भदौ २८, काठमाडौं (अस) । ‘नेपालको संविधान, २०७२’ असोज ३ गते संविधानसभा भवन नयाँ बानेश्वरबाट घोषणा हुने भएको छ ।
संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले असोज ३ गते आइतबार साँझ ५ बजे बिशेष समारोहमा नयाँ संविधान घोषणा गर्ने गरि कार्यतालिका बनाएको बताएका छन् । राष्ट्रपति डा रामबरण यादवबाट जारी हुने संविधान संविधानसभा भवनबाटै घोषणा गरिने बताईएको छ । संविधान जारी गर्ने समारोहमा सहभागी हुनका लागि राष्ट्रपति डा रामवरण यादवलाई निमन्त्रणा दिईने सचिवालयले बताएको छ । सोमबार साँझ नै निमन्त्रणा दिने भनिए पनि मङ्गलबार मात्रै भेट्न जाने कार्यक्रम तय भएको छ ।
आइतबारबाट संविधानसभामा शुरु भएको बिधेयक माथिको मतदान प्रक्रिया सोमबार पनि जारी रहेको छ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यबाट प्राप्त संशोधनलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत भई पारित भएर विधेयकको अङ्ग बन्ने प्रक्रिया अझै केहि दिन जारी रहने छ । संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ ।
यस्तै, सोमबार संविधानसभाबाट बिधेयकमा परेका संशोधन प्रस्ताव सहितका ५७ धारा बहुमत सहित पारीत भएका छन् । सोमबारसम्ममा संविधानको भाग ४ सम्मको ५५ ओटा धारा र भाग ५ को दुई धारा गरि जम्मा ५७ धारा पारित भएका छन् । राज्यको संरचना र राज्य शक्तिको बाँडफाट सम्बन्धी व्यवस्था गरिएको धारा ५६ र ५७ पारित गरेपछि बैठक स्थगित गरिएको हो । संविधानसभाको बैठक मङ्गलबार विहान १० बजे बस्नेछ । संविधानका बाँकी धाराहरुमा मङ्गलबारको बैठकमा मतदान गर्दै टुङ्ग्याउने कार्यतालिका रहेको संविधानसभा सचिवालयले बताएको छ ।