काठमाडौं । गत वैशाख १६ र १७ आयोजना गरिएको तेस्रो लगानी सम्मेलनमा सरकारले प्रस्ताव गरेको कुनै पनि परियोजनामा विदशी लगानीकर्ता आकर्षित भएनन् । स्वदेशी लगानीकर्ताले २ ओटा परियोजनाका लागि हालेको आशयपत्र पनि मूल्यांकनाको क्रममा योग्यता नपुगेर अस्वीकृत भएका छन् ।
यससँगै सरकाले तयार पारेको लगानीयोग्य परियोजनामा कुनै पनि स्वदेशी तथा विदेशी लगानी सुनिश्चित हुन सकेन । एकपछि अर्को सरकार परिवर्तन भइरहेको समयमा आयोजना गरिएको लगानी सम्मेलनबाट ठूलो परिणाम आउने अपेक्षा कमै थियो । कतैबाट लगानी सुनिश्चित हुन नसक्दा उक्त लगानी सम्मेलनको उपादेयतामाथि प्रश्न उब्जिएको छ ।
तामाझाम सहित आयोजना गरिएको सम्मेलनमा ८०० भन्दा बढी विदेशी प्रतिनिधिसहित २ हजार ५०० भन्दा बढीको सहभागितामा थियो । लगानी बोर्ड स्रोतका अनुसार उक्त सम्मेलन गर्न करीब ८ करोड रुपैयाँ खर्च भएको थियो । लगानी बोर्ड नेपालले १२ ओटा परियोजनाको सूची राखेर लगानीकर्तालाई आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) पेश गर्न आह्वान गरेको थियो । तर, बोर्डले २ पटक आशयपत्र आह्वान गर्दासमेत एउटै विदेशी लगानीकर्ताले पेश गरेनन् ।
लगानी बोर्डका अनुसार जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज र बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि स्वदेशी निजीक्षेत्रका २ ओटा कम्पनीले आवेदन दिए पनि ती मूल्यांकन चरणबाटै बाहिरिएका छन् ।
प्रस्तावित २ अर्ब २५ करोड रूपैयाँ लगानीको जानकी हेरिटेज परियोजनाका लागि सोल्टी शिवक्रिम प्रालि काठमाडौं र प्रस्तावित १० अर्ब २ करोड रूपैयाँ लागतको बबरमहल प्रशासनिक प्लाजा परियोजनामा गंसु–एसएस–ल्यान्डमार्क ब्लुबर्ड मल काठमाडौंले आशयपत्र पेश गरेका थिए । बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले मूल्यांकनको चरणमा ती कम्पनीका प्रस्ताव योग्यता नपुगेको हुँदा रद्द भएको जानकारी दिए ।
‘उनीहरूले प्रस्तुत गरेका कागजात र कम्पनीका विभिन्न योग्यता हेर्दा र हामीले राखेको परियोजना छनोटको मापदण्ड मेल नखाएपछि प्रस्ताव रद्द गरिएको हो,’ उनले भने, ‘अब पुन: नयाँ तरिकाले आशयपत्र आह्वान गर्नुपर्ने हुन्छ । उनीहरूले पनि योग्यता पुर्याएर पुन: प्रस्ताव हाल्न पाउँछन् ।’
उपाध्यायका अनुसार पुन: आशयपत्र माग गर्ने तयारीमा बोर्ड छ । अब आह्वान गरिने आशयपत्रमा यी १२ ओटा परियोजना पर्न पनि सक्ने र कतिपय परियोजना नपर्न पनि सक्ने भन्दै उनले थपे, ‘यो सूचीमा परिमार्जन पनि हुन सक्छ, थप नयाँ परियोजना पनि राख्न सकिन्छ ।’
सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेर जलाशययुक्त जलविद्युत् आयोजना, औद्योगिक क्षेत्र, प्रसूति अस्पतालदेखि एक्सप्रेस वे र सम्मेलन केन्द्रका लागि लगानी जुटाउन विभिन्न १२ ओटा परियोजनामा आशयपत्र माग गरेको थियो ।
- लगानी बोर्डले प्रस्तुत गरेका कुनै पनि परियोजनामा विदेशी लगानीकर्ता आएनन्
- दुईओटामा स्वदेशी लगानीकर्ताले आशयपत्र पेश गरे पनि मूल्यांकनको क्रममा अयोग्य सावित
६ अर्ब रुपैयाँभन्दा बढीको लगानी बोर्डको कार्यक्षेत्रभित्र पर्छ । उपाध्यायले कम रकमको लगानी भने आकर्षित भएको दाबी गरे । ‘स्वचालित मार्गबाट स–सानो परिमाणमा भए पनि लगानी आकर्षित भएको छ,’ उनले भने, ‘यसलाई लगानी सम्मेलनको योगदान मान्न पनि सकिन्छ । लगानी यत्ति नै रकममा आयो भन्न नसकिए पनि लगानीको माहोल बनेको छ ।’ सरकारले लगानी सम्मेलनकै दोस्रो दिन कुल पूँजी ५० करोड रूपैयाँसम्मको लगानी स्वचालित मार्ग (अटोमेटिक रूट)बाट स्वत: स्वीकृत हुने व्यवस्था लागू गरेको थियो । त्यसयता यो मार्ग भएर मुलुकमा सूचना तथा प्रविधि क्षेत्रमा विगत वर्षको तुलनामा बढी लगानी प्रतिबद्धता उद्योग विभागले प्राप्त गरेको छ ।
विभागमा चालू आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा स्वचालित मार्गबाट १३८ परियोजनामा २ अर्ब १३ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ । मुलुकमा सरकारले २/२ वर्षमा लगानी सम्मेलन गर्ने भने पनि यसो हुन नसकेको भन्दै उपाध्यायले थपे, ‘सम्मेलनलाई नियमित प्रक्रियाको रूपमा अघि बढाउनुपर्छ । लगानी सम्मेलनबाट नेपाल लगानी भित्त्याउन जागरूक छ र लगानी भित्त्याउने मध्यस्थकर्तालाई मञ्च दिन्छ भन्ने सन्देश दिने हो, अहिले लगानीको रकमभन्दा पनि लगानीको माहोल, नेटवर्क विस्तार जस्ता कुरालाई ध्यान दिनुपर्छ ।’
अहिले बोर्डले लगानी सम्मेलन प्रत्येक २ वर्षमा गर्ने योजनाका अतिरिक्त कम्तीमा २ ओटा भए पनि क्षेत्र विशेष लक्षित अन्तरराष्ट्रियस्तरको सम्मेलन गर्ने योजना बनाएको छ । यसमा पूर्वाधार, पर्यटन, शहरी जस्ता कुनै एउटा क्षेत्र विशेषमा लगानीकर्तालाई आकर्षित गर्ने र अर्को कुनै देशबाट लगानी आकर्षित गर्न देश विशेष सम्मेलन गर्ने बोर्डको योजना रहेको उपाध्यायले बताए । यस्तै सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलित) ९ परियोजना सहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो ।
बोर्डले आशयपत्र माग गर्नका लागि राखेका परियोजनामा पोखरा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज प्रोजेक्ट, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, बबरमल प्रशासनिक प्लाजा, नौमुरे बहुउद्देश्यीय परियोजना, कालिगण्डकी–२ जलाशय परियोजना, खिम्ती–ठोसे–शिवालय जलाशययुक्त परियोजना, भार्भुङ जलाशययुक्त परियोजना, दैजी औद्योगिक क्षेत्र, गौतमबुद्ध प्रसूति अस्पताल थिए ।