सम्पत्ति शुद्धीकरणका प्रचलित तरीकामध्ये बहद् राशीमा हुने नगदको अन्तरदेशीय स्थानान्तरण पनि हो । विशेष गरी कमजोर कानूनी एवं प्रशासनिक संरचनाका कारण अवैध रूपमा नगद संकलन गर्न सहज मानिने मुलुकहरूबाट यस प्रकारका अपराधमा संलग्नहरूले ठूलो मात्रामा नगद स्थानान्तरण गर्ने गरेका छन् । यस्तो मुलुकमा विद्यमान हुने कमजोर संरचनाका अतिरिक्त व्यापक मात्रामा कायम हुने भ्रष्टाचार समेतलाई आधार मानेर कथं कानून कार्यान्वयन गर्ने निकायले पहिचान गरिहालेमा पनि ‘अन्य’ उपायद्वारा छुटकारा पाउन सकिने ‘विश्वास’ का आधारमा यस्तो गतिविधि हुने गर्छ । वित्तीय कारबाही कार्यदलले भरखरै मात्र खैरो सूचीमा राखेको नेपालमा केही दिन अघि यस्तै गरी बृहद् राशीमा छिमेकी मुलुकतर्फ स्थानान्तरण हुन लागेको विदेशी मुद्रा फेला परेपछि माथि उल्लेख गरिएका विषयमा भएको नेपालको कमजोरीलाई वित्तीय एवं अन्य अपराधीले कुन हदसम्म दुरूपयोग गर्ने गरेका रहेछन् भन्ने कुरा फेरि एकपटक उदांगो भएको छ ।
यो घटनाले कार्यदलको खैरो सूचीलाई समेत प्रकारान्तरले अनुमोदन गरेको देखिएकाले त्यसबाट उम्किन नेपालले यो घटनाको प्रभावकारी रूपमा समूल अनुसन्धान र कारबाही गर्ने क्षमता देखाउनु अपरिहार्य देखिन्छ । यसलाई केवल नक्कली मुद्रालाई सक्कलीजस्तो बनाउने ‘वास वास’ ठगीका रूपमा मात्र लिएर त्यसैअनुसार मात्र अनुसन्धान हुने हो भने पर्दा पछाडि हुने तस्करीजस्ता अवैध क्रियाकलाप सहजै आवरणभित्र ढाकिने जोखिम रहन्छ । विगतमा जस्तै जसले यो मुद्रा भएको गाडी चलाएको छ, ऊ नै मात्र अपराधीजस्तो गरी उसको पछाडिको वास्तविक अपराधी पत्ता लगाइएन र यस्ता घटनालाई सतहमा मात्र हेरियो भने त्यसले मुलुकमाथि दीर्घकालीन गम्भीर दुष्प्रभाव छोड्ने निश्चित छ ।
यसरी ठूलो राशीको विदेशी मुद्रा समातिएपछि त्यो मुद्राको स्रोत के होला भन्ने बारेमा पनि विभिन्न अड्कलबाजीहरू शुरू भएका छन् । सम्भाव्य स्रोतको बारेमा चर्चा गर्नु पहिला नेपालीहरूले विदेशी मुद्रा नगदमा प्राप्त गर्ने औपचारिक/अनौपचारिक माध्यमहरू हेरौं ।
कुनै पनि व्यक्ति विदेश जानु परेको खण्डमा पासपोर्ट र कन्फर्म टिकटको आधारमा बढीमा २५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा उसले नगदमा प्राप्त गर्न सक्छ । विदेशी मुद्रामा नै खाता भएको व्यक्तिले भने त्योभन्दा केही बढी नगद प्राप्त गर्न सक्ने व्यवस्था छ । तर, यसरी सटही भएका विदेशी मुद्रा विदेश नपुगी नेपालमा नै रहेर यो परिमाणमा एकत्रित हुने सम्भावना अत्यन्त न्यून छ ।
- जसले यो मुद्रा भएको गाडी चलाएको छ, ऊ नै मात्र अपराधीजस्तो गरी सतहमा मात्र हेरियो भने दीर्घकालीन गम्भीर दुष्प्रभाव पर्नेछ ।
