काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको २० लाख १४ हजार ८१७ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ ।
कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म शत प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको हो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७८ हजार २०३ जना आवेदकहरूलाई १ करोड ६५ लाख ३७ हजार २८८ कित्ता हकप्रद शेयर कम्पनीले असोज १९ गते बाँडफाँट गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
विक्री हुन नसकेको हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरूमा मात्र हकप्रद शेयर बाँडफाँट गरिएको हो । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज २४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पूरा गरी २०७६ कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्दै आएको छ ।