संयुक्त राज्य अमेरिकासँग नेपालको द्विपक्षीय व्यापार सम्बन्ध प्रायः नेपालको पक्षमा रहँदै आएको छ । आर्थिक वर्ष (आव) २००९/१०, आव २०१४/१५, आव २०१७/१८, आव २०१८/१९, आव २०१९/२०, आव २०२०/२१, आव २०२१/२२, आव २०२३/२०२४ गरी आठ आर्थिक वर्षबाहेक विगत २४ वर्षमा नेपालको संयुक्त राज्य अमेरिकासँग व्यापार सन्तुलन नेपालको पक्षमा रहँदै आएको छ । पछिल्ला आवहरूमा भने कोभिडका कारण व्यापारघाटामा ठूलो खाडल देखिएका तापनि पछिल्ला समयमा यसमा सुधार आएको छ ।
नेपाल र संयुक्त राज्य अमेरिकाको व्यापारको विशेषता
नेपालले संयुक्त राज्य अमेरिकाबाट गर्ने आयातमा भटमास, कोइला, पीना, सफ्टवेयर, हवाई उपकरण, धागो, बदाम, सुगन्धित मिश्रण, कागजको पल्प, सर्भर नेटवर्क, ल्याब रिएजेन्ट, ब्याट्रीको पत्रु, चिकित्सा सामग्री, रंगरोगन र चामल प्रमुख रूपमा रहेका छन् ।
नेपालको संयुक्त राज्य अमेरिकातर्फको निर्यात व्यापारमा मूल्ययोग अधिक भएका, ठूलो मात्रामा रोजगारी सृजना गर्ने र प्रतिस्पर्धी क्षमता बढी भएका वस्तुहरूको बाहुल्य रहेको छ । यसरी संयुक्त राज्य अमेरिकामा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा ऊनी कार्पेट, कुकुर वा बिरालोको खाना, रेडिमेड कपडाहरू, फेल्ट, पश्मिना शल, शिसाका उत्पादनहरू, संगीत उपकरणहरू, खाना तयारी, हस्तनिर्मित कागज, क्रिसमस उत्सवका सामग्री गिलासका मूर्ति र सजावटी वस्तु पास्ता, कम्बल झोला चाँदीका गहना, बोरा र झोला काठको मार्केट्री, सार तेल पीठो, माल्ट बियर, अचार, चिया, चित्रकला, सुनको गहना, रुद्राक्षको बीउ, यार्चागुम्बा, अगरबत्तीजस्ता वस्तुहरू प्रमुख रूपमा रहेका छन् ।
नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्राप्त सुविधाहरू
संयुक्त राज्य अमेरिकाले नेपालका अधिकांश वस्तुहरूलाई अल्प विकसित मुलुक, भूपरिवेष्टित मुलुक आदि आधारहरूमा शून्य भन्सार सुविधाहरू प्रदान गर्दै आएको छ । यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले शून्य भन्सार दर लागू गरेका अन्य वस्तुहरूमा पनि नेपालले संयुक्त राज्य अमेरिकाबाट शून्य भन्सार वा न्यूनतम भन्सारको सुविधा पाइरहेको छ ।
यसका अतिरिक्त एचएसकोडको १० अंकमा १३५ ओटा वस्तु तथा एसएसकोडको आठ अंकमा ७७ ओटा वस्तुलाई संयुक्त राज्य अमेरिकाले शून्य भन्सार सुविधा प्रदान गर्दै आएको छ । यसरी सुविधा प्राप्त वस्तुहरूमा ब्यागेज, लगेज आदि, कार्पेट, पश्मिना, ब्ल्यांकेट तथा शिरपोश लगायतका वस्तुहरू रहेका छन् ।
रेसिप्रोकेट अमेरिकी भन्सार नीति र नेपालको निर्यात
उपर्युक्त वस्तुस्थितिका माझ नयाँ अमेरिकी प्रशासनको वाणिज्य नीतिका कारण नेपालको संयुक्त राज्य अमेरिकातर्फको निर्यात कुन दिशामा जाने हो भन्ने विषयमा सर्वत्र चिन्ता र चासो उत्पन्न भएको छ । यस सन्दर्भमा चिन्ता दुईओटा कोणबाट उत्पन्न भएको छ । पहिलो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रेसिप्रोकल भन्सार दर लगाउने घोषणाले केही अनिश्चितताहरू उत्पन्न भएका छन् ।
