कम्पनी भन्ने शब्द ल्याटिन भाषाबाट आएको हो । ल्याटिन भाषामा ‘कम्पानियो’ भन्नाले ‘साथी’ वा ‘सहयात्री’ भन्ने बुझाउँछ । ‘कम’ को अर्थ ‘सङ्गै’ र ‘प्यानिस’ को अर्थ ‘रोटी’ भएकाले यसको मौलिक अर्थ ‘सङ्गै रोटी खाने साथीको समूह’ भन्ने थियो । पछि यो शब्द व्यापारिक वा व्यावसायिक रूपमा उपयोग हुन थाल्यो । कम्पनी शब्दको पदवियोग गर्दा ‘कम’ भनेको ‘सँगै, संयुक्त’ र ‘पनि’ भनेको ‘साथी, समूह’ भन्ने बुझाउँछ । त्यसैले, कम्पनी भन्नाले सङ्गठित रूपमा कुनै उद्देश्य पूरा गर्न बनेको समूह वा संस्था जनाउँछ । हाल यसको मुख्य उपयोग व्यापारिक सङ्गठन लागि गरिन्छ । यसबाहेक यस शब्दको उपयोग ‘कसैको सङ्गत वा साथ’ को अर्थमा पनि हुन्छ ।
त्यस्तै, सैनिक क्षेत्रमा एकाइ जनाउन वा साङ्गीतिक तथा नाट्य समूहलाई सङ्केत गर्न पनि कम्पनी शब्द उपयोग गरिन्छ । वर्तमान समयमा कम्पनी व्यावसायिक सङ्गठनको सर्वव्यापी स्वरूप बनेको छ । विश्वव्यापी बनेको कम्पनी अवधारणको शुरुआत बेलायतबाट भएको हो भनेर सम्भवत: संसारभरका विश्वविद्यालयमा अध्ययन/अध्यापन गराइन्छ । कम्पनीको अवधारणा बेलायतबाटै शुरू भएको हो त ? वैदिक काल वा वैदिक ग्रन्थमा यस्ता संगठनको कुनै अस्तित्व थिएन ? थियो भने कस्तो थियो ? यस आलेखमा कम्पनीको उद्भव र विकासबारे चर्चा गरिन्छ ।
नारदस्मृतिमा उल्लेख भएका केही नीति
- संयुक्त रूपमा गरिएको कार्य व्यवहारमा स्वीकार्य हुन्छ । व्यवहारमा स्वीकार्य हुन्छ भन्नुको अर्थ राज्यले मान्यता दिन्छ ।
- जसको अंश (हिस्सा) जति छ, हानि, खर्च र नाफा पनि त्यहीअनुसार हुन्छ ।
- संकटको समयमा जो व्यक्तिले सम्पत्तिको रक्षा गर्छ, उसलाई त्यस्तो सम्पत्तिको १० भागको एक भाग दिनुपर्छ ।
व्यवसायको शास्त्रीय चर्चा
व्यापार/व्यवसाय वैदिककालदेखि नै अस्तित्वमा थियो । पराशरस्मृतिमा ‘...वाणिज्यं वैश्यवृत्तिरुदाहृता’ अर्थात् चातुर्वर्णमध्येको एक वर्ण वैश्यले व्यापार गर्ने गरेर जीवनयापन गर्नुपर्छ भन्ने उल्लेख गरेका छन् । यसले कार्यविभाजन गरेर जीविकोपार्जनलाई सुनिश्चित गराएको देखिन्छ ।
मनुस्मृतिमा :
सम्भूय स्वानि कर्माणि कुर्वद्भिरिह मानवै: ।
अनेन विधियोगेन कर्तव्यांशप्रकल्पना ।।
अर्थात् निर्धारित विधिबाट सँगसँगै मिलेर कर्तव्य पूरा गर्दा प्रत्येकले जिम्मेवारीको अंश निर्धारण गर्नुपर्छ ।
याज्ञवल्क्य स्मृतिमा :
सम्भूय वणिज पण्यमनर्वेणोपरुन्धताम् ।
विक्रीणतां वा विहितो दण्ड उत्तमसाहस: ।।
