काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल ईच्छा सिमरा, बारामा दिउँसो १ बजे समाग र्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
हाल कम्पनीके चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ९१ लाख २५ हजार ८७६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्तावलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । साथै संस्थापक तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट २ जनासँगै एक जना स्वतन्त्र सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । कम्पनीले यसका लागि ४२ प्रतिशत हकप्रद शेयर समेत असार २५ गतेदेखि निष्कासन गर्न लागेको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिन बुक क्लोज गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न वैशाख २६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर कम्पनीले जारी गर्नेछ । हकप्रद र बोनस शेयरपछि कम्पनीको तोके बमोजिमको चुक्तापूँजी कायम हुनेछ ।