काठमाडौं । मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामै रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ढकालले बजारमा अझै पनि माग बढ्न नसकेको, निजीक्षेत्रको लगानी मनोबल घटेको र सरकारका नीतिमा समेत सुधार नहुँदा अर्थतन्त्रमा अपेक्षित सुधार नआएको बताएका हुन् ।
अर्थतन्त्र चलायमान हुन उत्पादनमूलक लगायत महत्त्वपूर्ण क्षेत्रहरूमा लगानी बढ्नुपर्ने, स्वदेशी र विदेशी दुवै लगानी आकर्षित हुनुपर्नेमा यसमा देखिएका बाधा, अप्ठ्यारा समाधान भइनसकेको उनले बताए । ‘बजार माग सुस्त छ, बैंक वित्तीय संस्थामा रकम थुप्रिएको छ । विदेशी विनिमय सञ्चिति छ हालसम्मकै उच्च छ । भुक्तानी सन्तुलनमात्रै होइन चालू खाता पनि बचतमा छ,’ उनले भने, ‘तर बाह्य क्षेत्रको सहजताको प्रभाव आन्तरिक अर्थतन्त्रमा पर्न सकेको छैन ।’
आर्थिक गतिविधि बढाउन बाह्य क्षेत्रका सूचक बलियो भएर मात्र नहुने, निजीक्षेत्रको मनोबल पनि बढ्नुपर्ने अध्यक्ष ढकालले बताए । यसका लागि निजीक्षेत्रले निर्बाध काम गर्न दिइनुपर्नेमा उनले जोड दिए ।
उच्च तहको नेतृत्ववर्गले यसलाई मनन गरे पनि धरैले निजीक्षेत्रको महत्त्व बुझेर सहजीकरण गर्न नचाहिरेको गुनासो ढकालको छ । यसमा सुधार हुनु पहिलो शर्त भएको उनले बताए ।
‘बजारमा मागमा भएको कमीले जोखिम लिन लगानीकर्ता हिच्किचाइरहेका छन् । खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदै छ,’ उनले भने, ‘हामीकहाँ निजीक्षेत्र निरन्तर निगरानीमा छ । नियामक र निगरानी बढाउने नीति नियम एकपछि अर्को गर्दै आइरहेका छन् । लगानी र नाफा संकुचन हुने पर्याप्त आधार देखिएकै कारण लगानी बढन सकेको छैन र रकम बैंकिङ प्रणालीमा थन्किएको छ ।’
अध्यक्ष ढकालले अख्तियार लगायतका निकायको भूमिका निजीक्षेत्रमा रहने कि नरहने भन्ने विषय पनि प्रष्ट हुनुपर्ने धारणा राखे । नियमन मात्रै गर्ने, डर त्रास मात्रै देखाउने हो भने लगानीकर्ताले लगानीका लागि पुनर्विचार गर्नुपर्ने उनले बताए । यद्यपि उद्यमी व्यवसायीले पनि स्वच्छ र स्वस्थ व्यवसाय प्रवर्द्धन गर्नुपर्ने उनले बताए । सहज व्यावसायिक वातावरण बनाउन महासंघले हरेक तीन महीनामा सरकारसँग संवाद गर्ने संयन्त्र बनाउन खोजेको जानकारी उनले दिए ।
‘हामीले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष पहल गरिरहेका छौं । महासंघले मस्यौदा गरेको स्टार्टअप नीति पारित भएको छ । कानूनमा स्टार्टअपको परिभाषा आएको छ । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेका छौं,’ उनले भने, ‘साना मझौला उद्यमीका लागि एसएमई विकास केन्द्र महासंघमा स्थापना गर्ने निर्णय केही पहिले नै भइसकेको छ । यसको प्रभावकारी सञ्चालनका लागि तयारी गरिरहेका छौं ।’
महासंघलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा लैजाने योजना रहेको अध्यक्ष ढकालले बताए । यसअन्तर्गत एफएनसिसिआई लर्निग सेन्टर र एफएनसिसिआई इनोभेटर्स क्लब स्थापना गर्ने तयारी रहेको जानकारी उनले दिए । सातै प्रदेशलाई यस्तो एक्सिलेन्स सेन्टरका रूपमा प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे महासंघले छलफल गरिरहेको उनले बताए ।
आगामी डेढ वर्षभित्र महासंघको कम्तीमा ७० प्रतिशत काम डिजिटल गर्ने प्रयासस्वरूप काम भइरहेको उनले बताए । यसैगरी सर्टिफिकेट अफ ओरिजिनलाई पूर्णयता डिजिटलाइज्ड बनाउने महासंघको तयारी रहेको जानकारी उनले दिए । ‘हामीले सफ्टवेयर तयार पारेका छौं । सरकारलाई पूर्णतया अनलाइन बनाइदिन आग्रह गरिहेका छौं, तर अझै भएको छैन । सबै अनलाइन भएमा बजारमा विकृति हटेर पारदर्शिता पनि कायम हुनेछ ।’