काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको नयाँ कार्य समिति गठन भएको छ । गत शुक्रवार सम्पन्न यूनियनको सातौं अधिवेशनबाट अजय ढुङ्गानाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।
अधिवेशनको बन्दसत्रबाटै नौ जना उम्मेदवार नै निर्वाचित भएका हुन । समितिका वरिष्ठ उपाध्यक्षमा गौरव विष्ट, उपाध्यक्षमा एलिजा फुुयाँल, सचिवमा नमुना जोशी, कोषाध्यक्षमा गौरब बराल र सदस्यहरूमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रविन्द्र देव भट्ट छन् ।
ललितपुरको हात्तिवनस्थित क्लासिक रेष्टुरेष्ट तथा पार्टी भेन्यूमा सम्पन्न यूनियनको सातौं अधिवेशनको उद्घाटन भने अर्थमन्त्रालयका सहसचिव तथा बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले गरेका थिए ।
गत पुस २० गतेपछि बोर्डमा अध्यक्ष पद रित्त छ । अर्थमन्त्रालयका प्रतिनिधिले हाल बोर्डको नेतृत्व सम्हालिरहेको अवस्थामा कर्मचारीहरूको यूनियनमा नयाँ कार्यसमिति चयन भएको हो ।
बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिरहेका अवस्थामा अल्पकालीन काममा मात्र अर्थमन्त्रालयका प्रतिनिधिले भूमिका खेल्ने भएकाले जतिसक्दो चाडो अध्यक्ष पदपूर्तिका लागि सरकारले काम गर्नुपर्ने कर्मचारीहरूको माग छ ।
बोर्डको आफ्नै भवन नहुँदा बोर्डका कर्मचारीहरूको मनोबल बढ्न नसकेको गुनासो हुँदै आएकोमा आगामी नेतृत्वले बोर्डको आफ्नै भवन निर्माणका लागि पहल गर्ने विश्वास समेत कर्मचारीहरूको छ ।