दुवै मिर्गौलामा भएको पत्थरीका कारण निकै वर्षदेखि कष्ट भोग्दै आएकी ललितपुरकी हरिमाया क्षेत्री (नाम परिवर्तन) अहिले आनन्दको जीवन बाँचिरहेकी छन् । दुवै मृगौलामा भएको ४ सय मिलिग्रामभन्दा ठूलो पत्थरीको उपचार नेपालमा सम्भव नहुने भन्दै सरकारी अस्पतालले फर्काइदिएपछि उनले बाँच्ने आशै मारेकी थिइन् । राजधानीका अन्य अस्पतालले ढुङ्गासँगै जिउनुपर्ने वा यसैको कारण ज्यानै गुमाउनुपर्ने, धेरै दुख्दा दुखाइ कम गर्ने औषधिमात्र दिन सकिने तर त्यसको उपचार गर्न नसकिने बताएका कारण उनी निकै नै त्रासदीपूर्ण जीवन बाँचिरहेकी थिइन् । उनको २ वर्षअघि शल्यक्रिया गरिएको थियो ।
ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएकी एक महिलाको जीवन बचाउने प्रयास नर्भिक हस्पिटलले गर्यो । नभन्दै हस्पिटलले निःशुल्क शल्यक्रिया गरी उनको मिर्गौलाबाट पत्थरी निकालेर फालिदियो । त्यतिमात्र होइन, उपचारपछि औषधि, भिटामिन तथा ट्याक्सी भाडासमेत दिएर घर पठाइदिने नर्भिक हस्पिटलप्रति उनी जीवनमा सबैभन्दा बढी अनुगृहित छिन् । निजीक्षेत्रबाट नर्भिकप्रति क्षेत्रीजस्ता ५ सय जनाभन्दा बढी आभारी छन् । उपचारमा सामान्य पहुँचसम्म नभएका विपन्न वर्गलाई सेवा दिने उद्देश्यअनुसार हस्पिटलले त्यस्ता बिरामीहरूको उपचार गरेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंह बताउँछन् । ‘पैसामा गनिने लाभभन्दा त्यस्ता दुःखीले दिएको धन्यवादको मूल्य बढी हुन्छ । १९ वर्षे लामो यात्रामा नर्भिक त्यस्ता धेरै मानिसको माया र हार्दिकताका कारण नै आजको उचाइमा पुगेको हो,’ उनले भने ।
मुलुककै प्रतिष्ठित औद्योगिक समूह ‘चौधरी ग्रूप’अन्तर्गत स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले नर्भिकको स्थापना भएको उनले बताए । उनका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले वार्षिक रू. १ करोड रुपैयाँभन्दा बढीको सेवा पुर्याउँदै आएको छ । उनी भन्छन्, ‘केही मानिसलाई प्रत्यक्ष स्वास्थ्य लाभ दिनु एउटा पक्ष हो । तर, यसको मुख्य उद्देश्य चिकित्सकको ज्ञान अभिवृद्धि गर्नु र मेडिकल अनुसन्धानको अभ्यासलाई मद्दत पुर्याउनु पनि हो । फरक भौगोलिक क्षेत्र, परिवेश तथा रहनसहनका मानिसमा के कारणले कस्ता रोग उत्पन्न हुने वा लाग्ने गर्छ भन्ने विषयका अनुसन्धानमा देशका विभिन्न स्थानमा गरिने स्वास्थ्य शिविर सहयोगी हुने गर्छन् ।’
हस्टिपटलले प्रत्येक शुक्रवार डा. भरत रावतको क्लिनिकमा सबैलाई निःशुल्क मुटु जाँच, तथा आवश्यक बिरामीको निःशुल्क ईसीजी (इलेक्ट्रोकार्डियोग्राम)समेत गराउँछ । हस्पिटलमा प्रसूति तथा स्त्रीरोग, हृदयरोग, बाथरोग, हाड–जोर्नी रोग, स्नायुरोग, मधुमेहसम्बन्धी रोगको निःशुल्क जाँच शिविर सञ्चालन हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा घोषित ‘विमेन्स हेल्थ वीक’ का सन्दर्भमा पनि नर्भिकले एकहप्ते शिविर सञ्चालन गरेको थियो । हस्पिटलले हरेक महीना आन्तरिक शिविरमार्फत सर्वसाधारणलाई स्वास्थ्य सेवा दिने गरेको छ । हरेक वर्ष कैदी तथा सडक बालबालिकालाई पनि हस्पिटलले स्वास्थ्य सेवा दिँदै आएको छ । प्रत्येक महीना विविध रोगसम्बन्धी तथा प्रत्येक २ महीनामा मुटुसम्बन्धी चेतनामूलक कार्यक्रम उपत्यकाबाहिरका ग्रामीण भेगमा आयोजना गर्दै आएको छ ।
गाउँमै पुगी स्वास्थ्य सेवा
हस्पिटलसम्म आउन नसक्नेका लागि सेवा दिने उद्देश्यले नर्भिकले दुर्गम गाउँहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्छ । राजधानी नजिकैको काभे्रदेखि दोलखा हुँदै जाजरकोट तथा पूर्वका मोरङ, झापासम्म हस्पिटलले यस्ता शिविर सञ्चालन गर्दै आएको छ । २०६८ जेठमा मात्रै तिमाल फाउण्डेशन नेपाल (टीफोन) सँगको सहकार्यमा काभ्रेको कुरुवास, चापापोखरी–५ मा सञ्चालित एकदिने निःशुल्क शिविरमा ६ सय ४० जनाले स्वास्थ्य सेवा पाएको हस्पिटलले जानकारी दिएको छ । निःशुल्क औषधिसमेत वितरण गरिएको शिविरबाट ५ गाविसका बासिन्दाले स्वास्थ्य लाभ लिएका थिए ।
