कर्पोरट क्षेत्रमा शेयर भन्ने शब्दले पूँजीको अंश भन्ने जनाउँछ । शेयर शब्दको अगाडि ‘अग्राधिकार’ विशेषण लागेको शेयर पनि हुन्छ । अग्राधिकार विशेषणले यो शेयरलाई अरू शेयरभन्दा विशिष्ट/बेग्लै बनाइदिन्छ । नेपालमा यस्तो शेयर आमरूपमा प्रचलित छैन । त्यसैले अग्राधिकार शेयर प्रचलनमै रहेको शेयर धारण गरेका कुनै व्यक्ति वा समूह हो भन्ने आम बुझाइ बनेको देखिन्छ । आम बुझाइको शेयरलाई ‘साधारण शेयर’ भनिन्छ । कतिले यसलाई संस्थापकले धारण गरेको शेयर हो र अरूले भन्दा बढी अधिकार पाउँछन्/पाएको हुन्छ भन्ने बुझाइ पनि देखिन्छ । यो आम बुझाइअनुसारको शेयर होइन । यसको छुट्टै किसिमको अस्तित्व हुन्छ । नामअनुसारको यसले अग्राधिकार पनि पाएको हुन्छ । अग्राधिकार शेयर भए पनि साधारण शेयरले पाएको अधिकार यसले पाएको हुँदैन । अग्राधिकार शेयरले पाएको अधिकार साधारण शेयरले पाएको हुँदैन । अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन हुनसक्छ । साधारण शेयरमा परिवर्तन भएमा यसले अग्राधिकार शेयरको अस्तित्व गुमाउँछ । अग्राधिकार पनि प्राप्त गर्दैन । साधारण शेयर बनेपछि यसले साधारण शेयरले पाएका सबै अधिकार प्राप्त गर्छ । अग्राधिकार शेयर पनि स्टक एक्सचेन्जमा कारोबर हुन्छ । दुवै शेयर पूँजी प्राप्त गर्ने वित्तीय उपकरण हुन् ।
अग्राधिकारको अग्राधिकार
अग्राधिकार शेयरले केकस्ता अग्राधिकार पाएका हुन्छन् । यसका केकस्ता विशेषता हुन्छन् र कति प्रकारका हुन्छन् । यस विषयमा यस अनुच्छेदमा सविस्तार चर्चा गरिन्छ । अग्राधिकार शेयर भनिए पनि साधारण शेयरले भन्दा व्यापक अधिकार पाएको हुँदैन । व्यापक अधिकार साधारण शेयरकै हुन्छ किनभने साधारण शेयर धारण गरेका शेयरधनीले मतदानको अधिकार र सञ्चालकमा उम्मेदवार हुने अधिकार पाएका हुन्छन् । सञ्चालक बन्न पाउनु कम्पनी सञ्चालन गर्ने अख्तियारी हो । अग्राधिकार शेयरधनीले मतदानको अधिकार र सञ्चालकमा उम्मेदवार हुने अधिकार पाएको हुँदैन । यस्ता शेयरधनीले साधारण शेयरधनीले भन्दा पहिला लाभांश पाउँदैन । त्यस्तै, कम्पनी खारेजी हुँदा साधारण शेयरभन्दा पहिला फिर्ता पाउने क्रममा पनि छ । साधारण शेयरले भन्दा पहिल्यै लाभांश पाउनेबाहेक खारेज हुँदा पहिले फिर्ता पाउने अधिकार क्रम मात्र हो । खारेज हुँदा अग्राधिकार शेयर फिर्तै हुनसक्छ भन्ने आधार हुन्न । अग्राधिकार शेयरले यी दुईओटा अधिकार साधारण शेयरले भन्दा पहिले पाउने हुँदा यसलाई अग्राधिकार शेयर भनिएको हो । अग्राधिकार र साधारण शेयरबीच कस्ता मूलभूत भिन्नता हुन्छन् भन्ने कुरा तालिकामा देखाइएको छ ।
नेपालको कम्पनी ऐनमा अग्राधिकार शेयर कति वर्ष अवधिको लागि जारी गर्न सकिने भन्ने विषयमा पनि कुनै व्यवस्था छैन । यस हिसाबले जति समयका लागि पनि अग्राधिकार शेयर जारी गर्न पाइन्छ भन्ने बुझिन्छ ।
अग्राधिकारको विशेषता र प्रकार
यसको मुख्य विशेषता लाभांशमा पहिलो अधिकार हुन्छ । त्यस्तै, कम्पनी खारेज हुने अवस्थामा साधारण शेयरभन्दा पहिले फिर्ताको क्रम आउँछ । यसबाहेक यो साधारण शेयरमा परिवर्तन हुनसक्छ । हरेक वर्ष सुनिश्चित आम्दानी प्राप्त हुन्छ । कुनै वर्ष लाभांश दिन नसके अर्को वर्ष वा जुन वर्ष दिन्छ सोही समयसम्म नपाएको वर्षको लाभांश सञ्चित भएर बस्छ । निश्चित अवधिपश्चात् धारकले फिर्ता पाउँछ । यसका विशेषताभित्र यसको प्रकार लुकेको हुन्छ । अग्राधिकार शेयर मूलत: तीन प्रकारको हुन्छ ।
