काठमाडौं । जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप बढी कारबाही पर्ने गरेका छन् । शुक्रबार बिहान जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायत गाउँपालिकाका विभिन्न बस्तीबाट छतमा यात्रु राखेर ओसारपसार गर्ने पाँचओटा बोलेरो जिप जरिवानासहित कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति नभएका सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढङ्गले सवारी चलाउने गरेको पाइएकाले पछिल्लो दुई दिनमा ३२ ओटा सवारी कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रयोजन विपरीत सञ्चालित तीनओटा, छतमा राखेर यात्रु बोक्ने १४, सवारीसाधनको अवस्था ठीक नभएको पाँचसहित ३२ ओटा सवारीसाधन कारबाहीमा परेका हुन् । सडक सञ्जाल सहज नभएका ग्रामीण बस्तीहरूबाट बोलेरो जिपले सर्वसाधारणलाई सदरमुकाम धादिङबेँसी ल्याउने–लाने गर्छन् । सडक सञ्जाल पुगे पनि जिल्लाको अधिकांश भागमा यात्रुवाहक बस सञ्चालन हुने सडक नभएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
अनुमति नभएका बोलेरो जिपहरूले मनोमानी ढङ्गबाट भाडा असुलेको गुनासो आएपछि ट्राफिक प्रहरीले सवारीसाधनको चेकजाँचलाई कडाइ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । बर्सातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठूला यात्रुवाहक बस पुग्नसक्ने अवस्था छैन । बोलेरो जिपहरू चल्ने सडकमा ठाउँठाउँमा सादा पोसाकका प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । विभिन्न बहानामा यात्रु ठगिनबाट जोगाउन सदरमुकाम धादिङबेँसीको पुछारबजारमा यात्रु सहायताकक्ष समेत स्थापना गरिएको छ ।
प्रहरी प्रमुख आफै निरीक्षणमा
विभिन्न बहाना बनाएर यात्रुसँग बढी भाडा उठाउने सवारीलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र प्रहरी उपरीक्षक दीपेन्द्र शाहीसहित सुरक्षा निकायको टोली निरीक्षणमा खटिएको छ । अप्ठ्यारो सडक, जामको पीडालगायत विभिन्न बहानामा राजमार्ग क्षेत्रमा यात्रुसँग बढी भाडा असुल्ने गरेको गुनासो आएपछि त्यस्ता सवारीको आफैँले छड्के चेकजाँच गरी कारबाही गरिरहेको प्रहरी उपरीक्षक शाहीले बताए ।
प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार साँझ पृथ्वी राजमार्गमा छड्के चेकजाँच गरेको छ । केही दिनदेखि यो टोलीले राजमार्ग क्षेत्रमा रात्रिकालीन छड्के चेकजाँच गरिरहेको छ । यात्रुवाहक सवारीले खाजा खाना खुहाउने होटल र खाद्यान्न पसलहरूको समेत चेकजाँच गरिरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।
शुक्रबार साँझ यात्रु लिएर सल्ल्यानटारबाट धादिङबेँसी हुँदै काठमाडौँ आउजाउ गर्ने विद्युतीय माइक्रोबसले रु सात सयसम्म भाडा लिएको पाइएपछि कारबाही गरिएको उनले जानकारी दिए । काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बीच बाटोमा पुगेर यात्रुसँग भाडा थप गरेर लिने गरेको गुनासो यात्रुहरूले गरिरहेका छन् ।
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
एक सातादेखि पहिराले अवरुद्ध भएको तनहुँको बुद्धसिंह मार्गमा पहिरा पन्छाउन शुरू गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रूपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षासँगै पहिरा आउँदा विभिन्न ठाउँ अवरुद्ध भएको थियो अवरुद्ध सडक सञ्चालन गर्न पहिरा पन्छाउने काम शुरू गरिएको हो । हालसम्म व्यास नगरपालिका–१४ मास्दीघाटबाट बन्दीपुर गाउँपालिका–६ खहरेसम्मको पहिरा पन्छाइएको स्थानीय अगुवा सिद्धान्त थापा मगरले जानकारी दिए । बन्दीपुरस्थित नाल्दीघाटमा ठूलो पहिरा गएको र सानो जेसिभी भएकाले पहिरा पन्छाउन समस्या भएको उनले बताए । ँनाल्दीघाटबाट साराङघाटसम्म सडक खुलाउन बाँकी छ । ठूलो क्षमताको जेसिभी ल्याएर बाँकी खण्ड खुलाउने प्रयास गरिरहेका छौँ,' मगरले भने, ँयो विपद्को घडीमा स्थानीय सरकार र पूर्वाधार कार्यालयले संवेदनशील भई सहकार्य र समन्वय गर्नुपर्छ ।'
दशैंका बेला सडक अवरुद्ध हुँदा यहाँका जनताले सास्ती खेपेका छन् । ँठाउँठाउँमा गएको पहिराले हिँड्डुल गर्न समस्या भएको छ । कोही बिरामी भयो भने स्वास्थ्य संस्थासम्म लैजान सक्ने अवस्था छैन । दशैंका लागि किनमेल गर्न जाने सर्वसाधारणलाई सास्ती भएको छ,' उनले भने ।
गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात् बाटो अझ छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।
यातायात व्यवसायीहरूले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निकट गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको नजिक भएका विपद्जन्य घटनाले नेपालको यातायात क्षेत्र समस्यामा परेका बताएका हुन् ।