- जुन परिमाणमा तस्करी मुद्रा फेला परेको छ, त्यो औपचारिक तथा अन्य खुद्रे अनौपचारिक माध्यमबाट संकलन भएको मान्न सकिँदैन ।
- अन्तरदेशीय अपराधजन्य आयको रूपमा त्यो अवैध रकम संकलित भएको हुन सक्छ ।
- राजस्व एवं कर छलीका लागि औपचारिक बिलबीजकमा कम वा बढी जनाई बाँकी रकम नगदमा कारोबार गरी त्यसलाई ‘हुन्डी’ जस्ता माध्यमबाट स्थानान्तरण गर्न यस्तो रकम संकलन भएको हुन सक्छ ।
- अवैध विदेशी मुद्रा संकलन हुने अपराधको कारण पहिचान गरी त्यसलाई समूल नियन्त्रण नगरून्जेल यस्ता गतिविधि रोकिने सम्भावना रहँदैन ।
- बारम्बार एउटै व्यक्ति एकै प्रकारको घटनामा संलग्न भएको पाइनुले विगतमा रोगको उचित निदान भएर उपचार भएको मान्न सकिँदैन ।
- विदेशी मुद्राको तस्करीले देशको औपचारिक अर्थतन्त्रमा गम्भीर धक्का पुग्छ, अनौपचारिक अर्थतन्त्रको दबदबा हुन्छ र राज्यको आयमा ह्रास आउँछ ।
यसका अतिरिक्त विदेश गएर फर्केका व्यक्तिहरूका हातमा समेत केही विदेशी मुद्रा हुन सक्छ । विदेशी कूटनीतिज्ञहरूले निश्चित सीमासम्म नगदमै विदेशी मुद्रा बैंकबाट प्राप्त गर्न सक्छन् । भाडामा बसेको घरको भाडा तिर्ने प्रयोजनका लागि तथा अन्य खरिददारीमा समेत उनीहरूले आफूले प्राप्त गरेको विदेशी मुद्राको प्रयोग गर्न सक्छन् । कुनै विदेशीलाई आफूनो कलाकृति, बहुमूल्य सांस्कृतिक तथा पुरातात्त्िवक वस्तुहरू विक्री गर्नेहरूले पनि विदेशीहरूबाट विदेशी मुद्रा प्राप्त गर्न सक्छन् ।
यसरी प्राप्त हुने नगद विदेशी मुद्राको सटही औपचारिक माध्यमबाट त्यति सहज नहुने हुनाले त्यस्ता रकम भने विभिन्न माध्यमबाट तस्करहरूको हातसम्म पुग्ने सम्भावना रहन्छ । तर, जुन परिमाणमा यस्तो मुद्रा फेला परेको छ, त्यसबाट यसरी खुद्रा रूपमा नेपालीहरूले हात पारेको विदेशी मुद्रा औपचारिक तथा अन्य खुद्रे अनौपचारिक माध्यमबाट संकलन भएको मान्न सकिँदैन । त्यसो भए यस्तो मुद्रा संकलन कहाँबाट कसरी भयो होला भन्ने स्वाभाविक प्रश्न खडा हुन्छ । अब यसका केही सम्भाव्य स्रोतहरूका बारेमा चर्चा गरौं ।
अवैध हातहतियारदेखि लागूपदार्थ समेतको कारोबारमा नेपाललाई मार्ग बनाइने गरेको कुरा धेरै घटनाक्रमहरूले पुष्टि गरिसकेका छन् । खुला सिमाना र फितलो नियन्त्रण प्रणालीको कारण गतिविधिहरूका लागि नेपाल ‘उर्वर’ भूमि नै रहिआएको छ । शायद यस्तै प्रकृतिका अन्तरदेशीय अपराधजन्य आयको रूपमा त्यो अवैध रकम संकलित भएको हुन सक्छ र अन्तरदेशीय अपराधीहरूले अपराधजन्य अवैध रकमलाई खुला सिमानाबाट नेपाल प्रवेश गराई पुन: अर्को मुलुकतर्फ स्थानान्तरण गर्न कानूनी, प्रशासनिक एवं अन्य सहजताका कारण नेपालको भूमि तथा नेपालीहरूलाई दुरुपयोग गरेको हुन सक्छ । नगद विदेशी मुद्रा चीनतर्फ लैजान लागिएको भन्ने प्रारम्भिक सूचनाले यो सम्भावनालाई बलियो बनाएको छ ।
