काठमाडौं । असारमा १२ ओटा बैंक तथा वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका छन् । उक्त अवधिमा दुई वाणिज्य बैंक र १० लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार शुरु गरेका हुन् ।
लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. २१ अर्ब ६७ करोडभन्दा बढी पुगेको छ ।
त्यस्तै साना किसान र आरएमडिसी लघुवित्त मर्ज भई असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी १ः०.८७ अनुपातमा मर्जमा गएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ३३ करोडभन्दा बढी पुगेको छ ।
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८ करोडभन्दा बढी पुगेको छ ।
विजय लघुवित्त र नयाँ सारथि लघुवित्त मर्ज भई विजय लघुवित्त वित्तीय संस्थाको नामबाट असार ३१ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्ज भएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ५० लाख पुगेको छ ।
त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी असार ३१ गतेदेखि आशा लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरेको छ । राष्ट्र उत्थान लघुवित्तको १०० कित्ता शेयर बराबर आशा लघुवित्तको १०० कित्ता शेयर प्रदान गर्ने गरी प्राप्ति भएको हो । प्राप्तिपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड १५ लाख पुगेको छ ।
त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्ज भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । यी दुई कम्पनी १ः०.७५ अनुपातमा मर्ज भएका हुन् । मर्जरपश्चात बनेको कम्पनीको चुक्ता पूँजी रू. १३ करोड ३१ लाख पुगेको छ ।
राष्ट्र बैंकले यी कम्पनीहरूलाई नै लक्षित गरी असारभित्र एकीकृत कारोबार गरे नियामकीय छूट दिने व्यवस्था गरेको थियो ।
आशा लघुवित्तबाहेक यी सबै कम्पनीको शेयर कारोबार रोक्का छ । कम्पनीहरूको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का हो ।
नेपाल धितोपत्र बोर्डले मर्जर र प्राप्ति प्रयोजनका लागि गरेको पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रयोजनका लागि मर्जरमा जाने सबै कम्पनी र प्राप्ति प्रयोजनका लागि प्राप्ति हुने कम्पनीको मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । सोही कारण आशा लघुवित्तको शेयर कारोबार भइरहेको छ ।