काठमाडौं । त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले विद्यमान आर्थिक संकट समाधानका लागि नयाँ शैलीको सुधार आवश्यक भएको बताएका छन् ।
महिला आर्थिक पत्रकार संघ (फेजा)ले आइतवार आयोजना गरेको नीतिगत वहस कार्यक्रममा उनले नेपालको वर्तमान आर्थिक समस्यामा पुरानो शैलीको पुनरुत्थान सम्भव नभएको पनि बताए । ‘मौद्रिक नीति र वित्तीय नीतिबीच तालमेलको समस्या देखिँदैन । आर्थिक सूचकांक ठीक छ । अर्थतन्त्र चलायमान भएन । कर्जा बढ्दा पनि ढुक्क हुने ठाउँ छैन । कर्जा वृद्धि भएर पनि त्यो कहाँ जान्छ भन्ने थाहा छैन । कर्जा वृद्धिले आर्थिक वृद्धि नहुने रहेछ भनेपछि यसले पनि योगदान गर्छ भन्ने आधार के त ?’ उनले प्रश्न गरे ।
उनले सरकारले बजेट खर्च गर्न नसकेको गुनासो गरे । ‘नयाँ शैलीको रिफर्मको सोच चाहियो । सरकारले आफ्नो गतिशीलता देखाउन सकेन । सरकारले ऋण लिइरहेको छ, खर्च गर्न सकिरहेको छैन । ऋण लिन्छौं र रिजर्भ गरेर राख्छौं भने त्यसले समस्या निम्त्याउँछ,’ प्रा.डा. अधिकारीले भने ।
सोही कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले वाणिज्य बैंकहरूले आगामी वर्ष शेयरधनीलाई लाभांश दिन नसक्ने बताए । सीईओ ढुंगानाले अर्थतन्त्रमा सुधार आए मात्र बैंकका लगानीकर्ताले अर्को वर्ष प्रतिफल पाउन सक्ने बताए ।
विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाइ छ । अहिले बजारमा खरीदविक्रीदेखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमै समस्या आएको उनको भनाइ छ ।
अर्थतन्त्रमा सुधार नआएको खण्डमा बैंक तथा वित्तीय संस्थाले थप समस्या झेल्नुपर्ने उनको चेतावनी छ । पूँजीगत खर्च बढाउनुपर्ने बेला खर्च अनुमान नै घटाउने परिपाटी सही नभएको उनले टिप्पणी गरे । ‘यसले अर्थतन्त्रलाई सकारात्मक गतिमा लैजाँदैन,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने भन्दै यस विषयमा सकारात्मक समाचार दिन सञ्चारकर्मीलाई आग्रह गरिन् । उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि समस्या देखिएको भन्दै नेपालका बैंकहरूको निष्क्रिय कर्जा छिमेकी देशहरूको तुलनामा कम नै रहेको जानकारी गराइन् ।
नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजीक्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएकाले बैंकिङ क्षेत्रका समस्या पनि छिट्टै ठीक हुने उनको भनाइ छ । पूँजीगत खर्च बढाउन सके समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने पनि उनले बताइन् ।