काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा घाइतेभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई सघन उपचार कक्ष (आइसीयु) मा राखि उपचार भएरहेको कीर्तिपुर अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अनुहार ५-६ प्रतिशत जलन भएको छ । अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता रहेको अस्पतालले जनाएको छ ।
'प्रारम्भिक मूल्याङ्गन अनुसार ५-६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,' अस्पतालले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूको उपचारमा सघन उपचार कक्षको टोली, जलन विशेषज्ञहरुको टोली, आकस्मिक उपचार टोली लगायतको नर्सिङ्ग टोली खटिएको अस्पतालले जनाएको छ ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते भएका थिए ।
अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको थियो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ ।
महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो । महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।