अर्थात् व्यापारीले मिलेमतोमा कुनै सामान (वस्तु) लुकाउने वा रोक्ने वा त्यसलाई मिलेर बेचेको खण्डमा यस्ता व्यापारीलाई उत्तमसाहस (कठोर) दण्ड दिनुपर्छ भनेका छन् । यसले वैदिककालमा व्यापारलाई नैतिकतासँग जोडेको देखिन्छ । वैदिककालमा स्वदेशी र विदेशी सामान विक्री गर्दा लिन पाउने नाफाको दर निश्चित गरिएको पाइन्छ ।
याज्ञवल्क्य स्मृतिमै–
स्वदेशपण्ये तु शतं वणिग्गृह्णीत पञ्चकम् ।
दशकं पारदेश्ये तु य: सद्य: क्रयविक्रयी ।।
अर्थात् स्वदेशी वस्तु (पण्य) मा पाँच र विदेशी वस्तु क्रयविक्रय गर्दा १० प्रतिशत नाफा लिन पाइन्छ ।
याज्ञवल्क्य स्मृतिमै –
सम्भूयसमुत्थानं नाम विवादपदमिदानीमभिधीयते ।
समवायेन वणिजां लाभार्थ कर्म कुर्वताम् ।
लाभालाभौ यथाद्रव्यं यथा वा संविदा कृतौ ।
अर्थात् व्यक्तिहरू समान उद्देश्य लिई एकजुट भएर उन्नतिका लागि कार्य (व्यवसाय) गर्छन्, यसरी कार्य गर्दा त्यहाँ विवाद पनि आउन सक्छ । लाभ प्राप्त गर्नका लागि सहकार्य गर्छन् । व्यवसायमा लाभ र हानि उनीहरूको लगानी वा सम्झौतामा आधारित हुन्छ । यस अनुच्छेदमा उल्लेख भएका ‘सम्भूयसमुत्थान’ शब्द अहिलेको कम्पनीजस्तै थियो । नारदस्मृतिको एउटा सिङ्गो अध्यायमा चर्चा गरिएको ‘सम्भूयसमुत्थान’ मा के के छ, त्यसका बारेमा यसपछिका अनुच्छेदमा क्रमश: चर्चा गरिन्छ ।
कम्पनीका आधारभूत पक्ष
देवर्षि नारदकृत नारदस्मृतिको चौथो अध्यायमा ‘सम्भूयसमुत्थान, भन्ने प्रकरण छ । यस प्रकरणमा वर्तमान समयमा कम्पनी भनिने व्यावसायिक स्वरूपकै मिल्दोजुल्दो व्यवस्था छ । सामूहिक रूपमा मिलेर गरिने व्यवसायलाई ‘सम्भूयसमुत्थान’ भनिएको छ । व्यावसायिक ढाँचाको लागि दिएको नाम ‘सम्भूयसमुत्थान’ को पदवियोग गर्दा ‘सम्भूय’ को अर्थ ‘एकसाथ, संयुक्त भई’ र ‘समुत्थान’ को अर्थ माथि उठ्नु, उन्नति गर्नु हुन्छ । वर्तमान समयमा पनि व्यवसाय सामूहिक र व्यक्तिगत दुवै प्रकारका हुन्छन् र यसको उद्देश्य उन्नति गर्नु नै हुन्छ । सामूहिक रूपमा गरिने व्यवसाय मूलत: कम्पनीमार्फत गरिन्छ । नारदले सामूहिक रूपमा गरिने व्यवसायको बारेमा–
वणिक्प्रभृतयो यत्र कर्म सम्भूय कुर्वते ।
अर्थात् व्यक्ति (व्यापारी) मिलेर संयुक्त रूपमा कार्य (व्यापार) गर्छन् ।
तत्सभूयसमुत्थानं व्यवहारपदं स्मृतम् ।।
अर्थात् यस्तो संयुक्त रूपमा गरिएको कार्य व्यवहारमा स्वीकार्य हुन्छ । व्यवहारमा स्वीकार्य हुन्छ भन्नुको अर्थ राज्यले मान्यता दिन्छ भनिएको हो । यस्तो सामूहिक कार्यको उद्देश्य–
