काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जनाको आवेदन परेको छ । कम्पनीले असार १० देखि १३ गतेसम्म सर्वसाधारणमा ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयर खरीद माग भएको हो, जुन मागभन्दा २५ दशमलव ८८ गुणा बढी हो ।
कम्पनीको आईपीओ १० कित्ताका दरले ५३ हजार ९५० जनाले मात्र हात पार्नेछन् । यस आधारमा १२ लाख २८ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ देखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ देखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको थियो ।
जारी पूँजी रू. २२ करोडको १० प्रतिशतले हुन आउने २ लाख २० हजार कित्ता आईपीओ स्थानीयमा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरिएको थियो ।
कम्पनीको कुल कित्ता आईपीओमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूमा बाँडफाँट गरिएको थियो ।
कम्पनीको आईपीओ प्रतिशेयर रू. १०० अंकित मूल्यमै विक्री गरिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ ।
कम्पनीले लमजुङको तत्कालीन ताघ्रिङ गाउँविकास समितिमा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट २०७८ फागुन १५ गतेदेखि व्यापारिक उत्पादन शुरु भइसकेको छ । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ छ ।
हाल संस्थापक तर्फबाट चुक्ता पूँजी रू. १३ करोड ३० लाख छ । सर्वसाधारणमा समेत आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी रू. २२ करोड कायम हुनेछ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. २ करोड ५ लाखभन्दा बढी सञ्चित नोक्सानीमा छ ।
वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ५४ रहेको कम्पनी रू. १४ दशमलव ६३ प्रतिशेयर नोक्सानीमा छ । चालू आर्थिक वर्ष ०७९/८० सम्म कम्पनीको सञ्चित नोक्सानी रू. ८५ लाख ७२ हजारमा झार्ने प्रक्षेपण छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने कम्पनीले रू. ६१ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।