बहुमूल्य धातु, रत्न र आभूषण भन्नाले सुन र चाँदी (मुद्रासमेत) हिरा, मोती, मणि, माणिक्य, बहुमूल्य पथ्थर, प्लेटिनम, इरिडिम, ओसनियम, रुथेनियम तथा तिनबाट बनेका गरगहना आदि भन्ने बुझिन्छ । अन्तरराष्ट्रिय व्यापारको प्रयोजनका लागि एचएस वर्गीकरणको भाग ७१ मा परिभाषित वस्तुहरू यस वर्गमा पर्छन् । एचएसको चार अंकीय वर्गीकरणमा यस क्षेत्रमा १८ वर्गका वस्तुहरू पर्छन् ।
अपवादबाहेक माग र आकर्षणमा कमी नहुने वस्तुहरूमा बहुमूल्य धातु, रत्न र आभूषणहरू पनि पर्छन् । सम्पन्नता र असुरक्षा, भय र त्रासमा अत्यधिक माग र आकर्षण रहने यी वस्तु अन्तरराष्ट्रिय आर्थिक व्यवस्थाका व्यवस्थापकीय आधारका रूपमा समेत रहेका छन् । सन् २०२३ मा मात्रै यी वस्तुको विश्व आयात ९५० दशमलव ९८ अर्ब अमेरिकी डलर बराबर रहेको छ । यी वस्तुको महत्त्वलाई दृष्टिगत गर्दै विश्वका विकसित देशहरू र प्रमुख आर्थिक शक्ति राष्ट्रहरूले यी वस्तुहरूमा यथाशक्य न्यून भन्सार दरहरू लागू गरेका छन् । उदाहरणका लागि उपर्युक्त वस्तुहरूका विश्वका प्रमुख १० आयातकर्ता मुलुकमध्ये स्वीट्जरल्यान्ड, सिंगापुर र हङकङ (चीन) ले शून्य भन्सारको व्यवस्था गरेका छन् भने बेलायत र जर्मनीले शून्य दशमलव १ प्रतिशतमात्र भन्सार दरको लागू गरेका छन् । यस्तै गरी उपर्युक्त वस्तुहरूमा टर्कीले शून्य दशमलव ८ प्रतिशत, यूएईले ३ दशलमव ४ प्रतिशत, चीनले ४ दशमलव ४ प्रतिशत र भारतले ९ दशमलव ३० प्रतिशत भन्सार महशुल लगाएको देखिन्छ ।
नेपालमा पनि बहुमूल्य धातु, रत्न र आभूषणको वैदेशिक व्यापारको आयात भने ठूलो मात्रामा हुने गरेको छ । परन्तु त्यसको तुलनामा निर्यात भने नगण्य मात्रामा मात्र हुने गरेको छ । यसको अर्थ यसको आयात नेपालको निर्यात प्रयोजनका लागि अतिकम उपयोग भएको छ । यो आन्तरिक खपत भएको सहजै अनुमान लगाउन सकिन्छ । सामाजिक प्रतिष्ठा र सम्पन्नताको मापनका एक महत्त्वपूर्ण कारकतत्त्वका रूपमा रहेका कारण अन्य महादेशका मुलुकहरूका तुलनामा एशियाली मुलुकहरूमा यसका आमउपभोक्ता रहेको र बहुमूल्य धातु, रत्न र आभूषणहरूको सञ्चय व्यापारिक भन्दा पनि व्यक्तिगत र पारिवारिक रूपमा सञ्चय गर्न खरीद भएको देखिन्छ । नेपालीहरू पनि बहुमूल्य धातु, रत्न र आभूषणको यही प्रकृतिको उपभोक्ता समूहभित्र पर्छन् । तसर्थ नेपाल जहिले पनि यसको महत्त्वपूर्ण बजारका रूपमा रहिआएको छ । विगत १६ वर्षमा यसको आयातमा वार्षिक औसत २४ प्रतिशतको वृद्धि यसैको प्रमाणका रूपमा रहेको छ । नेपालमा भित्रिएको विप्रेषणजन्य सम्पन्नता तथा आडम्बरयुक्त नेपाली उपभोक्ता संस्कृतिका कारण पछिल्ला वर्षहरूमा बहुमूल्य धातु, रत्न र आभूषणको बजार नेपालमा अझ आकर्षक हुने सम्भावना छ ।
नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको व्यापारिक केन्द्रका रूपमा विकास गर्न यिनलाई विलासिताका वस्तुका रूपमा वर्गीकरण गरी त्यसअनुसारको व्यवहार गर्ने परिपाटीमा आमूल परिवर्तन आउन आवश्यक छ ।