फलहेतोरूपायेन कर्म सम्भूय कुर्वताम् ।
अर्थात् फल प्राप्तिको उद्देश्यले संयुक्तरूपमा कार्य गर्छन् । कसले कति प्रतिफल पाउँछन् र कसरी बाँडफाँड हुन्छ भन्ने सन्दर्भमा–
आधारभूत: प्रक्षेपस्तेनोत्तिष्ठेयुरंशत: ।।
अर्थात् जसको जति लगानी छ, सोही आधारमा प्रतिफल प्राप्त हुन्छ । यी श्लोक अहिलेको शेयरधनी, उद्देश्य र लाभांशसँग मेल खान्छ । व्यापारमा हुने हानिनोक्सानी वहन गर्ने सम्बन्धमा–
समोऽतिरिक्तो हीनो वा तत्रांशे यस्य यादृश: ।
क्षयव्ययौ तदा वृद्धिस्तत्र तस्य तथाविधा: ।।
अर्थात् जसको अंश (हिस्सा) जति छ, हानि, खर्च र नाफा पनि त्यहीअनुसार हुन्छ । यो श्लोक आधुनिक कम्पनी कानूनले व्यवस्था गरेको सीमित दायित्वसँग मेल खान्छ । शेयर, शेयरधनी, उद्देश्य, प्रतिफल (लाभांश) र शेयरधनीको दायित्व कम्पनीका आधारभूत पक्ष हुन् ।
सञ्चालक र दायित्व
सञ्चालक समितिको जिम्मेवारी के र कस्तो हुन्छ भन्ने सन्दर्भमा–
भाण्डपिण्डव्ययोद्धारभारसारान्ववेक्षणम् ।
कुर्युस्तेऽव्यभिचारेण समये स्वे व्यवस्थिता: ।।
अर्थात् सञ्चालकले सम्पत्ति, आम्दानी र खर्च व्यवस्थापनसहित सञ्चालनका महत्त्वपूर्ण पक्षको निरीक्षण, निष्पक्ष एवम् व्यवस्थित ढङ्गले जिम्मेवार भएर निर्धारित समयमा गर्नुपर्छ । श्लोकमा स्पष्टरूपमा सञ्चालक उल्लेख नगरे पनि ‘कुर्युस्तेऽव्यभिचारेण’ अर्थात् ‘तिनीहरूले इमानदारीपूर्वक गर्नुपर्छ’ भन्ने वाक्यांशले मुख्य भई काम गर्ने व्यक्तिलाई जनाउँछ । यहाँ मुख्य भई काम गर्ने व्यक्ति अहिलेको कम्पनीमा जस्तै सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्ति अध्यक्ष, प्रबन्ध सञ्चालक हुन् भन्ने बुझ्नुपर्ने हुन्छ । ‘अन्ववेक्षणम्’ अर्थात् निरीक्षण भनेको कुनै पनि कार्यको पर्यवेक्षण वा नेतृत्व गर्नु हो र यस्तो कार्य गर्ने व्यक्ति सञ्चालकबाहेक अरू हुँदैनन् । सञ्चालकको के दायित्व हुन्छ भन्ने सन्दर्भमा–
प्रमादान्नाशितं दाप्य: प्रतिषिद्धकृतं च यत् ।
असन्दिष्टश्च यत् कुøर्यात् सर्वसम्भूयकारिभि: ।।
अर्थात् व्यवस्थापकीय कार्य गर्ने साझेदारले लापरबाही गरी हानिनोक्सानी पुर्याएमा, निषेध गरिएको कार्य गरेमा वा निर्देशन बिना कुनै कार्य गरेमा क्षतिपूर्ति बेहोर्नुपर्छ । तर, यहाँ उल्लिखित शब्दावली ‘प्रमादात् नाशितं (लापरबाहीबाट हानि)’, ‘प्रतिषिद्धकृतं (निषेधित कार्य)’ र ‘असन्दिष्टश्च यत् कुøर्यात् (निर्देशनविना)’ साझेदारको सहमति वा निर्देशनविना कुनै कार्य गर्छ र त्यसले