काठमाडौस्थित । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । हाल दैनिक २१ घण्टा विमानस्थलबाट उडान भइरहेकोमा त्यसपछि झन्डै ५ महीना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ जसले गर्दा नेपालमा हुने अन्तरराष्ट्रिय उडान ठूलो परिमाणमा कटौती हुनेछ । नेपालमा पर्यटन व्यवसायको ग्राम चलिरहेकै बेला यस्तो उडान कटौती हुँदा पर्यटन क्षेत्रमै नकारात्मक असर पर्ने देखिन्छ । त्यसमा पनि भैरहवा र पोखरामा अन्तरराष्ट्रिय उडानका लागि राम्रो विकल्प हुँदा र सरकारले विभिन्न सहुलियत दिँदा पनि वायुसेवा कम्पनीहरूले त्यहाँबाट उडान गर्न मानिरहेका छैनन् । यसले नेपालको नागरिक उड्डयन क्षेत्रको व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ । सन् २०२४ को गर्मीयामको उडान तालिकाअनुसार विभिन्न ३० ओटा अन्तरराष्ट्रिय विमान कम्पनीले कुल ४१० ओटा उडानका लागि स्वीकृति पाएका थिए। यो संख्यामा कटौती भएर हिउँदयाममा २८७ मा झरेको छ । यसले पार्ने प्रभाव बहुपक्षीय देखिन्छ ।
पहिलो, उडान कटौतीले अन्तरराष्ट्रिय हवाई भाडा महँगिन थालिसकेको छ । यद्यपि नेपाल आउने विदेशीले सधैं नै अन्य गन्तव्यको दाँजोमा बढी भाडा तिर्नुपरिरहेको छ । उडान कम हुनुको अर्थ नै हवाई भाडा बढ्नु हो । हवाई भाडा बढेपछि पर्यटकले नेपाल आउने कार्यक्रम स्थगित गर्न सक्छन्। दोस्रो, पर्यटनको मुख्य याममै स्तरोन्नतिको काम गरी रात्रि उडान रोक्न पर्यटक संख्या घटने सम्भावना उच्च रहन्छ । झन्डै आधा उडान कटौती हुनु भनेको आकाशमार्गबाट आउने पर्यटकको संख्या घट्नु हो । त्यस्तै यस्ता पर्यटक तुलनात्मक रूपमा बढी खर्चालु हुने मानिन्छ । त्यसो हुँदा संख्यामात्र होइन, पर्यटकबाट पाइने आम्दानी त्योभन्दा बढी घट्ने सम्भावना देखिन्छ।
तेस्रो, उडान कटौती हुनेमा स्वदेशी वायुसेवा कम्पनीको संख्या बढी छ । सरकारी नेपाल वायुसेवा निगम र निजी हिमालयन एयरलाइन्सको उडान कटौती हुँदा यी कम्पनीको व्यवसायमा सीधै असर पर्छ । निगमको उडान कम भयो भने उसले विमान खरीद गर्दा लिएको ऋणको साँवाब्याज भुक्तानीमा असर पर्छ । अन्य कम्पनीको भाडाभन्दा निगमको भाडा केही सस्तो भएकाले विदेशी कम्पनीलाई भाडा कम गर्न बाध्य पार्छ। उदाहरणका लागि भारतको दिल्ली उडानलाई नै लिन सकिन्छ । निगमको उडान नहुनासाथ भारतीय वायसेवा कम्पनीहरूले दोब्बरभन्दा बढीसम्म भाडा लिएको पाइन्छ उडान कटौतीको प्रत्यक्ष मार आफ्नै देशका कम्पनी पर्ने भएकाले स्तरोन्नति कम असर पर्ने गरी गर्नुपर्ने हुन्छ ।
चौथो, नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा र पोखरा विमास्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई विभिन्न सहुलियत दिँदा पनि उनीहरू त्यहाँ जान नचाहनुले यी विमानस्थलको भविष्यमा ठूलो प्रश्न उठाएको छ। वार्षिक २० लाख यात्रुलाई सेवा दिने क्षमताको गौतमबुद्ध र वार्षिक १० लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको पोखरा अन्तरराष्ट्रिय विमानस्थल विकल्पमा नभएको होइन। भैरहवा र पोखराबाट उडान गराउन प्राधिकरणले २ वर्षको प्याकेज ल्याएको थियो । त्यसमा वर्षसम्म ल्यान्डिङ, पार्किङ शुल्क नलाग्ने, हवाई इन्धनमा प्रतिकिलोलिटर १०० रुपैयाँ छूट, भ्याटमा छुट, कनेक्टिड फ्लाइटको सुविधा आदि छन् । यी सबै गर्दा कम्पनीहरूलाई उल्टो बढी फाइदा हुने देखिन्छ । तर, एकातिर फाइदा नै हुने सम्भावना र अकांतिर नियामक प्राधिकरणले सहयोगको याचना गर्दा पनि कम्पनीहरू त्यहाँ जान अनिच्छुक हुनुको अर्थ सरकारी नीतिप्रतिको अविश्वास हो कि भन्ने देखिन्छ । नयाँ विमानस्थल जान विभिन्न व्यवसाय गर्ने कम्पनीले नाफाको व्यापार छाड्नुपर्ने कारण देखिँदैन । व्यावसायिक रूपमा यी क्षेत्रमा उडान हुन सक्दैन भन्ने ती कम्पनीको ठम्याइ हो भने प्राविधिक वा व्यावसायिक रूपमा त्यहाँ उडान भर्न समस्या छ भनेर बुझ्नुपर्ने हुन्छ र यसले यी विमानस्थलको भविष्य सुखद छैन भन्ने संकेत गर्छ । विदेशी मात्र स्वदेशी एयरलाइन्सहरूले पनि ती दुई नयाँ अन्तरराष्ट्रिय प्रयोग गर्न इच्छुक नहुनुले सरकारले एयरलाइन्सका जान नमान्नुको कारणलाई गम्भीर भएर सम्बोधन गर्नु जरुरी देखिन्छ । त्यसैले प्राधिकरणले यो समस्याको बहुपक्षीय आयामको विश्लेषण गर्नुपर्छ । त्रिभुवन विमानस्थल विस्तार र स्तरोन्नति गरिनुपर्छ तर उडान संख्या प्रभावित नपार्न अन्य केही विकल्प पक्कै होलान् । त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।