वित्तीय साक्षरता भनेको वित्तसँग सम्बद्ध विषयवस्तुको ज्ञान, मुद्राको उपयोग तथा अत्युत्तम परिचालन र अपेक्षित प्रतिफल प्राप्तिका लागि प्रदान गरिने वित्त शिक्षा हो । वित्त परिचालनमा सकारात्मक धारणा विकास गरी वित्तीय लक्ष्य प्राप्तिमा वित्तीय साक्षरताको महत्त्वपूर्ण योगदान रहेको हुन्छ । वित्तीय साक्षरताले वित्तीय व्यवस्थापन, बजेट र लगानीलगायत विभिन्न वित्तीय शीप बुझ्न र प्रभावकारी रूपमा प्रयोग गर्ने क्षमता विकास गर्छ भने विभिन्न महत्त्वपूर्ण वित्तीय शीप र अवधारणाहरूको अवलम्बनबाट वित्तीय जोखिम कम गर्न सघाउ पुर्याउँछ । वित्तीय साक्षरताले वित्तीय पहुँच र वित्तीय सूचनाको प्रयोगका माध्यमबाट वित्तीय समावेशिता बढाई अर्थतन्त्रलाई नै समावेशी बनाउँछ । वित्तीय साक्षरताका मुख्य ३ आयामहरू वित्तीय ज्ञान, वित्तीय कौशल र वित्तीय व्यवहार हुन । वित्तीय ज्ञानले सूचना, चेतना र पैसाका मामिलाहरूको बुझाइलाई जनाउँछ । यसले व्यक्तिगत आय, बचत, खर्च, लगानी र प्रतिफलका सम्बन्धमा जानकारी गराउँछ भने वित्तीय ज्ञानलाई वित्तीय साक्षरताको अभिन्न अङ्गका रूपमा लिइन्छ । वित्तीय कौशल भनेको वित्तीय ज्ञानलाई अभ्यासमा रूपान्तरण गर्ने कला हो । यसलाई व्यक्तिगत र पारिवारिक वित्तीय योजना बनाउने र व्यक्तिगत वित्तीय जोखिमहरू व्यवस्थापन गर्ने क्षमताका रूपमा पनि लिइन्छ । यो कौशल व्यक्तिगत कल्याणलाई अधिकतम बनाउन व्यक्तिगत आय र खर्चको ज्ञान र व्यवस्थापनसँग सम्बद्ध छ । वित्तीय कौशललाई पनि वित्तीय साक्षरताको अभिन्न अङ्गका रूपमा लिइन्छ । वित्तीय व्यवहार भनेको वित्तीय ज्ञान र कौशल लागू गर्न आवश्यक समय र अन्य स्रोतहरू व्यवस्थापन गरी दैनिक व्यवहारमा अवलम्वन गर्ने इच्छा वा तयारी हो । यसले अनुभूत वित्तीय ज्ञान र शीपको मूल्याङ्कन गर्न मद्दत गर्दछ । वित्तीय ज्ञान र कौशलले सकारात्मक वित्तीय मनोवृत्ति विकास गर्न योगदान पुर्याउँछ ।
वित्तीय साक्षरताको इतिहास
सन् १९८० को दशकमा विश्व आर्थिक उदारीकरणको उदयसँगै बैंकिङ क्षेत्रको विकास, मुद्रा प्रचलनमा ह्रास भई क्रेडिट कार्ड, डेविड कार्ड तथा डिजिटल करेन्सीको प्रयोगमा बिस्तार, बित्तीय तथा मौद्रिक जोखिममा वृद्धिलगायत विविध कारणबाट वित्तीय साक्षरताको आवश्यकता महसूस गरिएको थियो । वित्तीय साक्षरतालाई विभिन्न माध्यमबाट अवलम्बन गरिएको भए तापनि कानूनी रूपमा यसको प्रयोग सन् २००३ मा अमेरिकाबाट भएको पाइन्छ । अमेरिकाको फेयर एन्ड एकुरेट क्रेडिट ट्रान्ज्याक्सन ऐन २००३ मा वित्तीय साक्षरताको परिभाषा गर्दै त्यससम्बन्धी कार्य सञ्चालन गर्न वित्तीय साक्षरता एजुकेशन कमिशन २००३ गठन गरेपछि यसको महत्त्व र आवश्यकता अझ बढेर गएको पाइन्छ ।
