अर्थमन्त्री वर्षमान पुनले अनौपचारिक क्षेत्रमा कर लगाउन सक्ने धेरै ठाउँ रहेको बताएका छन् । ‘नेपालको ३८ दशमलव ४ प्रतिशत क्षेत्रलाई कर प्रणालीले अझै समेट्न बाँकी छ,’ उनले भने, ‘यसलाई आर्थिक क्षेत्रमा ल्याउन सके ठूलोमात्रामा राजस्व बढ्न सक्छ ।’ आन्तरिक राजस्व विभागले बैङ्क, वित्तीय संस्था तथा संयुक्त पूँजी लगानीका बहुराष्ट्रिय कम्पनीका वित्त विभाग प्रमुख एवम् प्रमुख कार्यकारी अधिकृतसँग करका विविध विषयमा छलफल गर्न बिहीवार आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सो कुरा बताएका हुन् ।
करदातालाई सम्मान एवम् प्रोत्साहन गर्ने सरकारी नीति रहेको दोहोर्याउँदै उनले चालू आवलाई कर प्रणाली सुधारको वर्षका रूपमा मनाउन लागेको पनि जानकारी दिए । ‘व्यवसायलाई धरापमा नपारी काम गर्ने सरकारको नीति छ,’ उनले भने, ‘स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न त्यो जरुरी छ ।’ चाँडोभन्दा चाँडो राजनीतिक समझदारी कायम गरेर पूर्ण आकारको बजेट ल्याउन आफ्नो दल लागिपरेको उल्लेख गर्दै मन्त्री पुनले शीघ्र सहमति हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा अर्थसचिव कृष्णहरि बास्कोटाले अर्थतन्त्रका समग्र परिसूचक सन्तोषजनक रहे पनि नकारात्मक टिप्पणी आएकोमा उनले असन्तुष्टि प्रकट गरेका थिए ।
वर्ष ७, अंक ३३५, शुक्रवार १ भदौ, २०६९