चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जना व्यक्तिको ज्यान गयो । क्रान्ति योजनाबद्ध नहुन सक्छ तर आक्रमण योजनाबद्ध हुनुपर्छ, चाहे त्यो प्रहरीको होस् वा आन्दोलनकारीको । १५ गतेको तीनकुनेमा भएको जनप्रदर्शनमा प्रदर्शनकारी र प्रहरी दुवैतर्फबाट चुक भयो र अनाहकमा पत्रकार सुरेश रजक र कीर्तिपुरका सबिन महर्जनको ज्यान गयो ।
केही मुलुकमा बाहेक सबै देशमा सरकारको विरोधमा आन्दोलन भएको छ । यस्तो आन्दोलन शान्तिपूर्ण भनिए पनि कुनै त कुनै तरीकाले तोेडफोडमा परिणत भएको पाइन्छ । यस्तो तोडफोडले मुलुकको ठूलो आर्थिक क्षति हुन्छ । विगतमा भएका सबैजसो आन्दोलनमा पनि यस्तै तोडफोड भएकै थिए । तर, मुलुकमा ठूलो राजनीतिक उपलब्धि प्राप्त भएको र अब आन्दोलन नहुने विश्वास गरिएको अवस्थामा फेरि प्रणाली फेर्ने नाममा आन्दोलन हुन थालेको छ । तीनकुनेमा भएको आन्दोलनलाई लिएर अहिले मुलुक नै विभाजित बनेको अवस्था छ । सरकारको दाबी बेग्लै छ । सर्वसाधारणको दाबी बेग्लै छ । यस्तोमा सरकारले निष्पक्ष उच्चस्तरीय छानबिन आयोग गठन गरेको भए यो हल्लालाई केही मत्थर पार्न सक्थ्यो होला । नेपालमा राजनीतिक आन्दोलन समाप्त भएको र अब आर्थिक क्रान्ति शुरू हुने भनी नेताहरूले गरेको भाषण खेर गएकै कारणले जनतामा असन्तुष्टि बढेको देखिन्छ । भीड कहिले पनि तर्कले चल्दैन । आवेगको आगो बलेपछि परिस्थिति सरकारी नियन्त्रणबाहिर गएरै छाड्छ । तीनकुनेमा पनि त्यस्तै भएको हो कि भन्ने देखिन्छ । तर, जुनसुकै राजनीतिक आन्दोलनको उद्देश्य आर्थिक परिवर्तन नै हुनुपर्छ । त्यसो हो भने आर्थिक क्षति हुने गरी आन्दोलन गरिनु हुँदैन ।
त्यो आन्दोलनमा लेखक पनि प्रत्यक्षदर्शी बन्नु परेको थियो । आन्दोलन हिंसात्मक हुन थालेपछि एउटा सेडको छानामुनि लुकेर बसेका थियौं । सेडको छानामा ढुङ्गा बर्सन थालेपछि शिशा फोरियो । हाम्रो सातोपुत्लो गयो । केही छिनपछि प्रदर्शनकारीले मुख्य भवनमा प्रहार गर्न थाले । त्यतिकैमा प्रहरीले ढुंगाप्रहारकारीलाई लखेटे । एकजना भाइ आएर लौन दाइ तल गाडी जलेको छ, दमकललाई फोन गरिदिनुहोस् भने । भन्सारमा भएका सुरक्षाकर्मीले पानी जोडेर आगो निभाउँदै थियो । यस्तैमा दमकल पनि आयो र कार्गो भवन अगाडिको आगो निभ्यो । यदि त्यो आगो नियन्त्रण लिन नसकिएको भए सयौं गाडी आयात निर्यातका लागि राखिएका जनताका अर्बौैका मालसामान नष्ट हुन सक्थे । त्यसैले आन्दोलनलाई संयमित बनाउन के गर्न सकिन्छ र के गर्नु पर्छ यस विषयमा गम्भीर छलफल हुन जरुरी देखिन्छ । हिंसाले कहिल्यै कुनै प्रकारको उन्नति, प्रगति भएको छैन । आफ्ना विचार मञ्चमा राख्न जनताको बीचमा राख्ने छूट सबैलाई छ । ढुंगा प्रहार गर्ने र आगोको होली खेल्ने छूट कसैलाई छैन ।
