विराटनगर । कोशी प्रदेशमा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।
बाढी पहिरोमा परी मृत्यु हुनेहरूमा धनकुटामा २, पाँचथरमा ३ र इलाममा १ जना छन् । बेपत्ता हुनेहरूमा झापामा ३, मोरङमा १ र पाँचथरमा ४ जना छन् ।
पहिरोमा पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी र एक स्थानमा एक पुरुषको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथरको फिदिम नगरपालिका–४, चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।
पाँचथरकै फिदिम नगरपालिका–१, साँगेबोटेमा पहिरो घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । पहिरोमा परी फिदिम नगरपालिका–१, कात्तिके घर भइ फुरुंगा हाइड्रोपावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको हो ।
घटनामा फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ वर्षीय धनकुमार तुम्बापो, २१ वर्षीया सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।
प्रहरीका अनुसार मृतक र बेपत्ता फुरुङ्गा हाइड्रोपावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरू स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए । बिहान करीब ५ बजे खसेको पहिरोले घरमा रहेको पशुचौपाया पनि पुरेको छ ।
यस्तै, धनकुटाको पाख्रीबास नगरपालिका–५ आज (शनिवार) बिहान करीब ३ बजे खसेको पहिरोले घर पुरिँदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको छ ।
उनीहरू आमाछोरी रहेको प्रहरीले बताएको छ । इलामको माई नगरपालिकका मैत्तबहादुर लिम्बुलाई माई खोलाले बगाएर घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तकोशी पुलमा गाडियो रातो झण्डा, पुलबाट आवतजावत बन्द
सप्तकोशी नदीको वहाव ५ लाख क्यूसेक नाघेपछि खतरासूचक रातो झण्डा गाडिएको छ भने पुलबाट आवतजावत पूर्णरूपमा बन्द गरिएको छ । कोशीनदीको बीचमा रहेको टप्पुमा फसेका २७ जनाको उद्धारको प्रयास भइरहेको छ ।
कोशीको पानीको वहाव ५ लाख २१ हजार ४ सय ५५ क्युसेक नाघिसकेको छ । सबै ५६ ढोका खोलिएको छ । जल संसाधन विभाग, पटनाले ब्यारेजमा पानीको मापन ७ लाख क्युसेक आसपास पुग्ने अनुमान गरेको छ ।
हालसम्म सुनसरीको तटीय क्षेत्रमा अहिलेसम्म कुनै क्षति नपुगेको प्रशासनले जनाएको छ ।
टापुमा फसेका २७ जनाको उद्धारमा समस्या
बिचडिग्री टापुमा फसेका २७ जना गोठालाको उद्धारमा समस्या भएको छ । खराब मौसमले हेलिकप्टर आउन सकेको छैन । सुरक्षाकर्मीको टोली उद्धारमा जान सकिरहेको छैन ।
मुख्यमन्त्री हिक्मत कार्कीले कोशीको बाढीको निरीक्षण गरेका छन् । बाढी र पहिरोमा परी जोखिममा रहेकालाई तत्काल उद्धार गरिने र त्यसका लागि उद्धारकर्मीहरू तयार रहेको जानकारी दिँदै उनले मौसम प्रतिकूल रहेको कारण उद्धारमा केही कठिनाइ भइरहेको बताएका छन् ।