स्यान फ्रान्सिस्को । शुक्रबार अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण ३ हजार भन्दा बढी उडान रद्द एयरलाइन्स ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले जनाएको छ। डेल्टा एयरलाइन्सले अपेक्षा गरिएभन्दा खराब र चिसो मौसम का कारण एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलका सबै पाँच रनवे दुई घण्टाभन्दा बढी समय बन्द गरिएको बताएको छ।
डेल्टाले भनेको छ, "शुक्रबार हामीले हाम्रो नेटवर्कमा करिब १ हजार १०० उडान रद्द गर्यौं," र "शनिबारका लागि एयरलाइन्सलाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेका छौं।"
यस्तै, डेल्टाको एउटा विमानले एटलान्टामा इन्जिनमा समस्या आएपछि टेकअफ रोक्नुपरेको जनाइएको छ । बोइङ ७५७-३०० मा सवार २०० भन्दा बढी यात्रु र चालक दल आपतकालीन स्लाइडको माध्यमबाट बाहिर निस्कनुपरेको जनाइएको छ।
डालस फोर्ट वर्थ (टेक्सास) र चार्लोट डग्लास (उत्तर क्यारोलिना) विमानस्थल पनि खराब मौसमबाट प्रभावित भएका थिए। फ्लाइटअवेयरका अनुसार यी दुई विमानस्थलमा मात्रै १ हजार २०० भन्दा बढी उडान रद्द गरिएका थिए । फ्लाइट ट्र्याकिङ वेबसाइटले शुक्रबार देशका विभिन्न विमानस्थलमा कुल ३ हजार भन्दा बढी उडान रद्द भएको तथ्यांक सार्वजनिक गरेको छ।
यसअघि हप्ताको शुरुमा आएको चिसो आँधीले पनि अमेरिकालाई प्रभावित पारेको थियो। उक्त आँधीले कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने सयौं उडान रद्द भएका थिए । तापक्रम कतिपय स्थानमा शून्य डिग्री फरेनहाइट (-१८ डिग्री सेल्सियस) भन्दा तल झरेको थियो भने दशौं हजार मानिसहरू विद्युतविहीन भएका थिए। एएफपी