अर्को सम्भावना अन्तरराष्ट्रिय व्यापारको माध्यमबाट हुने द्रव्य–शोधनमा पनि यस्तो विदेशी मुद्राको प्रयोग भएको हुन सक्छ । अन्तरराष्ट्रिय व्यापारमा वैधानिक मार्गबाट कम वा अधिक रकमको कारोबार देखाई वास्तविक कारोबारको रकम अवैध रूपमा अनौपचारिक माध्यमबाट भुक्तानी हुने र त्यसरी भुक्तानी भएको रकम स्थलमार्ग हुँदै सम्बद्ध देशमा स्थानान्तरण गर्ने कुरा द्रव्य–शोधनमा संलग्न हुने वित्तीय अपराधीहरूले उपयोग गरिआएकै उपायहरू हुन् । यदि यसो भएको हो भने त्यसलाई पहिचान गरी नियन्त्रण गर्नु प्रहरीलगायत अन्य कानून कार्यान्वयन गर्ने निकायहरूका लागि थप चुनौतीपूर्ण देखिन्छ ।
यसका अतिरिक्त अन्तरराष्ट्रिय रूपमा हुने व्यापार व्यवसायको कमिसन, अन्तरसरकारी कारोबारमा संलग्न उच्च–पदस्थहरूको कमिशनजस्ता अवैध आयहरू औपचारिक माध्यमबाट हुन नसक्ने कारोबारलाई नेपालमा नगदमा नै विदेशी मुद्रामा भुक्तानी गरेका कारण पनि यस्ता मुद्रा संकलित भएका हुन सक्छन् । साथै राजस्व एवं कर छली प्रयोजनका लागि औपचारिक बिलबीजकमा कम वा बढी जनाई बाँकी रकम नगदमा कारोबार भएर त्यसलाई पछि ‘हुन्डी’जस्ता माध्यमबाट स्थानान्तरण गर्ने प्रयोजनमा समेत यसरी नगद विदेशी मुद्राको संकलन भएको हुन सक्छ । यो पक्षलाई पनि ध्यानमा राखेर निगरानी नगर्ने यो भने भविष्यमा पनि यस्ता गतिविधि निर्बाध चलिरहने जोखिम रहन्छ ।
त्यसका अतिरिक्त विदेशीहरूले सञ्चालन गरिरेहेका कतिपय रेस्टुराँ, खुद्रा पसल मात्र होइन निर्माण कम्पनीसमेतका सम्पूर्ण वित्तीय कारोबारहरूलाई सूक्ष्म ढंगले अनुगमन गर्ने हो भने पनि यस्ता अवैध रकमको स्रोत पहिचान हुन सक्छ । त्यतातिर पनि सम्बद्ध निकायले ध्यान पुर्याउनु जरुरी देखिन्छ ।
नगद विदेशी मुद्राको तस्करी गर्नेहरूले औपचारिक रूपमा बैंकहरूले प्रदान गर्नेभन्दा बढी विनिमय दरमा विदेशी मुद्रा किनेर नगद संकलन गर्ने गर्छन् । यसको लागि मुद्रा विनिमय गर्ने स्थानीय कम्पनीहरू (मनि एक्सचेन्ज) हरूको पनि दुरुपयोग भएको हुन सक्छ । यसले एकातिर विदेशी मुद्राको औपचारिक प्रणालीमा हुने आगमनलाई घटाएको छ भने अर्कोतिर तस्करीका लागि मार्ग प्रशस्तसमेत गरेकाले यस दिशामा सम्बद्ध नियामकहरूले अझ प्रभावकारी ढंगले निगरानी राख्नुपर्ने देखिन्छ ।
यो घटनाले एकातिर अनौपचारिक रूपमा देशको अर्थ एवं वित्तीय प्रणाली बाहिर कुन तहसम्मको कारोबार हुँदो रहेछ भन्ने दर्शाएको छ भने अर्कोतिर सीमापार हुने अन्तरदेशीय तस्करीको चक्रब्यूहमा मुलुक जेलिएको पनि स्पष्ट रूपमा संकेत गरेको छ । त्यति परिमाणमा रकम जम्मा हुनका लागि लाग्ने समय समेतलाई ध्यान दिंदा नेपालमा यस प्रकारका अवैध क्रियाकलापहरू लामो समयदेखि निरन्तर निर्बाध ढंगले सञ्चालन भइरहेको अनुमान गर्न सकिन्छ ।
