काठमाडौं । बाढीपहिरोका कारण बन्द उत्तरतर्फको रसुवागढी नाकाबाट द्विपक्षीय व्यापार पुन: सुचारू भए पनि चीनले थोरै तौल बोकेका गाडी मात्र प्रयोग गर्न दिएकाले सामान ढुवानीमा समस्या भएको व्यापारीले बताएका छन् ।
गत महीना आएको बाढीपहिरोले सीमापारि चिनियाँ भूभागमा सडक भत्काएपछि यो नाका बन्द भएको थियो । रसुवा भन्सार कार्यालयका अनुसार उक्त नाकाबाट मंगलवारदेखि सामान आउन थालेको छ ।
नेपालतर्फ लिपिङखोला र भोटेकोशीको पुल बगाएर बन्द भएको तातोपानी नाका सीमित वस्तु आयात–निर्यातका लागि आइतवारदेखि नियमित सञ्चालनमा आएको तातोपानी भन्सार कार्यालयले बताएको छ ।
रसुवा भन्सार कार्यालयका अनुसार चिनियाँ अधिकारीहरूले केरुङबाट सामान नेपालतर्फ ल्याउन सामानसहित १३ मेट्रिक टनसम्म तौल भएका मालवाहक गाडी मात्र एकतर्फी आउजाउ गर्न सक्ने सूचना सोमवार नेपाललाई पठाएको थियो । सोहीअनुसार सामान आउन थालेको छ ।
रसुवागढी–केरुङ नाकाबाट अहिले थोरै परिणाममा नयाँ साना गाडीसहित तिहारलक्षित सामान आउन लागेको रसुवाका भन्सार अधिकृत रवीन्द्र प्याकुरेलले जानकारी दिए । ‘केरुङबाट सामान लोड गरेका कन्टेनर तथा साना गाडी कम्तीमा ५० ओटाओटा आउनेछन्,’ उनले भने ।
प्याकुरेलका अनुसार कन्टेनरहरू बिहान ८ बजेदेखि ११ बजेसम्म केरुङबाट रसुवा आउने र यताबाट बेलुकी ४ बजेपछि केरुङ जाने तालिका बनाइएको छ । बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म चिनियाँहरूले क्षतिग्रस्त सडक बनाउने समय निर्धारण गरेका छन् । चिनियाँ पक्षले तौल तोकेका कारण धेरै सामान नेपालमा ल्याउन व्यवसायीलाई आपत परेको छ । व्यवसायीका अनुसार केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेको व्यापारिक वस्तु हजारौं टन छन् । सीमित तौलको सामान बोकेका कन्टनेर मात्र आउजाउ गर्न पाउने भएकाले नेपाली व्यवसायीको मालवस्तु सहज रूपमा नेपाल भित्रिन कठिन परेको हो ।
केरुङमा ६०० कन्टेनरभन्दा बढी सामान रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए । उनका अनुसार फलफूलका कन्टेनर २० टनसम्म हुने भएकाले तोकिएको तौल नपुग भएको छ । ‘लामो समय लगानी अलपत्र परेकाले व्यापारी अत्तालिएका छन्,’ कार्कीले भने, ‘१३ टन सामान ल्याउन पाउने नीतिले फलफूलका कन्टेनर ल्याउन सकिँदैन । फलफूलका कार्टुन सानो गाडीमा लोड गरेर ल्याउँदा भाडा महँगो पर्ने उनले बताए । बाढीअघि एक नेपाली कन्टेनर सामान काठमाडौं ल्याउने ढुवानी भाडा ९० हजार रुपैयाँ रहेकोमा अहिले २ लाख पुर्याइएको गुनासो व्यवसायीको छ ।
उता आइतवारबाट सञ्चालनमा आएको तातोपानी नाकाबाट पनि केही सामान नेपाल भित्रन थालेका छन् । तातोपानीका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेका अनुसार नाका अस्थायी रूपमा सुचारु भएको छ । ‘दुई–तीन स्थानमा डाइभर्सन र कतै पहिरोको बीचमै अस्थायी सडक बनाएर नाका सुचारु भएको छ,’ उनले भने, ‘थप पानी नपरेसम्म नाका सुचारु हुन्छ ।’
यो नाकाबाट निरन्तर आयात–निर्यात सुचारु राख्न स्थायी समाधानमा जानुपर्ने उनले बताए । तातोपानी नाका सुचारु भएसँगै चीनबाट चाडपर्व लक्षित सामान आइरहेको उनको भनाइ छ । ‘कुनै सामान आइसकेको छ, कुनै जाँचपासको क्रममा छन्,’ उनले भने, ‘यसबीचमा रोकिएका विद्युतीय सवारीसाधन समेत नेपाल भित्रिएका छन् ।’
भन्सार अधिकारीका अनुसार ती दुवै नाकाबाट फलफूल, मसला, लत्ताकपडाजस्ता वस्तु नेपाल भित्रिएका छन् । तातोपानीमा सडक बन्द रहेको समयमा पनि व्यापारीले तुइन लगाएर, भरिया राखेर सामान ल्याउने प्रयास गरेका थिए, जसले गर्दा धेरै सामान बिग्रिन नपाएको भन्सार अधिकारीको भनाइ छ । बाढीले भोटेकोशीको बेलिब्रिज र तातोपानीनजिकै लिपिङ खोलाको पुल बगाएको थियो । यसले गर्दा नाकासम्म पुग्ने सडक अवरुद्ध बनेको थियो । अहिले वैकल्पिक अस्थायी बाटो बनाएर सामान दुवानी हुन थालेको हो । रसुवागढीतर्फ भने चीनको सीमानजिकै सडक बगेको थियो । उत्तरतर्फका नाका बन्द हुँदा चाडबाडको मुखमा आयात समेत उल्लेख्य बढ्न सकेको थिएन ।