वासिङ्टन डिसी (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसको जंगलमा फैलिएको आगलागी भयावह बन्दै गएको छ ।
समाचार संस्था बीबीसीका अनुसार गत मंगलवार बिहान लागेको आगो अहिलेसम्म ६ ओटा जंगलमा फैलिसकेको छ । लस एन्जलसको लगभग सबै क्षेत्र आगलागीको चपेटामा परेको छ ।
आगलागीका कारण अहिलेसम्म १० जनाको मृत्यु भइसकेको अन्तरराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । यस्तै, १ लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।
तीव्र हावा चलेका कारण आगलागी नियन्त्रण हुन नसकेको र राहत र उद्दारमा समेत समस्या भएको बताइएको छ ।
गत मंगलवार बिहान प्यासिफिक पेलिसेड्सको जंगलबाट आगलागी शुरु भएको थियो । यो क्षेत्र लस एन्जलसको उत्तर–पश्चिममा पर्छ ।
शुरुमा १० एकड क्षेत्रमा लागेको आगो अहिलेसम्म १७ हजार २०० एकडमा फैलिसकेको बताइएको छ । यो क्यालिफोर्नियामा भएको अहिलेसम्मकै ठूलो आगलागी हो ।