काठमाडौं । रिलायबल इन्भेस्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने रिलायबल समृद्धि योजनाको इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । असार ९ गते नेप्सेमा यस योजनाको १२ करोड इकाई सूचीकृत भएको हो ।
आरएसआई स्टक संकेतबाट योजनाको इकाई सूचीकृत भएको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाका इकाई दोस्रो बजारमा समेत कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो । मंगलवारदेखि यी इकाई कारोबार गर्न सकिने नेप्सेले जानकारी दिएको छ । योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले १० करोड इकाई सर्वसाधारणमा वैशाख ३ गतेदेखि ९ गतेसम्म सार्वजनिक निष्कासन गर्दा अधिक खरीद माग भएकाले निष्कासित इकाईमा २ करोड इकाई थप गरी १२ करोड इकाई वैशाख १९ गते बाँडफाँट गरेको थियो । बाँडफाँट भएको करिब २ महिनामा योजनाको इकाई दोस्रो बजारमा सूचीकृत भएको हो ।
यस योजना सञ्चालनपछिको पहिलो महिनाको वित्तीय विवरणसमेत सार्वजनिक भइसकेको छ । वैशाख मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९६ पैसा कायम छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्यसहित सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ८५ लाख ९९ हजार रुपैयाँभन्दा बढी छ ।