एक्काइसौं शताब्दीको शुरुआतसँगै वित्तीय क्षेत्रमा भएका सुधार कार्यक्रमसँगै वित्तीय साक्षरता अभिवृद्धि गर्न सूचनाप्रविधिमा आधारित सुधार अभियानहरू सञ्चालन गरेको पाइन्छ । विश्व बैंकको अनुसन्धान तथा विकास समूह र जर्ज वाशिङटन विश्वविद्यालयको संयुक्त सर्वेक्षण समूहबाट सन् २०२२ मा वित्तीय साक्षरतासम्बन्धी सर्वेक्षण गरी प्रतिवेदन जारी गरेको छ । उक्त प्रतिवेदनअनुसार सबभन्दा कम प्रतिशत प्राप्त गर्ने पाँच देश यमन रिपब्लिकनले १३ प्रतिशत, अफगानिस्तान, अल्वानियाले १४ प्रतिशत, अंगोला र सोमालियाको १५ प्रतिशत रहेका छन् भने सबभन्दा बढी प्रतिशत प्राप्त गर्ने देशहरूमा नर्वे, डेनमार्क स्वीडेनले समान ७१ प्रतिशत, इजरायलले ६८ प्रतिशत, वेलायतले ६७ प्रतिशत प्राप्त गरेका छन् । नेपालले १८ प्रतिशत प्राप्त गरेको छ । वित्तीय साक्षरता सम्बन्धमा सन् २०२३ मा ओईसीडी मुलुकमा गरिएको वयस्क सर्वेक्षणबाट सर्वेक्षणमा सहभागी ओईसीडीका ६७ देशहरूको औसत वित्तीय साक्षरता प्रतिशत ६१ रहेको पाइन्छ भने वित्तीय ज्ञान अंक ६३ प्रतिशत, वित्तीय व्यवहार अंक ६१ प्रतिशत, वित्तीय मनोवृत्ति अंक ५६ प्रतिशत रहेको पाइन्छ । वल्र्ड इकोनोमी फोरमले सन् २०२४ जुलाईमा फ्युचर क्यापिटल मार्केटसम्बन्धी प्रतिवेदनमा वित्तीय साक्षरतासम्बन्धी विषयहरू वेल्थ म्यानेजमेन्ट, ट्रस्ट एन्ड एक्सेस, इनोभेटिङ अन फाइनान्सियल एजुुकेशन, बिल्डिङ अ रेसपोन्सिबल इकोसिस्टम, डिजिटाजेशन एन्ड डेमोक्राइटाइजेशन आदि विषयमा सम्भावित जोखिम र अपनाउनुपर्ने सावधानीसम्बन्धी विषयहरू समावेश गरिएको छ । यसबाट पनि विश्व जगतमा वित्तीय साक्षरताले महत्त्व पाएको देखिन्छ ।
किन आवश्यक छ वित्तीय साक्षरता
वित्तीय साक्षरताले वित्त परिचालनमा उपयुक्त निर्णय लिन सघाउ पुर्याउँछ, व्यापक वित्तीय दुर्घटना हुनबाट बचाउँछ, आकस्मिक रूपमा वित्त परिचालनका उपयुक्त माध्यमहरूका बारेमा जानकारी गराउँछ, वित्त परिचालनबाट व्यक्तिगत तथा संस्थागत लक्ष्य, उद्देश्य पूरा गर्न सहयोग पुर्याउँछ, वित्त परिचालनमा आत्मबल बढाउन मद्दत गर्छ । नेपाल राष्ट्र बैंकले सन् २०२२ मा वित्तीय साक्षरतासम्बन्धी पे्रmमवर्क स्वीकृत गरी लागू गरेको छ । उक्त फ्रेमवर्कमा मुख्यत: वित्तीय ज्ञान, वित्तीय शीप, वित्तीय व्यवहारका विषयहरू समावेश गरिएको छ । वित्तीय ज्ञानअन्तर्गत वित्तसँग सम्बद्ध विषयवस्तुहरू आय, खर्च, बचत, ऋण, सापटी, लगानी, प्रतिफललगायत वित्तीय चरहरूको परिचालन सम्बन्धमा आवश्यक सूचना प्राप्त गर्ने, वित्त परिचालन सचेतना अभिवृद्धि गर्ने तथा मुद्राको अत्युत्तम सदुपयोग गर्ने कार्यहरू पर्छन् । वित्तीय शीप भनेको वित्तीय ज्ञानलाई व्यावहारिक उपयोगमा ल्याउने कला हो । यसअन्तर्गत वित्तीय योजना तर्जुमा गर्ने, वित्तीय जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने तथा अधिकतम वित्तीय उपलब्धि प्राप्त गर्ने कार्यहरू पर्छन् ।
