विगत डेढ दशकदेखि नेपालको अर्थतन्त्र र राजस्वका बीच अनौठो सम्बन्ध रहँदै आएको छ । माओवादी जनयुद्धको राप बढ्दै जाँदा सुस्ताउन थालेको अर्थतन्त्रले गति लिने सङ्केत अझ देखापरेको छैन । तर, मुलुकको वार्षिक कर संकलन भने विगत १५ वर्षमा ८ गुणाभन्दा धेरैले बढेको छ । सन् १९९७/९८ मा ३२ अर्ब ९४ करोड रुपैयाँ राजस्व उठेकोमा सन् २०११/१२ मा आइपुग्दा त्यो रकम बढेर २ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । चालू आवका लागि सरकारले २ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । र, त्यो लक्ष्य पूरा हुने आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माको भनाइ छ ।
अस्थिर राजनीति, ऊर्जा तथा पूर्वाधारको कमीका कारण औद्योगिक विकास हुन नसक्नु, मौसममा आधारित कृषि प्रणालीलगायत कारणले अर्थतन्त्रले गति लिन सकेको छैन । झण्डै एक दशकअघिदेखि नेपालको आर्थिक वृद्धि दर औसतमा ५ प्रतिशतभन्दा तल रहँदै आएको छ । अझ चन्दा आतंकका कारण नेपालमा पछिल्लो समय ठूलो लगानी हुन नसकेको अर्थशास्त्री केशव आचार्य बताउँछन् । त्यसैले नेपालमा उद्योगभन्दा व्यापारमा लगानी गर्नेहरू बढ्दै गएको उनको भनाइ छ ।
वर्ष ८, अंक १४७, बुधवार, २ फागुन, २०६९