काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
बाढीपीडित किसानको गुनासो– स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उहाँ बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् ।
'अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको रु ३५ हजारसम्म खर्च भएको थियो,' उनले भने ।
केही दिनअघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उहाँ मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक छन् उमेश माझी । 'घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो,' उनले भने ।
त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरू अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ । यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कबिरले बताए । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उनले बताए ।
यस्तै भारदह गाउँका अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुशहरू राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् । धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडाध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, बिभिन्न झारपातले भरिएको छ ।
कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतिमा क्षति गरेको छ । त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौँ बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरूमा आएको बाढी पसेको हो ।
ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता
गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुन:स्थापनाका लागि काम गरिरहेका छन् । तर उनीहरूमा जति बाढीका कारण पाएको दु:ख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी शुरू हुने हो कि भन्ने चिन्ता पनि छ ।
बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरूको चिन्ता छ ।
ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नं ४ का मिलन यसमाइली मगरले बताए । उनले भने, ँऔषधि छर्केदेखि दुर्गन्ध अहिले कम भएको छ, तर पूर्ण रुपमा हटिसकेको छैन । यस्तै दुर्गन्ध रहिरह्यो भने महामारी फैलिन्छ कि भन्ने त्रास छ ।'
नगरप्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नं १३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, ँविद्युत् अवरुद्ध भएको सबै ठाउँमा विद्युत् सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ । बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ । हामी व्यवस्थापनमा जुटेका छौँ ।'
हावा चलेको समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नं २५ खोलामा बस्दै आएकी रेणुको लिम्बूले बताए । उनले भने, ँदुर्गन्ध निकै छ । बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ । गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ ।'
बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण
एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ । पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरूको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई रु दुई लाखका दरले राहत रकम वितरण गरिएको हो । सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
'राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ,' उनले भने । त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिए । कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उनको भनाइ छ ।