वित्तीय साक्षरताले वित्त परिचालनमा उपयुक्त निर्णय लिन सघाउ पुर्याउँछ, वित्तीय दुर्घटना हुनबाट बचाउँछ, आकस्मिक रूपमा वित्त परिचालनका उपयुक्त माध्यमहरूका बारेमा जानकारी गराउँछ, वित्त परिचालनबाट व्यक्तिगत तथा संस्थागत लक्ष्य, उद्देश्य पूरा गर्न सहयोग गर्छ ।
वित्तीय व्यवहार भनेको वित्तसँग सम्बद्ध ज्ञान, शीप तथा धारणाहरूलाई दैनिक वित्तीय व्यवहारमा अवलम्बन गर्ने कला हो जसबाट वित्त सञ्चालनमा सकारात्मक प्रभाव प्रतिविम्बन हुन्छ । यसमा मुख्यत: मुद्राको उपयोग, आय र खर्च व्यवस्थापन, भुक्तानी प्रणाली अवलम्बन तथा मुद्रा उपयोगका निर्णयसम्बन्धी कार्यहरू पर्छन् । वित्तीय साक्षरताको दूरदृष्टि समृद्ध नेपालका लागि नागरिकको वित्तीय सचेतना तथा क्षमता विकास गर्नु हो भने गन्तव्य विवेकशील वित्तीय निर्णयका लागि वित्तीय उत्पादन तथा सेवामा पहुँच बढाउन सहयोग गर्नु हो । वित्तीय साक्षरताको लक्ष्य औपचारिक प्रणालीमार्फत वित्तीय कारोबारहरू सञ्चालन गर्ने तथा वित्तीय ज्ञानलाई व्यावहारिकतामा परिणत गर्ने शीपको विकास गर्ने हो भने यसका उद्देश्यहरू वित्तीय उत्पादन तथा सेवामा सचेतना बढाउने, वित्तीय कारोबारहरू बैंकिङ प्रणालीमार्फत सञ्चालन गर्न उत्प्रेरित गर्ने, वित्तीय उपभोक्ताको अधिकार तथा जिम्मेवारी स्पष्ट गर्ने, डिजिटल कारोबारमा पहुँच बढाउने, वित्तीय जोखिम न्यूनिकरण गर्ने, वित्तीय शिक्षा प्रदान गर्ने, वित्तीय कारोबारका लक्षित उपभोक्ता वा सरोकारवालाहरूसँग समन्वय गर्ने तथा वित्तीय कारोबारमा सकारात्मक धारणा विकास गर्ने आदि रहेका छन् ।
वित्तीय साक्षरताका मान्यता के के हुन् ?
वित्तीय साक्षरताका सिद्धान्तहरू आय, खर्च, बचत, ऋण तथा सापटी, मुद्रा परिचालनसँग सम्बद्ध छन् । वित्तीय साक्षरताका रणनीतिहरू आय तथा व्ययको बजेट तर्जुमा, बजेट अनुसार खर्च व्यवस्थापन, आय तथा खर्चको अभिलेखाङ्कन, ऋण तथा सापटी व्यवस्थापन, बचत प्रोत्साहन, प्रतिफलयुक्त लगानी, सुरक्षित भविष्यका लागि दिगो मौद्रिक व्यवस्थापन आदि रहेका छन् । वित्तीय साक्षरताका मुख्य विषयहरू बुद्धिमत्तापूर्वक वित्तीय कारोबार सञ्चालन गर्न सहयोग गर्ने, वित्तीय जोखिमहरू न्यूनीकरण गर्न उपयुक्त रणनीति अवलम्बन गर्ने र असल वित्तीय व्यवस्थापन गर्ने रहेकाले यसका क्षेत्रहरू पनि यिनै विषयसँग सम्बद्ध रहेका छन् । मुख्यत: वित्तीय साक्षरताको क्षेत्र बजेट, आय तथा व्यय, व्यापार, ऋण तथा सापटी, लगानी, कर, वित्तीय रणनीति तथा वित्तीय जोखिम न्यूनीकरण आदि हुन् । वित्तीय साक्षरताका माध्यमहरूमा वित्तीय साक्षरता ज्ञानको सिकाइ, व्यावहारिकतामा प्रयोग, बजेटिङ अवधारणाको अभ्यास, ऋण तथा सापटी व्यवस्थापन, लगानी व्यवस्थापन, आय तथा खर्चका स्रोतको जानकारी, प्राप्ति तथा भुक्तानी कार्यतालिका, मुद्राको बचत तथा अधिकतम परिचालन, मुद्राको साख नियन्त्रण, भविष्यका लागि लगानी वातावरण सृजना आदि हुन् । उक्त माध्यमहरूबाट वित्तीय साक्षरता प्राप्त गर्न लक्षितसमूह पहिचान, वित्तीय साक्षरताका विभिन्न