नेपालमा सहकारी औद्योगिक विकासको आधार भएको नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. युवराज खतिवडाले बताएका छन् । मुलुकले तीनखम्बे अर्थनीति अङ्गीकार गरिसकेको अवस्थामा सहकारीको भूमिका अपरिहार्य हुने उनको भनाइ थियो । आइतवार राजधानीमा आयोजित ‘स्वाधीन अर्थतन्त्रका लागि सहकारी’ विषयक विचार गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै खतिवडाले यस्तो बताएका हुन् ।
‘सरकार र निजीक्षेत्र दुवैले विकासको गतिलाई अपेक्षित रूपमा अघि बढाउन नसकेको अवस्थामा सहकारी भरपर्दो विकल्पका रूपमा अघि आएको छ,’ उनले भने, ‘सरकार र निजीक्षेत्रले समेट्न नसकेको क्षेत्रलाई अब सहकारीले समेट्नुपर्छ ।’ सरकार (राज्य) का विभिन्न किसिमका बाधा अड्चन हुने र निजीक्षेत्र ‘नाफामुखी’ भएकाले आर्थिक विकासका सबै पाटा समेट्न नसकिएकाले त्यो रिक्त स्थान सहकारीद्वारा पूरा हुनुपर्ने उनको भनाइ थियो ।
पछिल्लो समयमा यदाकदा सहकारी र निजीक्षेत्र प्रतिस्पर्धी देखिए पनि ती दुवै आपसमा पूरक भएको उनले बताए । उनले भने, ‘सहकारीले सरकार र निजीक्षेत्रबीच सेतुका रूपमा काम गर्नुपर्छ ।’ अर्थतन्त्रमा पूँजी र प्रविधिमा आधारित ठूलो लगानी व्यवसाय सञ्चालनको अभिभारा निजीक्षेत्रले लिने अपेक्षा गरिए पनि स्थानीय श्रम र शीपमा आधारित सेवा/व्यवसायमा सहकारीको महत्त्वपूर्ण भूमिका रहने उनले बताए । ‘सहकारी पनि सेवा व्यवसायको प्रवर्द्धन गर्ने कार्यमा सहयोगीका रूपमा खडा हुन सक्छ,’ कार्यपत्रमा भनिएको छ ।
वर्ष ८, अंक १९४, सोमवार १८ चैत, २०६९