वीरगञ्ज । बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)को जग्गामा नयाँ औद्योगिक क्षेत्र बनाउने प्रक्रिया अघि बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीस्तरीय निर्णयबाट प्रक्रिया अघि बढेको हो ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई सेजको डी र ई ब्लकको ३११ विगाहा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई लिजमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ । सेज प्राधिकरणले उपयोग गर्दै आएको करीब ८०० बिगाहा जग्गामध्ये अरू जग्गामा रहेको ए बी र सी तीनओटा ब्लकमा सेजको संरचना तयार भएको छ । त्यहाँ उद्योग स्थापनाको तयारी भएको छ ।
यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सेजको जग्गा औद्योगिक क्षेत्र बनाउनेबारे प्रारम्भिक स्थलगत प्रतिवेदन बुझाएको थियो । सिमरा औद्योगिक क्षेत्रका लागि सबैभन्दा राम्रो ठाउँ भएको निष्कर्षसहितको प्रतिवेदन पेश गरेको मन्त्रालयले बताएको छ । सबैभन्दा ठूलो नाका र समुद्री बन्दरगाहबाट सबैभन्दा निकट, व्यापारिक मार्ग, द्रुतमार्गलगायत पूर्वाधारले यो स्थान औद्योगिक क्षेत्रका लागि उत्तम रहेको बताएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सेज प्राधिकरण सञ्चालक समितिबाट औद्योगिक क्षेत्र निर्माणको प्रस्ताव पारित भइसकेको उद्योग मन्त्रालयको पत्रमा उल्लेख छ ।
बारा–पर्सा कोरिडोरमा उद्योगका लागि जग्गाको प्राप्ति चुनौतीपूर्ण भएको भन्दै उद्योगीहरूले नयाँ औद्योगिक क्षेत्रको माग गर्दै आएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक क्षेत्र बनाउनेबारे आश्वासन दिँदै आएका थिए ।
८०० बिगाहामा रहेको सेजका पाँचओटा ब्लकमध्ये तीनओटामा सेजले संरचना तयार गरेको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योगका लागि जग्गाको प्राप्ति कठिन बन्दै गएको अवस्थामा नयाँ औद्योगिक क्षेत्र बनाउने तयारीले उद्यमी आशावादी बनेको उपाध्यक्ष गौतमले बताए ।
सेजमा उद्यमी आकर्षित नभएपछि सेजलाई नै औद्योगिक क्षेत्र बनाउनुपर्ने माग आएको हो । सेजको तीनओटा ब्लकमा उद्योग आह्वान गरिए पनि उद्यमी उत्साहित नभएको निजीक्षेत्रको बुझाइ छ । विगतमा सेज परिसरमै निर्माण गरिएको गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योग नआएपछि सरकारले उक्त पूर्वाधार नै खारेज गरेको थियो ।