काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत साउन ३१ गतेदेखि निष्कासन गरेको ४० प्रतिशत हकप्रद शेयर भदौ १७ गतेसम्म ५२ प्रतिशतभन्दा बढी मात्र बिकेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार भदौ १७ गतेसम्म ९३ हजार ८७३ जनाबाट ८६ लाख ३० हजार ७४० कित्ता शेयर खरीद माग भएको हो ।
कम्पनीले भदौ १९ गतेसम्मका लागि असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि शत प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य भएका हुन् ।
गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेस गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।
हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत रहेको गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत हकप्रद खरीदका लागि आवेदन दिन सकिनेछ ।