नेपालमा बहुमूल्य धातु, रत्न र आभूषणको व्यापारको सम्भावनाको अर्को पक्ष पनि विद्यमान छ । भारत र चीनका उपभोक्ताको संगमस्थलका रूपमा नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकेको खण्डमा यसका लागि नेपाल दक्षिण एशिया र चीनको संगम स्थलमा रूपमा उदाउने देखिन्छ । जसरी आज हङकङ, सिंगापुर, दुबई, चीन र भारत एशियाका बहुमूल्य धातु, रत्न र आभूषणका पञ्चकोणका रूपमा स्थापित भएका छन् त्यसरी नै नेपाल पनि स्थापित हुन सक्छ । उचित नीति, रणनीति र कार्यक्रमहरू लागू गर्न सकेको खण्डमा नेपाल उक्त पञ्चकोणमा एउटा थप कोणका रूपमा विकास भई एशियामा बहुमूल्य धातु, रत्न र आभूषणको षट्कोण बन्न सक्ने सम्भावना देखिएको छ । नेपाललाई हङकङ, सिंगापुर, दुबई, चीन र भारतजस्तै हङकङ, सिंगापुर, दुबई, चीन र भारतको आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्न देहायका विषयमा कार्यारम्भ गरिनु आवश्यक देखिन्छ ।
अवधारणात्मक पक्ष
नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको व्यापारिक केन्द्रका रूपमा विकास गर्न यी वस्तुलाई विलासिताका वस्तुका रूपमा वर्गीकरण गरी त्यसअनुसारको व्यवहार गर्ने पक्षमा आमूल परिवर्तन आउन आवश्यक छ । यी वस्तुको व्यापारिक गतिविधिहरूमा वृद्धि गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने अवधारणा नेपालले अंगीकार गर्नु आवश्यक छ । जसरी भारत, चीन, हङकङ, सिंगापुर र दुबईले बहुमूल्य धातु, रत्न र आभूषणलाई मुलुकको समृद्धिको कारक तत्त्वका रूपमा विकास गर्दै गएका छन् नेपालले पनि त्यही बाटो अपनाउनुपर्छ । यसका लागि नेपाल सरकार, राजनीतिक दलहरू, समाज र सञ्चारजगत्मा आम सहमति हुन आवश्यक छ । बहुमूल्य धातु, रत्न र आभूषणहरू विलासिताका वस्तु होइनन् बरु सम्पन्नता आमन्त्रण गर्ने व्यापारिक प्रयोजनका वस्तुहरू हुन् जसको सही उपयोग गर्न सकेको खण्डमा नेपाल दक्षिण एशियाकै बहुमूल्य धातु, रत्न र आभूषणको व्यापारिक केन्द्र विन्दुका रूपमा विकास हुन सक्छ, देशभित्र उच्च आययुक्त लाखौंलाख रोजगारी सृजना हुन सक्छ भन्नेमा आमसहमति आवश्यक देखिन्छ ।
नीतिगत पक्ष
नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको व्यापारको केन्द्रका रूपमा विकास गर्न यस्तै रणनीति अंगीकार गरेका मुलुकहरूको भन्दा एक तह अघि बढी अझ बढी उदार र व्यवसायमैत्री नीतिहरू अंगीकार गर्नुपर्छ । यस्ता उदार नीतिहरूमा यिनको आयातनिर्यात र आन्तरिक कारोबारको प्रयोजनका लागि करमुक्तिको नीति अंगीकार गरिनु आवश्यक छ ।
नियमन पक्ष
बहुमूल्य धातु, रत्न र आभूषण क्षेत्रलाई करमुक्त र बाधारहित कारोबारको व्यवसायका रूपमा विकास गर्दै जाँदा यी व्यवसायमा अनधिकृत तत्वहरूको प्रवेश नहोस् भन्नका लागि यी वस्तुहरूको आयात निर्यातको पञ्जीकरण, व्यवसायमा पारदर्शिता र गुणस्तर कायम, कारोबारजन्य सुरक्षाको प्रत्याभूति तथा सम्पत्ति निर्मलीकरणको नियन्त्रणलगायत क्षेत्रमा कार्य गर्ने गरी सक्षम, निष्पक्ष र गतिशील नियमनकारी निकायको व्यवस्था हुन पनि त्यत्तिकै जरुरी छ ।
संरचनागत पक्ष
नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको व्यापारिक केन्द्रको रूपमा विकास गर्न निश्चित क्षेत्रलाई व्यावसायिक केन्द्रका रूपमा विकास गर्नुपर्छ । यसप्रकारको व्यावसायिक क्षेत्रका लागि काठमाडौंको न्यूरोड र मंगलबजार क्षेत्र तथा विमानस्थलका विक्रीकक्षहरू यसका सबैभन्दा उपयुक्त स्थानका रूपमा रहेका छन् । यी क्षेत्रहरूमा बहुमूल्य धातु, रत्न र आभूषणसम्बन्धी तालीम केन्द्र, नियामक निकायहरू, एक्सचेन्ज केन्द्र, वित्तीय केन्द्र, भल्ट सुविधा, व्यावसायिक सुरक्षा प्रबन्ध, र सुरक्षा वृत्तजस्ता सुविधाहरू उपलब्ध हुन जरुरी छ । सबैभन्दा महत्त्वपूर्ण विषय यी वस्तुको एक्सचेन्जको व्यवस्था हुन जरुरी छ र यी वस्तुहरूलाई ईटीएफ कारोबारको सुविधाको दायरामा ल्याउन पनि त्यत्तिकै जरुरी छ ।
उत्तर र दक्षिणमा फैलिँदो सम्पन्नता, ठूलो जनसंख्या र नेपालप्रति सरकार र जनस्तरमा रहेको सद्भावका माझ नेपालले उच्च नैतिकता, सुरक्षा र व्यावसायिक तथा पेशागत धर्मको पालनासहित नीतिगत स्थिरताको वातावरण सृजना गर्ने हो भने केही दशकभित्रै नेपाल बहुमूल्य धातु, रत्न र आभूषणको विश्वको व्यावसायिक केन्द्रका रूपमा विकास हुने देखिन्छ ।
समग्र सुरक्षा प्रत्याभूति
बहुमूल्य धातु, रत्न र आभूषणको व्यापारसँग स्थायित्व, सुरक्षा प्रत्याभूतिजस्ता विषय अन्योन्याश्रित रूपमा गाँसिएर आउने विषय हुन् । विश्वका सबै केन्द्रीय बैंकहरूले बैंक अफ इङल्यान्डको भल्टमा सुन राख्नुको कारण उक्त देशको साख र सुरक्षा प्रत्याभूति हो । स्वीस बैंकहरू विश्वमै बचतका लागि पहिलो छनोटमा रहनुमा पनि उक्त देशको साख र सुरक्षा प्रत्याभूति एक मात्र कारणका रूपमा रहेको छ । सिंगापुर र हङकङका बैंकहरू विश्वका केन्द्रीय बैंकका बचतका विश्वपात्र हुनुमा पनि उनीहरूको साख र सुरक्षा प्रत्याभूति प्रमुख कारण हो । साख र सुरक्षा प्रत्याभूतिका लागि आणविक बम र भीमकायी सेना नै चाहिन्छ भन्ने होइन । यसका लागि आवश्यक हुन्छ : नीतिगत स्थायित्व, ती नीतिप्रति आमजनता, नेतृत्व, प्राज्ञिक समुदाय र राज्यका अंगहरूको निष्ठा तथा अन्तरराष्ट्रिय सम्बन्धको व्यवस्थापन गर्ने कूटनीतिक कौशल । स्वीट्जरल्यान्ड यस अभ्यासको सबैभन्दा उल्लेख्य उदाहरणका रूपमा रहेको छ ।
व्यवसायिक र पेशागत धर्म निर्वाह
