काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ देखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत विक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर साउन ३० गते बाँडफाँट गरेको थियो । कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२ दशमलव ७२ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । सो शेयरका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), इटहरी (सुनसरी), इलाम, पृथ्वीचोक (कास्की), बुटवल (रूपन्देही), विराटनगर (मोरङ), वीरगन्ज (पर्सा), नारायणगढ (चितवन), सुर्खेत, नेपालगन्ज (बाँके), धनगढी (कैलाली) र जनकपुर (धनुषा) शाखा कार्यालयबाट बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।