हिमानी ट्रष्टको सहकार्यमा हस्पिटलले गतवर्ष नै दोलखाको नाम्दुमा सञ्चालन गरेको दुईदिने शिविरबाट १ हजार ५ सय जनाले स्वास्थ्य लाभ लिएका थिए । शिविरमा नर्भिकका कन्सल्ट्याण्ट कार्डियोलोजिष्ट डा. भरत रावतलगायत १० जना विशेषज्ञको टोलीले सेवा प्रदान गरेका थिए । शिविरका लागि करिब रू. १२ लाख खर्च लागेको हस्पिटलले जानकारी दिएको छ ।
यसै वर्षको असोज १८ देखि २२ गतेसम्म भृकुटीमण्डपमा सञ्चालित पाँचदिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ५० बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । असोज २० गते नर्भिकबाट गएको विशेषज्ञसहितको चिकित्सकको एक टोलीले बाग्लुङमा ६ सयभन्दा बढी बिरामीको निःशुल्क जाँच गरी औषधि वितरण गरेको थियो । केही समय पहिला भारतका विशिष्ट हृदयरोग विशेषज्ञ डा. आरआर कासलीवाल र नर्भिकका वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भरत रावत सम्मिलित टोलीले विराटनगरलगायत देशका विभिन्न ठाउँमा निःशुल्क हृदयरोग परीक्षण शिविरको आयोजना गरी झण्डै ५ सय जना बिरामी जाँचेको थियो ।
त्यसरी नै वर्षभरि विभिन्न रोगका निःशुल्क परीक्षण शिविर गराउन हस्पिटलले निश्चित क्यालेण्डर नै बनाएको छ । उक्त क्यालेण्डरअनुसार विश्व मुटु दिवस, विश्व बाथरोग दिवस, विश्व मधुमेह रोग दिवस, विश्व मिर्गौला रोग दिवस, विश्व उच्च रक्तचाप दिवस आदि मनाउने सिलसिलामा सम्बन्धित बिरामीहरूलाई निःशुल्क जाँच गराउने व्यवस्था गरिँदै आएको छ ।
‘टीम वर्क’ र सहकार्यमा विश्वास गर्ने नर्भिकले सामाजिक सेवाका क्षेत्रमा पनि विभिन्न सङ्घ संस्थासँग हातेमालो गर्ने गरेको छ । त्यसैक्रममा २०६९ कात्तिकमा लायन्स इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ सँगको सहकार्यमा काठमाडौंको साँखुमा एकदिने स्वास्थ्य शिविरको आयोजना गरेको थियो । ‘दुःख पाएकालाई सेवा दिनु सबैभन्दा ठूलो पुण्यकर्म गर्नु हो’ भन्ने चौधरी गू्रपका संस्थापक अध्यक्ष लुनकरणदास चौधरीको आदर्शलाई पछ्याएको हस्पिटलले भविष्यमा यसप्रकारको स्वास्थ्य सेवा निरन्तर प्रदान गर्ने जानकारी दिएको छ ।
च्यारिटी सेवा उपलब्ध गराउने उद्देश्यले ग्रूपले सुनसरीको दुहवीमा स्थापना गरेको श्री लुनकरणदास–गङ्गादेवी चौधरी च्यारिटी हस्पिटलमार्फत पनि त्यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको छ । च्यारिटी हस्पिटलले दुहवी वरपरका करीब १० गाविसका बासिन्दालाई सेवा पुर्याउँदै आएको छ ।
मेडिकल कजेजको तयारी
मुटु र मस्तिष्कसम्बन्धी उपचार तथा जटिल किसिमका शल्यक्रियाका लागि पनि भरपर्दो मानिएको हस्पिटल नर्भिकले हालसम्म ३ सय जनाभन्दा बढी हृदयाघातका बिरामीको ज्यान बचाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत सिंहले बताए । मुटुरोग उपचारका लागि भारतको चर्चित हस्पिटल ‘मेदान्त दि मेडिसिटी’सँग आबद्ध रहेको नर्भिकले स्वास्थ्य सेवामा विश्वस्तरीय प्रविधि भित्र्याएको पनि उनले जानकारी दिए । हाल २ सय शैयामा सञ्चालित हस्पिटल १ सय थप गरी शैया सङ्ख्या ३ सय पुर्याउने तयारीमा छ ।
चिकित्सा सेवाको विविधिकरणका लागि हस्पिटलमार्फत नर्भिक इन्ष्टिच्युट अफ नर्सिङ एजुकेशन सञ्चालनमा आएको छ । साथै, नर्भिक इण्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजका रूपमा रूपान्तरण गराउने प्रक्रियामा संस्था अघि बढेको पनि सिंहले बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.