काठमाडौं । पूँजीकोषको दबाबले व्यवसाय विस्तार गर्न नपाएपछि वाणिज्य बैंकहरू अग्राधिकार शेयरबाट पूँजी जुटाउने रणनीतिमा लागेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा अग्राधिकार शेयर जारी गर्न अनुमति दिने संकेत गरेपछि बैंकहरू पनि यसतर्फ आकर्षित भएका हुन् ।
राष्ट्र बैंकले गत जेठमा चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको पूँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरण प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने घोषणा गरेको थियो । उक्त घोषणा कार्यान्वयनका लागि केन्द्रीय बैंकले बुधवार निर्देशन पनि जारी गरिसकेको छ । पूँजीकोषको दबाबमा रहेका केही बैंकले यसअघि नै अग्राधिकार शेयर जारी गर्न अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दर्ता गरिसकेका छन् ।
हालसम्म एनआईसी एशिया र नबिल बैंकले ५/५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न निवेदन दिएका छन् । नबिलले २०८० चैतमै अग्राधिकार शेयर जारी गर्न अनुमति मागे पनि एनआईसीले मौद्रिक नीतिमा घोषणापछि मात्रै प्रक्रिया अघि बढाएको हो । अग्राधिकार शेयरमा एनआईसी एशियाले वार्षिक ८ दशमलव ५ र नबिलले ८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेका छन् ।
पूँजीकोष कम हुँदै गएपछि अग्राधिकार शेयर जारी गर्न निवेदन दिइएको नबिल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए । राष्ट्र बैंकबाट स्वीकृति आएपछि प्रक्रिया अघि बढ्ने उनले बताए ।
राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले प्राथमिक पूँजीकोष अनुपात न्यूनतम ८ दशमलव ५ प्रतिशत कायम गर्नुपर्छ । पूँजीकोष अनुपात तोकिएभन्दा कम भएका बैंकलाई राष्ट्र बैंकले लाभांश वितरण गर्न रोक्छ । २०८० चैतमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पूँजीकोष अनुपात नै ९ दशमलव ६९ प्रतिशतमा झरेको छ । कुमारी र एनआईसी एशियाको पूँजीकोष अनुपात न्यूनतम मापदण्डभन्दा कम भइसकेको छ ।
हालसम्म एनआईसी एशिया र नबिल बैंकले ५/५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न निवेदन दिएका छन् ।
कुमारीको पूँजीकोष ८ दशमलव शून्य ३ र एनआईसीको ८ दशमलव २५ प्रतिशत छ । प्राथमिक पूँजीकोष अनुपात कायम नगर्दा राष्ट्र बैंकले एनआईसी एशियालाई आव २०७७/७८ र २०७८/७९ मा लाभांश वितरणमा रोक लगाएको थियो ।
पूर्वबैंकर पर्शुराम कुवँर क्षेत्री कुल पूँजीकोष कायम गरे पनि प्राथमिक पूँजीकोषको दबाबमा रहेका बैंकहरूलाई अग्राधिकार शेयर जारी गर्न दिइएको बताउँछन् । मौद्रिक नीतिको घोषणा कार्यान्वयन गर्न सर्कुलर जारी भएको उनले जानकारी दिए ।
के हो अग्राधिकार शेयर ?
कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्रअधिकार हुने शेयरलाई अग्राधिकार शेयर (अंग्रेजीमा प्रिफेरेन्स शेयर) भनिन्छ । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयरबापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्छ । साधारण शेयरबापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ ।
यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन् । कम्पनी विघटनमा जाँदा पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी र लाभांश प्राप्त गर्ने पहिलो अधिकारचाहिँ हुन्छ । यही कारण साधारण शेयरभन्दा अग्राधिकार शेयरमा गरिएको लगानी सुरक्षित हुन्छ ।
नेपालमा दुई कम्पनी एभरेष्ट बैंक र कृषि विकास बैंकले मात्र अग्राधिकार शेयर जारी गरेका छन् । एभरेष्ट बैंकको ७ प्रतिशत कन्भर्टेबल शेयर जारी गरेको थियो । अहिले त्यो शेयर सर्वसाधारणमा परिणत भइसकेको छ ।
यस्तै कृषि विकास बैंकको ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर छ । यो शेयर कम्पनी रहुन्जेलसम्म रहन्छ । यस्तो शेयरलाई ननरिडिमेबल अग्राधिकार शेयर भनिन्छ । भारतमा धेरै कम्पनीहरूले अग्राधिकार शेयर जारी गर्ने गर्छन् । कम्पनीहरूले हकप्रद शेयर जारी गर्नुभन्दा निश्चित अवधिका लागि अग्राधिकार शेयर जारी गरेमा राम्रो हुने विज्ञहरू बताउँछन् ।
कतिपय अग्राधिकार शेयर निश्चित समयपछि साधारणमा परिणत हुने खालका हुन्छन् । यस्तो शेयरलाई परिवर्तनीय (कन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । साधारणमा परिवर्तन गर्न नसक्ने खालको शेयरलाई अपरिवर्तनीय (ननकन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । साधारणसभामा अग्राधिकार शेयरधनीलाई मतदान गर्ने अधिकार दिएको वा नदिएको आधारमा पनि अग्राधिकार शेयरको वर्गीकरण गर्न सकिन्छ । अग्राधिकार शेयरका अन्य प्रकारमा क्युमुलेटिभ, ननक्युमुलेटिभ पर्छन् । कुनै वर्ष कम्पनीले अग्राधिकार शेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्ष नाफा हुँदा जोडेर दिने व्यवस्था छ भने त्यस्तो शेयरलाई क्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयरलाई ननक्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । अहिले दुई वाणिज्य बैंकले जारी गर्न लागेको ननक्युुमुलेटिभ अग्राधिकार शेयर हो ।
रिडिमेबल र इरिडिमेबल अग्राधिकार शेयर पनि हुन्छ । निश्चित समयपछि साँवा फिर्ता हुने अग्राधिकार शेयरलाई रिडिमेबल अग्राधिकार शेयर भनिन्छ भने फिर्ता नहुने अर्थात् कम्पनी रहुन्जेलसम्म रहने गरी जारी गरिएको अग्राधिकार शेयरलाई इरिडिमेबल अग्राधिकार शेयर भनिन्छ । नन–रिडिमेबल र इरिडिमेबल अग्राधिकार शेयर उस्तै प्रकृतिका हुन् ।
यसरी कुनै अग्राधिकार शेयर कन्भर्टिबल, क्युमुलेटिभ र रिडिमेबल हुन सक्छ भने कुनै ननकन्भर्टिबल, ननक्युमुलेटभ, नन–रिडिमेबल/इरिडिमेबल हुन सक्छन् । कम्पनी कुनै वर्ष घाटामा गएर लाभांश वितरण गर्न नसकेमा यस्तो अग्राधिकार शेयरको लाभांश सञ्चित भएर आगामी वर्षहरूमा प्राप्त गर्ने व्यवस्था हुन सक्छ । यस्तो लाभांशलाई सञ्चित लाभांश भनिन्छ । त्यसैगरी कम्पनी विघटनमा गएर पूँजी फिर्ता गर्ने क्रममा अंकित मूल्य बराबर नै फिर्ता गर्नुपर्ने हुन्छ । सोही कारण अग्राधिकार शेयरमा अंकित मूल्य तोकिएको हुन्छ ।
प्राथमिक पूँजी बराबर अग्राधिकार शेयर
वाणिज्य तथा विकास बैंकहरूले आफ्नो प्राथमिक पूँजी बराबर अग्राधिकार शेयर जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै प्राथमिक पूँजीको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका बैंकहरूलाई प्राथमिक पूँजीको शतप्रतिशतसम्म डिबेन्चर/अन्य ऋण उपकरण जारी गर्न दिने व्यवस्था गरेको हो ।
निर्देशनमा बैंकहरूलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर (पर्पेच्युअल नन–क्युमुलेटिभ प्रिफरेन्सियल शेयर) जारी गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष थप सुदृढ गर्न अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो ।
संस्थागत लगानीकर्ताले मात्र खरीद गर्न पाउने गरी जारी गर्नुपर्ने अग्राधिकार शेयरको भुक्तानी अवधि तोक्न नपाइने प्रावधान छ । कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्ने यस शेयरको लाभांश दरसमेत विवरणपत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ । यस्तो शेयरमा लाभांश चालू आवको नाफाबाट मात्र वितरण गर्नुपर्ने र सञ्चित नाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने शर्त तोकिएको छ ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेका संस्थाको तोकिएको ‘ट्रिगर बिन्दु’ पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो शेयर साधारण शेयरमा परिणत गर्नुपर्ने र यसका लागि केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । अग्राधिकार शेयरलाई संस्थापक समूहको साधारण शेयरमा परिणत गर्नुपर्ने र यसको विधि/सूत्र विवरणपत्रमा उल्लेख गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।