वासिंटन डीसी (अमेरिका) । अमेरिकामा बेघर हुनेको संख्याले नयाँ रेकर्ड बनाएको छ । अमेरिकी गृह तथा शहरी विकास विभागका अनुसार त्यहाँ ७ लाख ७० हजारभन्दा बढी मानिस आश्रयस्थलविहीन छन् । यो तथ्यांक सन् २०२४ जनवरीको एक रातमा गरिएको सर्वेक्षणबाट निकालिएको विभागले गत शुक्रवार बताएको छ ।
अमेरिकामा आश्रयस्थलविहीन हुनेको संख्या यो वर्ष १८ प्रतिशतले बढेको हो । गत वर्ष भने यो संख्या १२ प्रतिशतले बढेको थियो । यो वर्ष बेघर हुनेको संख्या सन् २००७ मा यस्तो जनसंख्या गणना गर्न थालेयताकै सबैभन्दा बढी हो । यो तथ्यांक झन्डै एक वर्ष पुरानो भएको र यो अवधिमा भाडादर र अमेरिकाको सीमा स्थितिमा परिवर्तन आएको अधिकारीहरूले बताएका छन् ।
उच्च आवास लागत, प्राकृतिक प्रकोपहरू र ठूला शहरहरूतर्फ आप्रवासनको वृद्धिले बेघरहरू बढ्न प्रभाव पारेको अधिकारीहरूले बताएका छन् ।
बेघर हुनेमा १८ वर्षभन्दा कम उमेरका बच्चाहरूको सबैभन्दा बढी वृद्धि भएको पाइएको छ । सर्वेक्षण गरिएको उक्त रातमा झन्डै १ लाख ५० हजार जना १८ वर्षभन्दा कम उमेरका बेघर थिए । ६५ वर्ष वा सोभन्दा बढी उमेरका बेघर जनसंख्यामा पनि ६ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
सैनिक/पूर्व सैनिकहरूको बेघर अवस्था भने ८ प्रतिशतले घटेको पाइएको छ भने केही शहरहरूले बेघरलाई सडकबाट हटाउन सफल हुँदा यो संख्यामा सुधार भएको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।
देशकै उच्च आवास लागत भएको लस एन्जलस बेघरहरूको जनसंख्या ५ प्रतिशतले घटेको पाइएको छ । यो संख्या पछिल्लो सात वर्षमा पहिलोपटक घटेको बताइएको छ ।
केही स्थानीय अधिकारीहरूले भने शरणार्थीहरूको वृद्धिले बेघर हुनेको तथ्यांक बढेको बताएका छन् ।
हालका वर्षहरूमा अमेरिका प्रवेशका लागि प्रयास गर्नेको संख्या रेकर्ड कायम छ । सन् २०२२ को अन्त्यतिर टेक्सास र फ्लोरिडाका रिपब्लिकन गभर्नरहरूले न्यूयोर्क, शिकागो र डेन्भरजस्ता डेमोक्र्याट-नियन्त्रित शहरहरूमा हजारौं आप्रवासीहरू पठाएका थिए, जहाँ धेरैलाई अस्थायी आश्रयमा राखिएको थियो ।
रिपोर्टले जनवरीमा बेघर गणनापछि अमेरिकी सीमामा गैरकानुनी प्रवेश ६०% भन्दा बढीले घटेको र सीमामा भेटघाट सन् २०२० जुलाईयता सबैभन्दा कम रहेको बताइएको छ । धेरै प्रमुख शहरका अधिकारीहरूले आप्रवासी आश्रयहरू बन्द गर्न थालेका छन् । एजेन्सी