त्यस्तै, खोलाले बगाएर ज्यान गुमाउनु भएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई रु दुई लाख ५० हजार राहत रकम घरमा पुगेर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले मृतकको परिवारलाई राहत रकम उपलब्ध गराउनुभएको हो । सङ्घीय सरकारबाट प्राप्त रु दुई लाख र प्रदेश सरकारबाट रु ५० हजार राहत रकम मृतककी छोरीलाई हस्तान्तरण गरिएको प्रजिअ दाहालले जानकारी दिए । यही असोज १२ गते बुङकोट स्वास्थ्यचौकीमा उपचार गरेर घर फर्कने क्रममा गाउँपालिका–६ र ७ को सिमानामा पर्ने सुकौरा खोलाले बगाएर श्रेष्ठको मृत्यु भएको थियो ।
सिस्नेरी पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ । सरकारका तर्फबाट जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पहिरोमा परी मृत्यु भएका मकवानपुरको हेटौँडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योञ्जन र सिस्नेरीका दिवस बानियाँका परिवारलाई राहतस्वरुप रु दुई/दुई लाखको चेक हस्तान्तरण गरे । मृतक अनुपमका बुबा ललितबहादुर घलान, साइमनका बुबा हेमबहादुर योञ्जन र बानियाँका बुबा दीपक बानियाँलाई घरमा पुगेर चेक हस्तान्तरण गरिएको प्रजिअ चिलुवालले जानकारी दिए । यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले मकवानपुरको सिस्नेरीस्थित टेकरमा पहिरोमा खस्दा असोज १२ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) क्याम्पमा प्रशिक्षण लिने र होस्टेलमा बसेर अध्ययन गर्दै आएका छजना विद्यार्थीको मृत्यु भएको थियो ।
‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’पीडित
बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले सबै सामान बगाएपछि लामाले असोज १३ गतेदेखि बस्नका लागि कोठा खोजेका हुन ।
गहभरि आँसु, ओठमा रोधन थरथर काँपेको शरीर । 'न बस्ने ठेगान छ, न खानेकुरा र पैसा नै । ज्यान बाँचे पनि बस्ने र खाने व्यवस्था नहुँदा सास्ती भएको छ । एकपट्टि चुँडिएको चप्पलमा पनौती र खोपासीको बजार कोठा खोजे पनि पाइएन,' मगरले सुनाए । घरबार, पसल, उद्योग र नगद सबै बाढीले बगाएपछि आफन्तले किएको एकजोर कपडा र चप्पलमा बसिरहेको मदनले बताए । उद्धारपछि बाढीपहिरो पीडितको व्यवस्थापन र अवस्थाका विषयमा ‘रिपोर्टिङ’ गर्न शुक्रबार सलान्दुबगरमा पुगेको सञ्चारकर्मीलाई बगाएको घरको अवशेष देखाउँदै उनले भने, 'ज्यानबाहेक मसँग केही छैन, सबै बगाएपछि पनौतीमा कोठा खोजेर आमा र छोराछोरीलाई राखेको छु । खानेकुरा र लाउने लुगासमेत छैन ।' बाढी आएको रातिदेखि दुई दिनसम्म भिजेको लुगा लगाएर बसेको भन्दै मदनले आफन्तले दिएको कपडाले धेरै राहत महसुस भएको बताए । लगाएर आङ छोपेर राहत लिन उभिएको बताए । 'स्थानीय सरकार र राज्यले बढी समस्यामा भएकालाई प्राथमिकतामा राखेर राहत तथा पुन:स्थापनमा गर्नुपर्छ । वृद्धा आमा र बालबच्चासहित कोठामा बसे पनि खानाको व्यवस्था नहुँदा समस्या भएको छ,' उनले भने ।
दशैंका लागि टेलर्समा सिलाइका कपडा, कस्मेटिक पसलमा सामान हालिसकेको बताउँदै मदनले फर्निचर उद्योगमा माग अनुसार सामान बनाएर गोदाम राखेकामा सबै बगाएको जानकारी दिए । घर, बारी जग्गाजमिन पसल र फर्निचर उद्योग गरी करिब दुई करोडमाथिको क्षति भएको उनले बताए ।
सोही ठाउँकी कान्छी बोमजनले घरको दायाँबायाँ पहिरोले लगेपछि रातभरि नजिकैको जङ्गलमा रूखमुनि बसेको सुनाइन् । केही दिनदेखि पनौतीमा कोठा लिएर बस्दै आएका उहाँ राहतको पर्खाइमा छन् । सरकारले पीडितको अवस्था, प्रथमिकता र आवश्यकताका आधारमा राहत उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
सोही ठाउँका विनोद सिङ्तानले घरबार सबै बगाएपछि आफूहरू बिचल्लीमा परेको बताए । भएको घरबार, कुखुरापालन व्यवसाय, खाद्यान्न, लत्ताकपडा र नागरिकता, लालपुर्जालगायत सबै कागजात बगाएको उनले बताए । पुरेको घरभित्र हिलोमाटो लतपतिएको लत्ताकपडा निकाल्दै खोल्साको पानीमा पखाल्दै गरेकी सरस्वती लामाले बस्ने घर, खाने अन्नपात नभएको भन्दै पीडितलाई पुन:स्थापनाका लागि स्थानीय सरकारले तत्काल पहल थाल्नुपर्ने बताए ।
