काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ भोलि बिहान ९ बजे विक्री प्रबन्धकको कार्यालय, नारायणचौर नक्सालमा बाँडफाँट गर्ने भएको हो ।
कम्पनीले असार १० देखि १३ गतेसम्म ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । उक्त आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ आवेदकबाट १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको छ, जुन मागभन्दा २५ दशमलव ८८ गुणा बढी हो ।
कम्पनीको आईपीओ १० कित्ताका दरले ५३ हजार ९५० जनाले मात्र हात पार्नेछन् । यस आधारमा १२ लाख २८ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ देखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ देखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको थियो ।