विसं २०८० देखि नै पूँजी बजारमा साना तथा मझौला उद्योगहरू (एसएमइज) का लागि अलग प्लेटफर्म बनाउने चर्चा भए पनि त्यसको सञ्चालनका लागि आवश्यक नियमावली सरकारले बल्ल पारित गरेको छ । यो पारित भएसँगै छिटै एसएमइज प्लेटफर्म शुरू गर्ने बाटो खुलेको छ । अहिले यस्तो अलग प्लेटफर्म नहुँदा स्टार्टअपलगायत साना कम्पनीहरूलाई पूँजी उठाउन र दोस्रो बजारमा शेयर कारोबार सहज बनाउन समस्या परेको छ । यसको कार्यान्वयनले पूँजी बजार थप विस्तार हुन सक्छ ।
अहिले पनि एसएमइजले शेयर जारी गर्न नसक्ने होइन । दोस्रो बजारमा तिनको कारोबार गर्नै नमिल्ने पनि होइन । तर, ठूला कम्पनीसरह व्यवहार हुँदा तिनलाई समस्या परेको छ । त्यस्तै दोस्रो बजारमा यस्ता साना कम्पनीहरूको शेयर मूल्यमा चलखेल गर्न सजिलो हुने भएकाले यस्तो भइरहेको आशंका पनि छ । एकातिर पूँजी बजारको विकृति रोक्न मद्दत गर्ने र अर्कातिर साना कम्पनीहरूलाई पूँजीको जोहो गर्न केही सहजीकरण गर्ने भएकाले अब तत्कालै अलग प्लेटफर्म सञ्चालन गर्न ढिला गर्नु हुँदैन । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले नियामकको निर्देशन आए सञ्चालन गर्न समस्या नहुने बताएकाले नेपाल धितोपत्र बोर्डले त्यसको कार्यान्वयन तत्कालै गरिहाल्नुपर्छ । नियमावली बनाउन नै धेरै समयमा लागेकाले अब सञ्चालनमा विलम्ब गर्नु हुँदैन । नेपालमा साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न आवश्यक छ । एसएमइज भनेका अर्थतन्त्रका मेरूदण्ड नै हुन् । तर, तिनले नै व्यवसाय विस्तार गर्न स्रोतको अभाव झेल्नु परिरहेको छ । बैक वित्तीय संस्थाले एसएमईजलाई प्राथमिकतामा राखेको भनेपनि कर्जा पाउन यस्ता कम्पनीहरूलाई गाह्रो पर्ने गरेको छ । स्टार्ट अपहरू पनि यही वर्गमा पर्छन् । धेरै स्टार्टअप सञ्चालकहरूसँग नयाँ सोच हुने तर स्रोत नहुने र कर्जा लिन पर्याप्त धितो पनि नहुने समस्या रहने गरेको छ ।
सरकारले स्टार्टअपहरूलाई सहुलियत ब्याजदरमा कर्जा दिने नीति लिएको छ । त्यस्तो कर्जा लिन निकै समय लाग्ने र रकम पनि थोरै भएकाले थप पूँजीका लागि उनीहरूले सर्वसाधारणमा शेयर जारी गरी पैसा उठाउन सक्छन् । त्यसैले उनीहरूलाई यसमा सहजीकरण गर्न पूँजी बजारमा एसएमइज प्लेटफर्म सहयोगी हुन सक्छ । कार्यविधिले साधारणका लागि निष्कासन गरिएको धितोपत्रबाहेक अन्य धितोपत्र सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिदेखि ३ वर्ष नभएसम्म विक्री गर्न नपाइने व्यवस्था गरेको छ । तर, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल, हेज फन्ड वा यस्तै प्रकारको कोषका रूपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्वमा रहेको धितोपत्र भने सर्वसाधारणमा बाँडफाँट भएको मितिले १ वर्षको अवधि पूरा भएपछि विक्री गर्न पाइने व्यवस्था नियमावलीमा छ ।
नियमावलीमा भएको व्यवस्थाबमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्ने साना तथा मझौला संगठित संस्थाले पब्लिक कम्पनीका रूपमा कारोबार सञ्चालन गरेको एक आर्थिक वर्ष पूरा हुनुपर्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन सम्बन्धमा निष्कासन तथा विक्री प्रबन्धकसँग सम्झौता भइसकेको, संस्थापकहरूले लिन कबुल गरेको धितोपत्रको रकम शतप्रतिशत चुक्ता भइसकेको र सर्वसाधारणका लागि निष्कासन गरिने सम्पूर्ण धितोपत्रको प्रत्याभूति गरिएको हुनुपर्नेछ । प्रस्तावित प्लेटफर्ममा कारोबार हुने कम्पनीको चुक्तापूँजी बढीमा २५ करोड रुपैयाँसम्म हुने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ । तर, यस्ता संस्थाको उपस्थिति र बजारको अवस्था हेरेर नेपाल धितोपत्र बोर्डले चुक्तापूँजीको सीमा हेरफेर गर्न सक्नेछ ।
एसएमइज प्लेटफर्मको विशेषता भनेको कम्पनीहरूलाई सरल नियमन लागू हुनु हो । यसबाट कम्पनीहरूको लागत र प्रशासनिक भार कम गर्छ । त्यस्तै यस्ता कम्पनीका लागि एक्सचेन्जले कम सूचीकरण शुल्क लिन्छन् । यस्तो प्लेटफर्ममार्फत उठाइएको पूँजी सामान्यतया व्यवसाय विस्तार, वर्किङ क्यापिटलमा प्रयोग गर्ने तथा बैंक ऋण घटाउनेसहित विभिन्न उद्देश्यका लागि प्रयोग हुन्छ । पूँजी बजारको विकासका लागि विभिन्न किसिमका सुधारका काम भइरहेका छन् । थप उपकरण ल्याउन पुगेको छैन । यस्तोमा एसएमइज प्लेटफर्म सञ्चालनमा आएपछि बजारमा साना कम्पनीको मूल्यमा अहिले भइरहेको चलखेल रोक्न पनि केही सहज हुन्छ ।