जनकपुर बोल्ट्सले उपाधि जितेपछि पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) शनिवार भव्यताका साथ सम्पन्न भएको छ । यसको आयोजक क्रिकेट एशोसिएशन अफ नेपालको निकै प्रशंसा हुन थालेको छ । हुन पनि जस्तो अवस्थामा यो क्रिकेटको आयोजना भयो र जसले यसमा उत्साह ल्यायो तथा यसलाई व्यावसायिक जगत्सँग जोड्यो त्यसले नेपाली खेलकुद इतिहासमै कोसेढुंगा बनेको छ, एनपीएल ।
१८ दिनसम्म चलेकोे लिगमा कुल ३२ खेल भए । झन्डै १४० भन्दा बढी खेलाडी एनपीएलमा सहभागी थिए । त्यसमध्ये अधिकांशले एनपीएलको खेल खेल्ने अवसर पाए । तीमध्ये पनि केही खेलाडीले राम्रो प्रदर्शन गरे अनि व्यक्तिगत उत्कृष्ट पुरस्कार पाए । यस्तो भव्य प्रतियोगिता सञ्चालन गर्न आर्थिक स्रोत चाहिन्छ । उच्च व्यवस्थापन चाहिन्छ । त्यसका लागि उपयुक्त सोच भएको व्यक्ति पनि चाहिन्छ । सही सोचका साथ सही ढंगले काम अघि बढाएमा स्रोतको अभाव त्यति नहुन पनि सक्छ । नेपाल प्रिमियर लिगको भव्य समापनले यो प्रमाणित गरेको छ ।
मुलुकमा एउटा गतिलो क्रिकेट स्टेडियम छैन । खेलाडीलाई अभ्यास गर्ने उपयुक्त मैदानको अभाव छ । नियमित अभ्यासका लागि सानातिना प्रतियोगिता भइरहनुपर्छ । त्यसो हुन सकेको छैन । क्यानसँग पर्याप्त पैसा छैन ठूलाठूला स्पोन्सर पनि छैनन् । टिकट विक्रीबाट पैसा उठाउनका लागि पूर्वाधार पनि छैन । यस्तो अवस्थामा भारतमा आईपीएलजस्तै नेपालमा एनपीएल खेलको आयोजना हुनु निकै गौरवको कुरा हो ।
केही वर्षअघि मात्रै क्रिकेट खेल्नका लागि राम्रो ब्याट पाएनौं भनेर नेपाली क्रिकेट खेलाडीले गरेको गुनासो अझै ताजै छ । वर्षौंदेखि देशका लागि खेले पनि मासिक पारिश्रमिक नपाएको भन्दै चिन्ता व्यक्त गर्ने तिनै खेलाडी केही दिन मात्रै क्रिकेट खेलेर लाखौं कमाउन सके । एउटै प्रतियोगितामा करोड रुपैयाँ पुरस्कार राशिको यत्रो खेल आयोजना गर्न सकेकोमा क्यानको नेतृत्वको प्रशंसा गर्नैपर्छ । क्यानले यति सफलताका साथ एनपीएल सम्पन्न गर्न सक्नुमा पारस खड्काको खटाइ र उनको क्षमताको सबैले प्रशंसा गरेका छन् । व्यावसायिक व्यक्तिले नेतृत्व सम्हाल्दा खेलकुदले गति लिने रहेछ भनेर यसले देखाएको छ ।
विदेशी खेलाडी प्रशिक्षक अनुबन्धन गर्ने र फ्रेन्चाइजहरूमा व्यवसायीहरूले लगानी गर्ने कुरासम्ममा एनपीएलमा प्रतिस्पर्धा देखियो । अहिले एनपीएलमा प्रायोजक बन्नका लागि कर्पोरेट क्षेत्रबीच प्रतिस्पर्धा चलेको छ । कर्पोरेट क्षेत्रका विभिन्न व्यवसायीले पनि लाखौं लगानी गरेर स्पोन्सर गरे ।
एनपीएलको सफलताको चर्चा नेपालमा मात्र भएको छैन । भारतमा समेत यसको चर्चा भएको छ । यसले आगामी दिनमा नेपाली खेलाडीले अन्य देशमा अनुबन्धनका लागि मौका पाउने देखिन्छ । त्यस्तै नेपाली खेलमा बहुराष्ट्रिय कम्पनीहरूले स्पोन्सर गर्ने, स्टार स्पोर्टले पैसा तिरेर खेल देखाउने जस्तो अवस्था पनि नआउला भन्न सकिँदैन ।
नेपालले अन्य खेलमा भन्दा क्रिकेटमा बढी सफलता पाएको छ । त्यही भएर नेपालीले विदेशमा खेल्न पाउँदा दंग पर्नुपर्ने अवस्था थियो तर अहिले विदेशी खेलाडी किनेर नेपालमा खेलाउनु पाउनु अर्को सफलता हो । यसले नेपालको क्रिकेटको विश्व वरीयतामा नेपाल उक्लने बलियो आधार तय गर्नेछ । नेपाल क्रिकेटमा बलियो राष्ट्रका रूपमा उदाउन सक्छ ।
खेलकुदमा सकारात्मक पक्षसँग नकारात्मक पक्ष पनि हुन्छन् । क्रिकेटको क्रेजको प्रशंसा भइरहँदा दर्शकले देखाएको व्यवहार चाहिँ निकै आलोच्य बन्यो । दर्शकले आफ्नो पक्षको टीमलाई समर्थन गर्नु सामान्य नै हो र त्यही समर्थनको नाममा विरोधी टीमका दर्शकलाई नश्लावादी व्यवहार गर्नु गलत हो । अन्तिम खेलमा दर्शकमाथि नै हातपात गरेर जस्तो व्यवहार गरियो त्यसले भने राम्रो सन्देश दिँदैन । प्रहरीले यसमा छानबिन थालेको छ । यथोचित कारबाही होला तर यस्ता घटनाले खेलकुद क्षेत्रलाई बदनाम गर्न सक्छ भन्ने कुरा हामीले बिर्सन हुँदैन ।