गीतमा भएको सृजनशीलता अहिलेका गीतमा नपाइने उनको अनुभव छ । साथीभाइसँगको जमघटमा र ड्राइभिङका बेला उनी गीत सुन्छन् । उनीसँग ३ सयभन्दा बढी गीत सङ्कलित छन् । अहिले भने मन परेका गीत इण्टरनेटबाटै डाउनलोड गर्ने उनी बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका आईसीटी विकास समितिका अध्यक्ष विप्लवमान सिंह दिनभरि जतिसुकै तनाव भए पनि घर फर्केर एकाध गीत सुनेपछि मनमा शीतलता आउने बताउँछन् । ‘गीतसङ्गीतले दिनेजस्तो आनन्द अरू केहीले दिँदैन,’ उनी भन्छन् । उनी पछिल्लो समय गीतको ट्र्याक बजाएर आफै गीत गाउन मन पराउँछन् । उनीसँग करीब २ हजार गीतका ट्र्याक छन् । वनभोज तथा साथीभाइको जमघटमा गीत सुन्ने÷सुनाउने उनको बानी छ । उनी नारायण गोपाल, ओमविक्रम विष्ट, दीप श्रेष्ठ, मुहम्मद रफी, मुकेश, किशोरकुमारका गीत मन पराउँछन् ।
एस होटल ग्रूपका अध्यक्ष योगेन्द्र शाक्य गीतसङ्गीतलाई मनोरञ्जनको उत्कृष्ट माध्यम मान्छन् । दिनभरिको कामले थाकेको भारी दिमाग लिएर घर पुगेपछि गीत सुनेर आनन्द लिने उनको बानी छ । टेलिभिजनमा समाचार सुन्दा पनि पृष्ठभुमिमा सङ्गीत बजाउने गरेको उनी बताउँछन् । मेलोडियस गीत मन पराउने उनको रोजाइमा प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, योगेश वैद्य, नारायण गोपालका गीत पर्छन् । आफूसँग ३ हजारदेखि ३ हजार ५ सय गीत सङ्ग्रहित रहेको उनी बताउँछन् । समयअनुसार उनी कहिले मोबाइलमा र कहिले सीडी हालेर गीत सुन्छन् ।