नेपालले समान वस्तुहरूमा लगाउने भन्सार दरहरू उच्च रहेको सन्दर्भमा सोही दरमा संयुक्त राज्य अमेरिकामा नेपाली वस्तुहरूमा भन्सार दरहरू लागू भएको खण्डमा नेपालको संयुक्त राज्य अमेरिकातर्फको निर्यात प्रभावित हुने देखिन्छ । उदाहरणका लागि संयुक्त राज्य अमेरिकाले नेपाली ऊनी गलैंचामा शून्य दरको भन्सार दरको सुविधा प्रदान गरेको छ । परन्तु नेपालको ऊनी गलैंचाको भन्सार दर ३० प्रतिशत रहेको छ ।
यदि संयुक्त राज्य अमेरिकाले रेसिप्रोकेट भन्सार दर लागू गर्ने हो भने नेपाली ऊनी गलैंचामा संयुक्त राज्य अमेरिकामा ३० प्रतिशत भन्सार लागू हुने देखिन्छ । भारत र भुटानको भन्सार दरहरूको सूची हेर्दा यो दर क्रमशः २० प्रतिशत र १० प्रतिशतमा रहने देखिन्छ । अर्थात् रेसिप्रोकेट भन्सार दर लागू गरेमा संयुक्त राज्य अमेरिकामा भारत र भुटानबाट निर्यात हुने ऊनी गलैंचामा क्रमशः २० प्रतिशत र १० प्रतिशत भन्सार दर लाग्ने र नेपाली ऊनी गलैंचामा ३० प्रतिशत भन्सार लाग्ने परिस्थिति सृजना भई नेपाली ऊनी गलैंचा अमेरिकी बजारमा कम प्रतिस्पर्धी हुने र बजार गुम्ने खतरा देखिन्छ ।
अमेरिकी बजारका लागि नेपालले लिनुपर्ने बाटो
यस परिस्थितिमा अमेरिकी बजारमा नेपाली उत्पादनहरूले वर्तमान समयमा प्राप्त गरिरहेको भन्सार सुविधा कायम राख्ने हो भने संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुहरूमा पनि सोहीअनुरूपको छूट सुविधा दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा नेपाललाई दुईओटा समस्याहरू तत्काल खडा हुने देखिन्छ । पहिलो, संयुक्त राज्य अमेरिकाको बजार प्राप्त गर्न भन्सार घटाइँदा त्यसले नेपालको समग्र राजस्व असुलीमा ठूलो ह्रास ल्याउने देखिन्छ ।
दोस्रो, नेपाल भारत वाणिज्य सन्धि अनुसार संयुक्त राज्य अमेरिकालाई प्रदान गरिने सुविधाअनुसार भारतबाट हुने आयातलाई पनि नेपालले सुविधा दिनुपर्ने हुन्छ । यस अर्थमा नेपाली उत्पादनहरू भारतीय उत्पादनहरूसँग प्रतिस्पर्धी हुन नसकी स्वदेशमा उत्पादनमा ह्रास आउनुका साथै रोजगारीका अवसरहरू पनि गुम्ने अर्को खतरा उत्पन्न हुन जाने देखिन्छ ।
उपर्युक्त परिस्थितिमाझ संयुक्त राज्य अमेरिकाको बजार पनि नगुम्ने, भारतीय उत्पादनसँग नेपाली उद्योगका उत्पादनहरूलाई प्रतिस्पर्धीसमेत बनाउने र राजस्वमा समेत हानि नहुने खालको वाणिज्य रणनीति नेपालले अपनाउनुपर्ने देखिन्छ । यसका लागि असर न्यूनीकरण गर्ने गरी नेपालले कार्यदल गठन गरी संयुक्त राज्य अमेरिकातर्फ हुने निर्यातमा केकति छूटहरू दिन सकिन्छ भन्ने विषयमा तत्काल कार्यारम्भ गर्न जरुरी देखिन्छ । यी कार्यहरू विशेष गरी संयुक्त राज्य अमेरिकामा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा ऊनी कार्पेट, कुकुर वा बिरालोको खाना, रेडिमेड कपडाहरू, फेल्ट, पश्मिना शल, शिशाका उत्पादनहरू, संगीत उपकरणहरू, खाना तयारी, हस्तनिर्मित कागज, क्रिसमस उत्सवका सामग्रीहरू, गिलासका मूर्तिहरू र सजावटी वस्तुहरू, पास्ता, कम्बलहरू, झोलाहरू, चाँदीका गहना, बोरा र झोलाहरू, काठको मार्केट्री, सार तेलहरू, पीठो, माल्ट बियर, अचार, चिया, चित्रकला, सुनको गहना, रुद्राक्षको बीउ, यार्सागुम्बा, अगरबत्तीलगायत करिव ३०७ ओटा एचएसकोडका राष्ट्रिय भन्सार शीर्षकहरूको सेरोफेरोमा केन्द्रित रही अभ्यासहरू आरम्भ हुन जरुरी छ ।
(लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।)