लखनउ (भारत) । भारतको प्रयागराजमा सोमवार (आज)बाट 'महाकुम्भ' शुरु भएको छ । मेलामा भाग लिन करोडभन्दा बढी श्रद्धालु प्रयागराज पुगिसकेका छन् । श्रद्धालु आउने क्रम जारी छ ।
मेलामा आएका श्रद्धालुले भारतको सबैभन्दा पवित्र मानिएको गंगा नदी, यमुना नदी र पौराणिक अदृश्य सरस्वतीको संगममा स्नान गर्नेछन् । यसरी स्नान गर्दा पाप नाश हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास छ ।
सोमवार साँझ ४ बजेसम्म १ करोड ६० लाख मानिसले स्नान गरिसकेको अधिकारीहरूले बताएका छन् । मंगलवार यो संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ ।
तीर्थयात्री र पर्यटकहरूलाई बस्नका लागि नदी किनारमा ४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको विशाल ‘टेन्ट सिटी’ बनाइएको छ । तर, मेलाको अघिल्लो दिन आइतवार प्रयागराजको मैदानमा काम भइरहेको देखिन्थ्यो । सन्त र अन्य श्रद्धालुले स्थापना गरेका केही शिविरहरूमा पानी र बिजुली आपूर्ति गरिएको थिएन ।
प्रशासनका अधिकारी विवेक चतुर्वेदीका अनुसार मेलाका लागि ६५० किलोमिटर (४०३ माइल) अस्थायी सडक निर्माण गरिएको छ । यस्तै, दशौं हजार टेन्ट र शौचालय निर्माण गरिएको छ । मेलाका लागि ४० हजारभन्दा बढी प्रहरी र सुरक्षा अधिकारी खटिएको उनले जानकारी दिए ।
भारतको प्रयागराजसँगै हरिद्वार, उज्जैन र नासिकमा कुम्भ मेला आयोजना हुने गरेको छ । तर, प्रयागराजको मेला सबैभन्दा ठूलो मानिन्छ ।
कुम्भ मेला प्रत्येक १२ वर्षमा एक पटक आयोजना हुने भए पनि यस पटकको भने १४४ वर्षमा परेको जानकार बताउँछन् ।
हिन्दु सन्त महन्त रविन्द्र पुरीले यो पटकको मेला ‘विशेष’ भएकाले यसलाई ‘महाकुम्भ’को संज्ञा दिए । १२ ओटा कुम्भ पर्व वा १४४ वर्षअघि र यो कुम्भको ग्रह र नक्षत्र समान अवस्थामा रहेकाले यसलाई ‘महाकुम्भ’ भनिने उनको भनाइ छ ।
डेढ महीना (४५ दिन)सम्म चल्ने मेलाको समापन महाशिवरात्रिको दिन (फागुन १४ गते) हुनेछ । मेलामा ४० करोड श्रद्धालु आउने दाबी गरिएको छ । यही कारण यो मेला विश्वकै सबैभन्दा ठूलो रहेको दाबी गरिएको छ ।
मेलामा कति ?
- फैलिएको क्षेत्रफल : ४ हजार हेक्टर
- पाल : १ लाख ६० हजार
- प्रहरी र सुरक्षा अधिकारी : ४० हजार
- सरसफाईकर्मी : १५ हजार
- पार्किङ स्थल : ९९ ओटा
- पार्किङ क्षमता : ५ लाखभन्दा बढी
- नदीमाथि तैरिरहेका पेन्टुन पुलहरू : ३० ओटा
- सडक बत्ती : ६७ हजार
- शैचालय : १ लाख ५० हजार
- वटर एटीएम : २०
- ट्युबवेल : ८५
भारत सरकारले मेला आयोजनाका लागि ७० अर्ब भारतीय रुपैयाँ खर्च गर्ने बताइएको छ । मेला आयोजनाबाट उत्तर प्रदेश सरकारले साढे २ खर्ब भारु आम्दानी गर्ने बताइएको छ ।
सरकारले मेलामा आउने श्रद्धालुको सुविधाका लागि विभिन्न व्यवस्था गरिएको दाबी गरिरहँदा केही श्रद्धालुले भने सुविधा नपाएको गुनासो गरेका छन् ।
६० वर्षीय भिक्षु बाबा अमरनाथजीले यसअघि प्रशासनले बनाएको टेन्टमा सित्तैमा सुत्न पाउने व्यवस्था भए पनि अहिले त्यस्तो सुविधा नरहेको बताए । बीबीसी