बाढीले पुरिएको घरभित्रका सामान निकाल्दै बचेको सामान सार्नमा व्यस्त खहरे खोलाका सुरेन्द्र वाइबाले विपद्मा परेका नागरिकलाई चाँडो राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरे । सरकारले यस्तो बेलामा प्राथमिकता र आवश्यकता हेरेर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
सलान्दुबगरका लिलाबहादुर लामाको परिवार अहिले खोपासीमा कोठा लिएर बस्दै आएका छ । सोही ठाउँका कृष्णकुमार लामाले भएभरको सबै बगाएको बताउँदै सरकारले पीडितलाई तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए । 'बस्ने घर, जग्गाजमिन सबै बाढीले बगायो । ज्यालामजदुरीको काम पाए पनि खानाको व्यवस्था हुने थियो,' उनले भने । बेथानचोक–४ पाटीखर्कका विद्या खड्काको पक्की तीनओटा घर बाढीले बगाएर बिचल्ली भएपछि अहिले खोपासीमा कोठा लिएर बस्दै आएका छ । सलान्दुबगरमा मात्रै करिब २० घर पूर्ण रूपमा क्षति भएका छन् । खहरेखोला, सलान्दुबगर, पाटीखर्क र चलालगणेशस्थानका नागरिकले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै सरकारले प्राथमिकता हेरेर राहत रपलब्ध गर्नुपर्ने बताए ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन पहल भइरहेको बताए । विशेषगरी अहिले प्राथमिकताका आधारमा उद्धार, राहत र पुन:स्थापनाका लागि योजनाबद्ध काम भइरहेको उनले जानकारी दिए । पालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकामा सडक, विद्युत् र सञ्चारको सेवाबाट वञ्चित रहेकालाई पहिलो प्राथमिकता राखी ती सेवा सञ्चालनका लागि मर्मतसम्भारको काम थालिएको बताए । 'हाम्रो क्षमताले मात्रै यहाँका नागरिकको समस्याको सम्बोधन गर्न नसकिने अवस्था रहेकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अगाडि बढ्नुको विकल्प छैन,' उनले भने ।
कमला नहर सिँचाइ आयोजनामा क्षति
केही दिनअघि आएको बाढीले कमला नहर सिँचाइ आयोजनामा करिब रु सात करोड ५० लाख बराबरको भौतिक क्षति पुर्याएको कमला नहर सिँचाइ आयोजना कार्यालले जनाएको छ । नहर, ‘साइफन’ तथा सिँचाइको प्रमुख केन्द्रमा बालुवा पसेर क्षति पुर्याएको हो । आयोजना प्रमुख वीरेन्द्र यादवका अनुसार नहरको पूर्वी क्षेत्रको प्रणाली सिरहा, पश्चिमी क्षेत्रको प्रणाली तथा हर्दिनाथ सिँचाइ प्रणाली गरी रु साढे सात करोडबढीको भौतिक क्षति भएको प्रारम्भिक तथ्यांक सङ्कलन गरिएको छ ।
सिरहा र धनुषाको गरी कुल २७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइरहेको सो आयोजनाको क्षमता थप भई पछिल्लो समय ३८ हजार हेक्टर पुगेको थियो । अविरल वर्षासँगै आएको बाढीबाट क्षतिग्रस्त हुँदा सिँचाइमा समस्या भएको प्रमुख यादवले बताए । कमला नहरसहित नहरसम्म पुग्ने ग्राभेल बाटोमा क्षति हुनुका साथै भौतिक संरचना नष्ट भएका अयोजना कार्यालयका सबइञ्जिनियर सुभाष यादवले बताए । ती संरचना पुन:निर्माण गर्न आर्थिक अभाव भएकाले सरोकार भएका निकायले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
कर्जनहा नगरपालिकाका ममता यादवले यसअघि कमला नहर यहाँका किसानका लागि वरदान जस्तै बनेको बताए । यथाशीघ्र पुन:निर्माण गरी किसानलाई सहज रूपमा सिँचाइको सुविधा पुर्याउनुपर्नेमा उनले जोड दिए । आयोजनाले धनुषाका चारनाथ, सबैला, सहिद, विदेह, कमला, हंसपुर नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका साथै सिरहातर्फ कर्जन्हा, मिर्चेया, कल्यानपुर, सिरहा र सुखिपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिकामा सिँचाइ सुविधा पुर्याएको छ । विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले उक्त आयोजना शिलान्यास गर्नुभएको थियो । आयोजनाले विसं २०४० देखि सिँचाइ सुविधा पुर्याउन थालेको हो । राससको सहयोगमा