बहुमूल्य धातु, रत्न र आभूषणको व्यवसाय उच्च नैतिकता, इमानदारी र दक्षताको माग हुने अति संवेदनशील क्षेत्र हो । यी तीनओटा क्षेत्रमा हुने सानो भन्दा त्रुटि, लापरबाही र चलखेलले एउटा व्यवसाय मात्र होइन, सम्पूर्ण देशको व्यवसाय नै संकटमा पर्न जान्छ । तसर्थ नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको वैश्विक केन्द्रका रूपमा विकास गर्ने हो भन्ने यस क्षेत्रमा संलग्न र आबद्ध व्यवसायीहरूले पनि सोहीअनुरूप उच्च नैतिकता, इमानदारी र दक्षताको प्रदर्शन गर्न जरुरी हुन्छ । यसका लागि उक्त व्यवसायमा आबद्ध संघसंगठनले आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ र गलत क्रियाकलापहरूको नियामक निकायहरूलाई तुरुन्त सूचना दिने अभ्यासको पालना गर्नु पनि त्यत्तिकै जरुरी छ ।
राजनीतिक प्रतिबद्धता
नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको केन्द्रका रूपमा विकास गर्न आर्थिक क्षेत्रका सारभूत विषयमा राजनीतिक प्रतिबद्धता हुन जरुरी छ । विश्वकै सबैभन्दा बढी संवदेनशील व्यवसायका रूपमा रहेको यो क्षेत्रले सानोभन्दा सानो राजनीतिक आशंकालाई सहन गर्न सक्दैन । भारतमा गुजरात बहुमूल्य धातु, रत्न र आभूषणको केन्द्रका रूपमा विकास हुुनुमा त्यहाँको समाज र राजनीतिले उक्त व्यवसायलाई प्रदान गरेको सम्मान र सुरक्षा सबैभन्दा महत्त्वपूर्ण कारकतत्त्वका रूपमा रहेको छ । नेपाल पनि उच्चस्तरको राजनीतिक सहमति, प्रतिबद्धता, नैतिकता र आचरणको आवश्यकता पर्छ । कोही अलिकति सम्पन्न हुँदा साथ शोषक, सामन्त, पूँजीवादी, दलाल भन्ने ट्याग लगाउँदै असुरक्षित गर्ने प्रवृत्ति छ । यस्तोमा बहुमूल्य धातु, रत्न र आभूषण व्यवसाय फस्टाउन सक्दैन । त्यसैेले यस्ता प्रवृत्ति प्रवृत्तिहरूमा पूर्ण नियन्त्रण हुुनपर्छ ।
नीतिको निरन्तरता
नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको वैश्विक व्यापारिक केन्द्र बनाउन चाहिने अर्को योग्यतामा नीतिगत निरन्तरता पनि हो । नीतिगत चञ्चलताको अभ्यास आम रहिरहेका बेला नीतिगत निरन्तरताको प्रत्याभूतिविना यस क्षेत्रमा उल्लेख्य लगानी हुन सक्दैन । तसर्थ यसको दीर्घकालीन विकासका लागि कर, सुविधा र प्रक्रियागत पक्षमा स्थिरताको प्रत्याभूति हुन आवश्यक छ । यो नीतिगत स्थिरतामा समाज, प्राज्ञिक वर्ग, राज्यका निकायहरू र राजनीतिक दलहरूले पनि उत्तिकै सम्मान प्रदान गर्नुपर्छ ।
उपर्युक्त व्यवस्थाहरूसहित नेपाललाई बहुमूल्य धातु, रत्न र आभूषणको वैश्विक केन्द्रका रूपमा विकास गर्ने संकल्प गर्ने हो भने नेपाल चाँडै नै विश्वकै केन्द्रका रूपमा उदाउने निश्चित छ । उत्तर र दक्षिणमा फैलिँदो सम्पन्नता, राजनीतिक स्थिरता, नीतिगत निरन्तरता र उच्च स्तरको सुरक्षा, बलियो सैनिक क्षमता, ठूलो जनसंख्या र नेपालप्रति सरकार र जनस्तरमा रहेको सद्भावका माझ नेपालले उच्च नैतिकता, सुरक्षा र व्यावसायिक तथा पेशागत धर्मको पालनासहित नीतिगत स्थिरताको वातावरण सृजना गर्ने हो भने केही दशकभित्रै नेपाल बहुमूल्य धातु, रत्न र आभूषणको विश्वको व्यावसायिक केन्द्रको रूपमा विकास हुने देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।