अहिले जताततै सिसिटिभी छ । जडीबुटीको औषधि उत्पादन कारखाना, व्यक्तिका घरहरू, भन्सार र औषधि कारखानामा आगो फाल्नेलाई पक्रौं । दण्डहीनतालाई निरुत्साहित गर्न चुकियो भने हाम्रो देश सधैं दीर्घरोगमा बाँच्न बाध्य हुनेछ । गोली लागेको छ मानिस मरेको छ, आगलागी भएको छ, गाडी र कारखाना जलेका छन् यी सबै आर्थिक, मानवीय राजनीतिक क्षति हो । यतिमात्र होइन यो हाम्रो देशले पहिल्याउन नसकेको आर्थिक गन्तव्यको अलमल हो ।
कसैलाई आलोचना नगरी भन्नु पर्दा आगामी ५ वर्षभित्र नेपालाई कुन उचाइमा पुर्याउने भन्ने मार्गचित्र हामीमाझ छैन, रोजगारी छैन, आफ्नो र पार्टीगत स्वार्थ त्यागेर कसैले त नेपाल र नेपाली जनताको बारेमा सोचेको छ भन्ने प्रत्याभूत नभएका कारण नेपाली जनता १५ गते २ समूहमा बाँडिए । एकातिर प्रहरी दमन भएन सबै शान्त तर अर्कोतिर दमन भयो उद्दण्ड मच्चियो ।
हरेक क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने सिद्धान्तअनुरूप घटना भयो । लाग्छ, यो अन्तिम घटना होइन, किनकि आज पनि हाम्रो देशले स्पष्ट आर्थिक बाटो बनाउन वा देखाउन सकेको छैन । विगतमा भएका ठूला ठूला परिवर्तनले दिएको उपलब्धि वा अनुपलब्धिको विश्लेषण भएको छैन । निर्यात बढेको छैन, रोजगारी बढेको छैन, राजस्वले सरकारी खर्च पूरा गर्न सकेको छैन । त्यसले गर्दा पूर्वराजाका समर्थक जुर्मुराउने मौका पाएका छन् । दुवै भाँडो रित्तो भएपछि वर्षाको पानीले ओतमा भएको भाँडो भन्दा बलेनीमा भएको भाँडो छिटो भरिन्छ । राजावादीले बलेनीको फाइदा उठाएका छन् र गणतन्त्रवादी अहिले ओतमा छन् । आमजनता यता न उता छन् ।
जहाँ पायो त्यही आगो लगाउँदै हिँड्ने र गार्ड बस्ने टहरोमा ढुङ्गा हानेर देश र सत्ता परिवर्तन हुँदैन । यो बाहेक राजावादी सलबलाउनुमा सरकारको संरचना पनि कारण हो । संसद्को पहिलो र दोस्रो दल सरकारमा बसेकाले गम्भीर गल्तीमा प्रश्न उठाउने शक्ति कमजोर भएर पनि यत्रो घटना भएको हुन सक्छ । भाटभटेनीमा लुटपाट भयोे, शायद त्यसको त हिसाबकिताब पनि बाहिर आइसक्यो । तीनकुनेदेखि बालकुमारीसम्म सयौं पसल छन् , तिनमा लुटपाट भएन, भाटभटेनीमा मात्र किन भयो ? यसको कारण खोज्दै जाने हो भने धेरै तानाबाना जोडिएलान् । फेरि पनि लुटपाट ठीक होइन । नचिनी र नबुझी ढुङ्गा र आगोको खेलबाट बचांै । देश हामी सबैको साझा सम्पत्ति हो । जडीबुटीको औषधि पसलमा आगजनी गर्नु त कायरता नै हो । सबैभन्दा ठूलो कुरा राजनीतिक दललाई दिने चन्दा पारदर्शी होस् । हामी सबै व्यक्तिवादी र पार्टीवादी भयौं, समग्रमा भन्दा नैतिक राष्ट्रवादी भएनाौं ।
लेखक कैलासकूट बहुमुखी क्याम्पसमा अध्यापन गर्दछन् ।