तहहरू वर्गीकरण, डिजिटल वित्तीय साक्षरता मोडुअल तयार गर्ने, तालीम प्रदान गर्ने, सुरक्षित वित्तीय कारोबार उत्प्रेरित गर्ने, वित्तीय उपभोक्ताको संरक्षण गर्नेलगायत कार्यबाट वित्तीय साक्षरता अभिवृद्धि गर्न सकिन्छ । वित्तीय शिक्षा लक्षित समूह वर्गसम्म पुर्याउन भौतिक रूपमा सञ्चार गर्ने, परामर्श उपलब्ध गराउने, पुस्तक, पम्पलेट, ब्रोसियर प्रकाशन गर्ने, अडियो भिडियो तयार गरी मास मिडिया प्रयोग गर्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने, वेबसाइटमा जानकारी उपलब्ध गराउने, मोबाइल एप्लिकेशन बनाउने, मोबाइल लाइब्रेरी बनाउने, डिजिटल बोर्डबाट जानकारी उपलब्ध गराउने, तालीम म्यानुअल तयार गर्ने, अध्ययन भ्रमण गराउने, सडक नाटक प्रदर्शन गर्नेलगायत कार्य गर्न सकिने व्यवस्था छ । वित्तीय साक्षरता फ्रेमवर्कले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र अन्य संघ संस्थाको जिम्मेवारी र जवाफदेहिता स्पष्ट गरेको छ । उक्त जिम्मेवारी पूरा गरे नगरेको सम्बन्धमा सूक्ष्म र व्यापक तहमा अनुगमन गर्ने, मूल्यांकन गर्ने र पृष्ठपोषण लिने सम्बन्धमा स्पष्ट गरेको छ ।
वित्तीय साक्षरतामा नेपालको सफलता
नेपाल राष्ट्र बैंकले पहिलोचोटि सन् २०२२ मा वित्तीय साक्षरताको अवस्था र वित्तीय समावेशिताको स्थिति सम्बन्धमा सर्वेक्षण गरी प्राप्त नतिजाको प्रतिवेदन प्रकाशन गरेको थियो । वित्तीय समावेशिताको अवस्था मापन गर्न भुक्तानी उपकरणको प्रयोग, बचत, लगानी वा अवकाश उपकरणको प्रयोग, बीमाको प्रयोग र कर्जाको प्रयोगलाई हेरिएको थियो । सर्वेक्षणबाट नेपालीहरूको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७दशमलव९ प्रतिशत रहेको देखिन्छ । वित्तीय साक्षरताको तीन आयामका रूपमा रहेको वित्तीय ज्ञान ४७ दशमलव ३ प्रतिशत, वित्तीय व्यवहार ६३ दशमलव ५ प्रतिशत र वित्तीय मनोवृत्ति ६४ दशमलव १ प्रतिशत रहेको पाइएको छ । प्रदेशगत रूपमा कोशीमा ५७ प्रतिशत, मधेशमा ५२ प्रतिशत, वागमतीमा ६४ दशमलव ५, गण्डकीमा ६२ दशमलव ४, लुम्बिनीमा ५५ दशमलव ६ कर्णालीमा ५९ दशमलव ७ सुदूरपश्चिममा ५७ दशमलव ९ रहेको देखिन्छ । प्रदेशगत रूपमा वित्तीय साक्षरतामा सबैभन्दा बढी अङ्क वागमती प्रदेशको ६४ दशमलव ५ प्रतिशत पाइएको छ भने मधेश प्रदेशले सबैभन्दा कम ५२ प्रतिशत रहेको छ । पुरुषको वित्तीय साक्षरता अङ्क ६१ दशमलव ८ प्रतिशत पाइएको छ भने महिलाको ५४ दशमलव ३ रहेको छ । उच्च आय वर्गको वित्तीय साक्षरता प्रतिशत ६८ दशमलव ४ रहेको भने न्यून आयवर्गको ५० दशमलव ७ रहेको छ । पुरुषको वित्तीय ज्ञानमा अङ्क ५६ दशमलव ५ प्रतिशत रहेको छ भने महिलाको ३८ दशमलव ६ प्रतिशत रहेको छ । वित्तीय साक्षरता अङ्कमा भिन्नता हुनुको प्रमुख कारक तत्त्व प्रदेशहरू बीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता देखिन्छ । वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अङ्क भने सबै प्रदेशमा लगभग समान रहेको छ । वित्तीय ज्ञानमा लैङ्गिक भिन्नता सबै प्रदेशमा पाइन्छ ।