यसरी सतहमा अवैध विदेशी मुद्रा समातिनु र त्यो बोकेर हिड्ने ‘अपराधी’ लाई कानूनी कारबाही गरे पछि सरकारी दायित्व समाप्त भएजस्तो देखिए पनि वास्तवमा यसरी ठाउँ ठाउँमा अवैध मुद्रा फेला पर्नुको सम्बन्ध केवल अवैध विदेशी मुद्रासम्म मात्र सिमित हुँदैन । एक किसिमले भन्ने हो भने यो अन्य गम्भीर रोगको कारण कुनै व्यक्तिलाई ज्वरो आएको जस्तै हो । जसरी ज्वरोले अन्य रोगको संकेत गर्दछ र त्यसको उपचार नभई ज्वरो निको हुँदैन, ठीक त्यसै गरी यस्ता अवैध विदेशी मुद्रा संकलन हुने अपराधको कारण पहिचान गरी तिनलाई समूल नियन्त्रण नगरुन्जेल यस्ता गतिविधिहरू रोकिने सम्भावना रहन्न । जसरी ज्वरोको मात्रा र नियन्त्रणका लागि हुने प्रयासको अ/सफलताले रोगको गाम्भीर्य अनुमान गर्न सकिन्छ, ठीक त्यसै गरी बारम्बार एउटै व्यक्ति एकै प्रकारको घटनामा संलग्न भएको पाइनुले विगतमा रोगको उचित निदान भएर उपचार भएको मान्न सकिँदैन । अब भने उचित निदानसहित पूर्ण उपचारका लागि सुराकीसमेतलाई उपयोग गरी अपराधको स्रोतसम्म पुग्नु जरुरी छ ।
होइन, यस्ता गतिविधि निर्बाध ढंगले सञ्चालन भइरहने हो भने देशको औपचारिक अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने, अनौपचारिक अर्थतन्त्रको दबदबा हुने, त्यसले राज्यको आयमा ह्रास आई राज्यको शक्तिमाथि नै आघात पुग्ने र अन्ततोगत्वा समग्र राज्यप्रणाली नै कमजोर भई असफल हुन सक्ने जोखिम रहने हुनाले पनि यस्ता संवेदनशील विषयमा सम्बद्ध सबै पक्षको उच्चतम गम्भीरता अपेक्षित रहन्छ ।
केही वर्ष पहिला रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकजस्ता चीनका सिमाना जोडिएका जिल्लामा बसोवास गर्ने तुलनात्मक रूपमा अशिक्षित महिलाहरूका नाममा कम्पनी दर्ता गरी तिनको स्वामित्व वा वास्तविक धनीको रूपमा आफू रही अवैध कारोबारमा संलग्न भएका कतिपय चिनियाँ नागरिक समातिएका थिए । अहिलेको घटनामा पनि त्यसैअनुसार नेपालीहरूलाई प्रलोभनमा पारी तस्करी एवं वित्तीय अपराधमा परिचालन गरिएको हुन सक्छ । विदेशी मुद्रादेखि लिएर सुनसम्मको तस्करीमा वास्तविक धनीको पहिचान हुन नसकेको घटनाले कानून कार्यान्वयन गर्ने निकायको सक्षमतामाथि मात्र प्रश्न उठ्दा त्यो विषय जति गम्भीर हुन्छ, तिनको नियतमाथि पनि प्रश्न उठ्यो भने चाँहि त्यो देशको लागि नै दुर्भाग्य हुनेछ । आशा गरौं, अहिले यस्तो हुने छैन र कथं भइहाल्यो भने पनि यो उनीहरूको असक्षमतामा मात्र सीमित होस् ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।