१. परिवत्य र अपरिवत्र्य : अग्राधिकार शेयरको एउटा विशेषता वा प्रकार परिवत्र्य र अपरिवत्र्य हो । परिवत्र्य भन्नाले निश्चित समयपछि उक्त शेयर साधारण शेयरमा परिवर्तन हुन्छ । साधारण शेयरमा परिवर्तन भएपछि अग्राधिकार शेयरको अस्तित्व समाप्त हुन्छ र पाइरहेको अग्राधिकार समाप्त हुन्छ । साधारण शेयरमा परिवर्तन भएपछि सञ्चालकमा उम्मेदवार हुन र सञ्चालकको निर्वाचनमा मतदान गर्न पाउँछन् । परिवर्तन कति समयमा हुने भन्ने कुरा यस्तो शेयर जारी गर्दा विवरणपत्रमा उल्लेख गरिएको हुन्छ । यस्ता शेयर एकैपटक परिवर्तन नगरी खण्ड–खण्ड गरेर पनि परिवर्तन गर्न सकिन्छ । उदाहरणका लागि नेपालमा सम्भवत: पहिलोपटक एभरेष्ट बैंक लिमिटेडले यस्तो शेयर जारी गरेको थियो । हाल उक्त शेयर साधारण शेयरमा परिवर्तन भइसकेको छ । स्मरणको लागि यो शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ईबीएलसीपी सङ्केतबाट कारोबार हुन्थ्यो । परिवर्तन हुनु अघिसम्म यसले वार्षिक ७ प्रतिशत लाभांश प्राप्त गथ्र्यो ।
अपरिवत्र्य शेयर ठ्याक्कै परिवत्र्य शेयरको विपरीत हुन्छ अर्थात् परिवर्तन भएर साधारण शेयर बन्दैन । अवधि पुगेपछि धारकलाई फिर्ता गरिन्छ । यस्तो शेयर खण्ड–खण्ड गरेर फिर्ता हुँदैन, एकैपटक फिर्ता हुन्छ । यस्ता शेयरमा पनि वार्षिक निश्चित प्रतिशत लाभांश प्राप्त हुन्छ ।
२. फिर्ता हुने र फिर्ता नहुने : अग्राधिकार शेयरको एउटा विशेषता वा प्रकार फिर्ता हुने र फिर्ता नहुने हो । फिर्ता हुने भन्नाले निश्चित समयपछि उक्त शेयरबापतको रकम धारकलाई फिर्ता गरिन्छ । यसको स्वभाव अपरिवत्र्य शेयरसँग मिल्दो हुन्छ । फिर्ता कहिले गर्ने वा हुने र लाभांश कति प्राप्त हुने विषय विवरणपत्रमा उल्लेख हुन्छ ।
फिर्ता नहुने अग्राधिकार शेयर फिर्ता हुने अग्राधिकार शेयरको ठ्याक्कै विपरीत हो । यस्तो शेयर जारी भएपछि कहिल्यै फिर्ता हुँदैन । कम्पनी खारेज हुने कुनै अवस्था आएमा साधारण शेयरभन्दा पहिले फिर्ताको क्रम आउँछ । यसले पनि निश्चित गरिएको लाभांश पाउँछ । फिर्ता नहुने अग्राधिकार शेयरको उदाहरणका रूपमा कृषि विकास बैंक लिमिटेडसँग रहेको ५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको रकमलाई लिन सकिन्छ । यसले वार्षिक ६ प्रतिशत लाभांश प्राप्त गर्छ । लाभांश छ प्रतिशत मात्र हुन्छ भन्ने हुँदैन । यो कुरा यस्तो शेयर जारी गर्दा विवरणपत्रमा उल्लेख गरिएको हुन्छ ।
३. सञ्चित र असञ्चित : अग्राधिकार शेयरको एउटा प्रकार सञ्चित र असञ्चित हो । सञ्चित भन्नाले कुनै वर्ष कम्पनी घाटामा गएर नाफा आर्जन गर्न सकेन भने त्यस वर्ष यस्ता अग्राधिकार शेयरले पाउने भनेर निश्चित गरिएको लाभांश अर्को वर्ष वा जुन वर्ष नाफा हुन्छ त्यससमयसम्म सञ्चित भएर बस्छ । उदाहरणका लागि कुनै कम्पनीले जारी गरेको यस्तो शेयरमा आर्थिक वर्ष २०८०/०८१ मा नाफा आर्जन गर्न नसकी लाभांश दिन सकेन भने आर्थिक वर्ष २०८१/०८२ मा नाफा कमाएमा २ आर्थिक वर्षको लाभांश एकैपटक प्राप्त हुन्छ । यसरी लाभांश सञ्चय भएर बस्ने भएकाले यसलाई सञ्चित अग्राधिकार शेयर भनिन्छ । यस्तो शेयर निश्चित समयपछि परिवर्तन भएर साधारण शेयर बन्नसक्छ वा धारकलाई नै फिर्ता हुन्छ वा कहिले फिर्ता नहुन पनि सक्छ ।