हानिनोक्सानी निम्त्याउँछ भने त्यस्तो हानि व्यवस्थापकका रूपमा कार्य गर्ने साझेदारले बेहोर्नुपर्छ । अहिलेको कम्पनी कानूनमा सञ्चालकले शेयरधनीको सहमतिविना कुनै पनि कार्य गर्न सक्दैनन् । सञ्चालकले सधैं शेयरधनीको हितमा शेयरधनीको प्रतिनिधि भएर काम गर्नुपर्छ । यसलाई न्यासी कर्तव्य (फ्युडुशियरी ड्युटी) भनिन्छ ।
पुरस्कार र कर्मचारी
सञ्चालकलाई पुरस्कार दिने कुराको सन्दर्भमा–
देवतस्करराजभ्यो व्यसने समुपस्थिते ।
यस्तत्स्वशत्त्mया रक्षेत तस्यांशो दशम: स्मृत: ।।
यो श्लोक ‘सम्भुयसमुत्थान’ प्रकरणमा भए पनि यसको प्रत्यक्ष सम्बन्ध ‘सम्भुयसमुत्थान’सँग देखिँदैन । यद्यपि यसको अर्थानुसार देवता (दैवी), चोर, शत्रुबाट आउने संकटको समयमा जो व्यक्तिले सम्पत्तिको रक्षा गर्छ, उसलाई त्यस्तो सम्पत्तिको १० भागको एक भाग दिनुपर्छ । यसलाई ‘सम्भुयसमुत्थान’सँग जोड्दा कम्पनीको सञ्चालकलाई पुरस्कार दिने कुरासँग मेल खान्छ । आधुनिक कम्पनी कानूनले पनि सञ्चालकलाई पुरस्कार र पसिना शेयर (स्वेट इक्विटी) दिने व्यवस्था छ । यस्तो प्रचलनको मूल स्रोत वैदिक कालका ग्रन्थ हो । संस्थामा विभिन्न प्रकारका कर्मचारी आवश्यक पर्छ । कर्मचारी कति प्रकारका हुन्छन् भन्ने सन्दर्भमा–
ऋत्विक् तु त्रिविधो दृष्ट: पूर्वजुष्ट: स्वयं कृत: ।
यदृच्छया च य: कुर्याद्यत्र्विज्यं प्रीतिपूर्वकम् ।।
अर्थात् कर्मचारी/कामदार (ऋत्विक्) छनोट प्रक्रिया पूरा गरेर नियुक्त गरिएका (स्थायी), परामर्शदाता, स्वयम्सेवक वा प्रशिक्षार्थी गरी तीन प्रकारका हुन्छन् । ‘ऋत्विक्’ शब्दलाई सन्दर्भअनुसार कर्मचारी अर्थ लगाउँदा सान्दर्भिक हुन्छ । आधुनिक कर्मचारी प्रशासनमा पनि स्थायी, परामर्शदाता र प्रशिक्षार्थी कर्मचारी हुन्छन् । आधुनिक कर्मचारी प्रशासनको आधार पनि यही श्लोक हो भन्दा अत्युक्ति हुँदैन ।
कर र स्वामीविहीन सम्पत्ति
कर नागरिकको सुरक्षा र राज्यको विकासका लागि नागरिकबाटै उठाइन्छ । ‘सम्भुयसमुत्थान’लाई देवर्षि नारदले संस्थाका रूपमा परिकल्पना गरेका छन् । यस्ता संस्थाले पनि राज्यलाई कर बुझाउनुपर्छ । करका सम्बन्धमा–
शुल्कस्थानं वणिक् प्राप्त: शुल्कं दद्यात् यथोदितम् ।
न तदव्यतिहरेद्राजो बलिरेष प्रकीर्तित: ।।
अर्थात्, ‘सम्भुयसमुत्थान’ले तोकिएको स्थानमा कर बुझाउनुपर्छ । राज्य र करदाता दुवैले यो नियम उल्लङ्घन गर्नु हुँदैन, किनकि कर अनिवार्य योगदान हो । करकै सन्दर्भमा–
शुल्कस्थानं परिहरन्नकाले क्रयविक्रयो ।
