काठमाडौं । सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बन्द नगर्नेलगायत १० बुँदे निर्णय गरेको छ । अविरल वर्षाका कारण उपत्यकाबाट बाहिरिने मुख्य राजमार्गहरूमा पहिरो जाने क्रम नरोकिएको र सरकारले पनि त्यसको व्यवस्थापन गर्न नसकेको भन्दै यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने बताएका थिए ।
यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा कुनैपनि हालतमा यात्रुहरूलाई सुरक्षितरूपमा गन्तव्यसम्म पुर्याउन नसकिने बताएपछि मंगलवार यातायात व्यवस्था विभागले व्यवसायीहरूलाई बोलाएर छलफल गरेको थियो ।
विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संगठन, उपत्यका प्रहरी प्रभाग लगायतका सरोकारवाला निकायको बैठकले अग्रिम टिकट बुकिङ बन्द नगर्ने तर, बाटोको अवस्था बुझेर मात्रै टिकट काट्ने निर्णय गरेको हो ।
निर्णयहरू
१. मिति २०८१।०६।११ र १२ गते भएको अविरल वर्षाको कारणले आएको बाढी तथा पहिरोबाट ज्यान गुमाउनु हुने यात्रु तथा यातायात मजदुरहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस विपद्बाट ज्यान गुमाउने यातायात मजदुरहरूको विवरण तथा दुर्घटनाग्रस्त सवारीको क्षतिको विवरण सङ्कलन गरी आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने ।
२. सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदुर तथा व्यवसायीहरूलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने साथै विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा गर्नै परे सावधानी एवं सतर्कता अपनाउनु हुन सर्वसाधारणलाई अनुरोध गर्ने ।
३. देशभरीको विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रूपमा आफ्नो फेसबुक पेजमार्फत सम्प्रेषण गर्न अनुरोध गर्ने ।
४. यस विभागमा मिति २०८१।०६।०८ गते बसेको बैठकबाट असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ्ग खुला गरिएको र धेरै यात्रुहरूले टिकट लिइसकेको अवस्थामा मिति २०८१।०६।११ र १२ गते परेको अविरल वर्षाले सडक ठाउँठाउँमा अवरुद्ध रहेको तथा जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पुर्वानुमानले समेत अझै केही दिन वर्षा हुने पूर्वानुमान जारी गरेकोले अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पुऱ्याउने सुनिश्चितता गर्ने ।
५. थप अग्रिम टिकट बुकिङ्ग गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई समेत आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्नु हुन यातायात व्यवसायीहरूमा अनुरोध गर्ने ।
६. काठमाडौंबाट छुट्ने यात्रुबाहक बसहरूले सार्वजनिक यातायातबाट सेवा दिँदा हाल जोखिमयुक्त रहेको काठमाडौं-नारायणगढसम्मको सडकखण्डको अवस्थालाई मध्यनजर गर्दै काठमाडौंबाट सवारी साधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने ।
७. मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने ।
८. वैकल्पिक मार्गहरूको पहिचान गरी ठूला सवारी साधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गहरूको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने ।
९. अत्याधिक वर्षाका कारणले रेड जोनमा परेका सडक खण्ड तथा सडकहरूमा हेभी इक्युपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने ।
१०. वर्षात्को कारणले अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफूसँग भएका हेभी इक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धार कार्यमा सहयोग गर्न अनुरोध गर्ने ।