विवरणपत्र स्वीकृत गर्ने निकायले असञ्चित अग्राधिकार शेयर जारी गर्ने कम्पनीलाई अग्राधिकार शेयरबापत दिनुपर्ने बराबरको रकम जगेडा कोषमा भएसम्म अनिवार्य रूपमा यस्ता शेयरधनीलाई लाभांश बाँड्नुपर्ने गरी स्वीकृति दिनुपर्ने देखिन्छ ।
असञ्चित अग्राधिकार शेयर सञ्चित अग्राधिकार शेयरको ठीक विपरीत हो । यसमा कुनै वर्ष लाभांश दिन नसकेमा सञ्चित भएर बस्दैन । यसको उदाहरणका रूपमा कृषि विकास बैंक लिमिटेडको अग्राधिकार शेयरलाई लिन सकिन्छ । आव २०७९/८० मा अग्राधिकार शेयरधनीलाई लाभांश वितरण गरेन ।
नेपालमा अग्राधिकार शेयर
नेपालमा हाल अग्राधिकार शेयर जारी भएको छैन भन्दा पनि हुन्छ । एभरेष्ट बैंक लिमिटेडले जारी गरेको अग्राधिकार शेयर परिवर्तन भइसकेको छ । हालै नबिल बैंक लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने घोषणा गरेका छन् । यी उल्लिखित कम्पनी (बैंक) ले जारी गर्न लागेको असञ्चित फिर्ता नहुने अग्राधिकार शेयर हो । भारतमा सन् २०१३ मा जारी कम्पनी कानूनले फिर्ता नहुने अग्राधिकार शेयर जारी रोक लगाएको छ । तर, पूर्वाधार विकास आयोजना निर्माण गर्न भने शर्त बन्देजको आधारमा यस्ता शेयर जारी गर्न पाइन्छ । नेपालको कम्पनी ऐनमा अग्राधिकार शेयर रकम निश्चित अवधि पछि फिर्ता गर्न सकिने (रिडिमेबल) वा फिर्ता गर्न नसकिने (इरिडिमेबल) के हुने हो सो कुरा खुलाउनुपर्ने भन्ने व्यवस्थाले जारीकर्ता कम्पनीलाई नै यसको
अधिकार दिएको देखिन्छ ।
त्यस्तै, नेपालको कम्पनी ऐनमा अग्राधिकार शेयर कति वर्ष अवधिको लागि जारी गर्न सकिने भन्ने विषयमा पनि कुनै व्यवस्था छैन । यस हिसाबले जति समयका लागि पनि अग्राधिकार शेयर जारी गर्न पाइन्छ भन्ने बुझिन्छ । भारतमा २० वर्षभन्दा बढी अवधिका लागि यस्ता शेयर जारी गर्न पाइँदैन । नेपालमा अग्राधिकार शेयरको विषयमा कानूनी व्यवस्था भए पनि पर्याप्त नभए जस्तो देखिन्छ । असञ्चित अग्राधिकार शेयरको सम्बन्धमा खुद नाफा कति हुनुपर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा यस्ता शेयरधनी मारमा पर्ने देखिन्छ । उदाहरणको लागि कृषि विकास बैंक लिमिटेडले आव २०७९/८० मा पर्याप्त रकम सञ्चित जगेडामा हुँदाहुँदै पनि अग्राधिकार शेयरधनीलाई लाभांश बाँडेन ।
विवरणपत्र स्वीकृत गर्ने निकायले असञ्चित अग्राधिकार शेयर जारी गर्ने कम्पनीलाई अग्राधिकार शेयरबापत दिनुपर्ने बराबरको रकम जगेडा कोषमा भएसम्म अनिवार्य रूपमा यस्ता शेयरधनीलाई लाभांश बाँड्नुपर्ने गरी स्वीकृति दिनुपर्ने देखिन्छ । नत्र असञ्चित अग्राधिकार शेयरधनी र साधारण शेयरधनीबीच कुनै भिन्नता रहँदैन । साधारण शेयरधनीले पाउँदा अग्राधिकार शेयरधनीले पनि पाउने र साधारण शेयरधनीले नपाउँदा अग्राधिकार शेयरधनीले नपाउने हो भने यसलाई ‘अग्राधिकार’ भनिरहनुको औचित्य हुन्न । कम्पनी खुद घाटामै गएको अवस्थामा बाहेक अग्राधिकार शेयरधनीलाई लाभांश दिन पुग्ने रकम भएसम्म अग्राधिकार शेयरधनीलाई लाभांशबाट वञ्चित गर्न हुँदैन ।
लेखक धितोपत्रसम्बन्धी अध्येता एवं करपोरेट अधिवक्ता हुन् ।