मिथ्योत्त्तो च परीमाणं दाप्योऽष्टगुणमत्ययम् ।।
अर्थात् कर छल्ने, कालाबजारी गर्ने (अकाले क्रयविक्रयो), सामानको परिमाणबारे झूटो विवरण दिनेलाई आठ गुणा दण्ड लिनुपर्छ । कुनै साझेदारको मृत्यु भएमा उसको अंश के हुन्छ भन्ने सन्दर्भमा–
दायादेऽसति बन्धुभ्यो जातिभ्यो वा समर्पयेत् ।
तदभावे सुगुप्तं तद्वारयेद्दशती: समा: ।
अर्थात् ‘सम्भुयसमुत्थान’का कुनै अंशियारको दायाद (उत्तराधिकारी) नभएमा बन्धु (दाजुभाइ/नातेदार) वा जातिभ्यो (एउटै जाति वा समुदायका व्यक्ति) लाई दिनुपर्छ । कोही नभए राज्यले १० पुस्तासम्म सुरक्षित राख्नुपर्छ । यस्ता स्वामीविहीन सम्पत्ति व्यवस्थापनका सम्बन्धमा–
अस्वामिकमदायादं दश वर्षस्थितं तत: ।
राजा तदात्मसात् कुर्यादेवं धर्मो न हीयते ।।
अर्थात् स्वामीविहीन सम्पत्ति १० वर्षसम्म कसैले दाबी नगरे राज्यले आफ्नो बनाउँछ, यसो गर्दा धर्मनाश वा हानि हुँदैन । यो कुरा सम्पर्कमा नआएका साझेदार र संस्था खारेज भएमा बाँकी रहेको सम्पत्तिमा कोही दाबी गर्न नआएमा कुनै पनि सम्पत्ति बेवारिसे वा स्वामीविहीन नहुने सिद्धान्तसँग सम्बद्ध छ । कसैको दाबी नपरेको सम्पत्ति राज्यको हुन्छ । यस कुरालाई स्थापित गर्ने आधार वैदिकदेखि अस्तित्वमा छ ।
निचोडमा, माथिका विभिन्न अनुच्छेदमा गरिएको शास्त्रीय चर्चापछि कम्पनी स्वरूपको व्यावसायिक ढाँचाको प्रस्थान विन्दु वैदिक कालमै भएको थियो भन्ने निष्कर्षमा पुगिन्छ । वैदिक कालमा अहिलेको कम्पनी कानूनमा जस्तो धेरै कुरा भेटिँदैन तर विषय उठान भएको छ । विश्वविद्यालयको पाठ्यक्रममा कम्पनीको विकासक्रममा नारदस्मृतिको उल्लेख नहुनु र एकोहोरो कम्पनीको शुरुआत बेलायतबाट भएको हो भनेर अध्ययन/अध्यपान गराइनु ‘कस्तुरीले आफ्नो जिउबाट आएको सुगन्ध थाहा नपाएर अन्यत्र भौंतारिँदै हिँड्नु जत्तिकै’ हो । बेलायतले गर्दै गरेन भन्ने होइन, त्यसमा केही परिस्कार गरेको कुरालाई अस्वीकार गर्न पनि सकिँदैन । बेलायतभन्दा अगाडि नै रोमन कालमा पनि कम्पनीको विकास भएको पाइन्छ । सिसेरोले त्यतिबेला शेयरको मूल्य अधिक थियो भनेर उल्लेख गरेका छन् । कम्पनी नभई शेयरको मूल्य हुने कुरै हुन्न । नेपालको विश्वविद्यालयले कम्पनी कानूनको पाठ्यक्रममा कम्पनीको प्रारम्भिक स्वरूपको रूपमा ‘सम्भुयसमुत्थान’लाई मान्यता दिँदै नारदस्मृतिको ‘सम्भुयसमुत्थान’ प्रकरणलाई अविलम्ब समावेश गर्नु आवश्यक छ ।
लेखक धितोपत्रसम्बन्धी अध्येता करपोरेट अधिवक्ता हुन् ।