हालको वित्तीय साक्षरता स्थितिमा सुधार गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूले प्रचारप्रसार तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । वित्तीय साक्षरता प्रवर्द्धनका लागि लक्षित व्यक्ति, समूह, वर्ग वा संस्था पहिचान गरी वित्तीय साक्षरता औजारहरू प्रयोग गर्नुपर्छ ।
वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रदेश, लिङ्ग, स्थानीय निकायको प्रकार, आयस्तर, शैक्षिक स्तर, पेशा र क्षेत्रगतरूपमा रहेको भिन्नतालाई सम्बद्ध सरोकारवालाहरूले सम्बोधन गर्न आवश्यक देखिएको सर्वेक्षणमा उल्लेख छ । सन् २०२२ मा वित्तीय साक्षरता सर्वेक्षणमा वित्तीय समावेशी सूचकहरूको समेत मापन गरिएको थियो । उक्त सर्वेक्षणअनुसार वित्तीय उत्पादनका साधन प्रयोगकर्ता ७३ दशमलव ७८ प्रतिशत, बचत लगानी तथा अवकाशयुक्त साधन प्रयोगकर्ता ८६ दशमलव ६४ प्रतिशत, बीमासम्न्धी साधन प्रयोगकर्ता ३० दशमलव शून्य २ प्रतिशत, वित्तीय साख प्रयोगकर्ता ४६ दशमलव ३४ प्रतिशत, वित्तीय साधन प्रयोगमा सचेतना ६६ दशमलव ९७ प्रतिशत, परिवार र समकक्षीमा विश्वास गर्ने ७१ दशमलव ८२ प्रतिशत रहेको पाइएको छ ।
नेपालको विद्यमान वित्तीय साक्षरता अवस्था सन्तोषजनक छैन । हालको वित्तीय साक्षरता स्थितिमा सुधार गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूले प्रचारप्रसार तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । वित्तीय साक्षरता प्रवर्द्धनका लागि लक्षित व्यक्ति, समूह, वर्ग वा संस्था पहिचान गरी वित्तीय साक्षरता औजारहरू प्रयोग गर्नुपर्छ । वित्तीय साक्षरताका प्रमुख औजारहरू मोबाइल एप्लिकेशन, शीप तथा क्षमता विकास, तालीम तथा प्रशिक्षण, सफ्टवेयर तथा प्रणाली विकास, सहयोग समन्वय तथा सहकार्य आदि हुन् । यिनै औजारहरूको प्रयोगको माध्यमबाट वित्तीय साक्षरता अभिवृद्धि हुने भएकोले उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्ने, वित्तीय ज्ञान प्रवर्द्धनका लागि सकारात्मक हस्तक्षेपको उपाय अवलम्बन गर्नुपर्ने, आय व्यय तथा भुक्तानी प्रणालीमा डिजिटाइजेशनमा प्रोत्साहन गर्ने, वित्तीय उत्पादन र सेवामा सरोकारवालाहरूको पहुँच वृद्धि गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्नेलगायत कार्यक्रम सञ्चालन गर्नु पर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा सरोकारवालाहरूको उपयुक्त वित्तीय निर्णय लिन सक्षम बनाउने, वित्तीय लक्ष्य प्राप्तिमा केन्द्रित गराउने, वित्तीय तनावहरू कम गराउने, वित्तीय सुरक्षा कायम गर्न गराउन सजग गराउने रणनीति अवलम्बन गरी नेपाल वित्तीय साक्षरता फ्रेमवर्कअनुसार लक्ष्य प्राप्तिमा केन्द्रित हुनु आजको आवश्यकता हो ।
लेखक पूर्वउपमहालेखापरीक्षक हुन् ।