व्यवसायी सङ्घ/सङ्गठनले बाढी र पहिरोबाट निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै हराएकाको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन् । घाइतेको उपचार, उद्धार, राहत र पुन:स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यातायात सङ्घसंस्थाहरूले बाढीपहिराको घटनाले चाडपर्वको सम्मुखमा व्यवसायीको नियमित गतिविधिमा असर पुग्नाका साथै बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ सार्वजनिक सवारीसाधन र मजदुर अलपत्र परेको बताउँदै तत्काल अलपत्र सवारीसाधन तथा यात्री उद्धार गर्नुपर्ने व्यवसायीको माग छ । व्यवसायीहरूले दशैं अगावै समस्या समाधान गर्ने पहलकदमी लिनाका साथै यातायात व्यवसायी तथा मजदुरलाई तत्काल राहत पुग्ने किसिमको वित्तीय सहयोगको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षसमेत गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष श्रीप्रसाद मैनाली र गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
‘बाढीपहिरोबाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड’
नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले अतिवृष्टि तथा अनावृष्टि भई बाढीपहिरो जस्ता मनसुनजन्य विपद् हुनुको प्रमुख कारक चुरे पर्वतको विनाश रहेको बताउनुभएको छ ।
नेपाल भारत खुला सीमा संवाद समूह धनुषाद्वारा जनकपुरधाममा आयोजित ‘बाढ–विपद् आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएको यादवले प्रत्येक वर्ष आउने बाढी तथा पहिरोको प्रमुख करण चुरे पर्वत विनाश भएकाले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताए ।
'प्रत्येक वर्ष बाढी आउँछ, यस वर्ष अरु वर्षको तुलना बढी क्षति पुर्याएको छ,' संसदीय दलका नेता यादवले भने, ँअब सबै मिलेर खाली जमिनमा वृक्षारोपण गर्ने, चुरे पर्वतको संरक्षण गर्ने, अवैध बालुवा तथा गिट्टी उत्खनन रोक्नेलगायत काम गरेर बाढीपहिरो जस्ता विपद्बाट बच्न सक्छौँ । मनसुनजन्य विपद्का समस्या चुरेको विनाशले नै भएको हो ।'
पूर्वमन्त्रीसमते रहनुभएका नेता यादवले सङ्घीयतापछि भएको प्रदेशहरूको सीमाङ्कनमा कमी रहेको औँलयाउँदै प्रदेशको विभाजन गर्दा पहाड र तराईका जिल्ला समेटेर गर्नुपर्नेमा जोड दिए । आफू सङ्घीय सांसद रहेको बेला चुरे क्षेत्रको अनुगमन गरेको स्मरण गर्दै उनले भने, 'राजमार्ग छेउमा रहेका अधिकांश वनजङ्गल अतिक्रमण गरी बस्ती बसालिएका छन्, रूखबिरुवा कम हुँदै गएका छन्, यसले विनाश निम्ताइरहेको छ ।'
नेता यादवले चुरिया पर्वतमा हराभरा खेती भइरहेको भन्दै यस्ता अतिक्रमण तत्काल हटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नदीको प्राकृतिक स्वरुप बिग्रने गरी गरिएको अवैध उत्खननले चुरे क्षेत्रको क्षति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । नेता यादवले नेपाल भारत सीमा क्षेत्रको सुरक्षाका लागि दुवै देशका सरकार, सरोकार भएका निकाय, नागरिक समाज तथा अभियन्ताले सहकार्य र समन्वय गर्दै चुरे समस्याको समाधान गर्न नीतिगत रूपमा योजनाबद्ध काम गर्नुपर्न उल्लेख गरे ।
नेपाल भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले बाढीको समस्या र नेपाल भारतबीचको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालबाट बग्ने छ हजारभन्दा बढी नदीनाला उत्तर भारतसम्म पुग्ने गरेका र सुक्खायाममा गङ्गा नदीको जलप्रवाहमा ७० प्रतिशत योगदान नेपालका नदीनालाले दिने गरेको उक्त कार्यपत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष झाले चुरे दोहनका कारण पहाडमा अधिक वर्षा हुने गरेको भन्दै पानीको अत्यधिक चाप अनियन्त्रित भई बाढीपहिरो जस्ता विपद् आउने गरेका बताए । बर्खायामभन्दा पहिले बाढी नियन्त्रणका लागि संयुक्त रूपमा काम गर्न भारत सरकारसँग समन्वय गर्न उनले नेपाल सरकारलाई अनुरोध गरे ।
नागरिक समाजका अगुवा मुरली मनोहर मिश्राले प्राकृतिक स्रोतसाधनको अवैध दोहनका कारण यस्ता विपद् आउने गरेका बताए । उद्योग वाणिज्य सङ्घ जनकपुरधामका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले राजनीतिक दल एकजुट भई नदी दोहन, अव्यवस्ति बस्ती तथा सडक विस्तार रोक्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार श्यामसुन्दर शशि, जनकपुधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साह, शिक्षक सत्रुधन साह, सञ्जय सिंह, विनोद ठाकुर, सन्तोषलाल कर्ण, प्रा डा वीरेन्द्रलाल कर्ण, प्राध्यापक ईश्वरकान्त झालगायत व्यक्ताले बाढीपहिरोलगायत मनसुनजन्य विपद्बाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस