काठमाडौं । असोज ११ र १२ गतेको बाढीपहिरोका कारण काठमाडौं उपत्यका प्रवेश गर्ने सडक अवरुद्ध भएपछि संघीय राजधानीको बजारमा तरकारी तथा खाद्यान्नको भाउ आकाशिएको छ ।
देशकै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा पछिल्लो ४ दिनमा तरकारीको मूल्य २४३ प्रतिशतसम्म बढेको पाइएको छ । असोज ११ गते शुक्रवार ३०.६७ रुपैयाँ औसत थोक मूल्य रहेको गोलभेडाको मूल्य असोज १४ गते करीब ११२ प्रतिशतले बढेर ६५ रुपैयाँ पुगेको छ ।
लाम्चो भण्टाको मूल्य २४३ प्रतिशतले बढेर २७ रुपैयाँ ६७ पैसा प्रतिकिलोबाट ९५ रुपैयाँ पुगेको छ । यसबीचमा लौकाको मूल्य ३५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ । तिते करेला र इस्कुसको मूल्य पनि शतप्रतिशत बढेको छ । काँक्रो र बन्दाको मूल्य क्रमश: १७५ र १४२ प्रतिशत बढेको छ । हाल थुप्रै ठाउँमा सडक अवरुद्ध भएको र दशैं पनि नजिक आइरहेकाले चाडपर्वमा खाद्यान्न तथा गैरखाद्यान्न वस्तुको भाउ उच्च रहन सक्ने देखिएको सरोकारवाला बताउँछन् ।
मागको तुलनामा आपूर्ति घट्दा ५/१० प्रतिशतसम्म मूल्य बढाउनु स्वाभाविक भए पनि शतप्रतिशतसम्म बढाउनुले व्यवसायीको नियतमाथि नै प्रश्न उब्जेकोे उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘यस्तो बेलामा सरकारले कडाइका साथ बजार अनुगमन गरेर कालोबजारी र कृत्रिम अभाव गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपथ्र्यो, यसमा सरकार चुकेको देखियो,’ उनले आर्थिक अभियानसँग भने ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ वर्षाले बाटो अवरुद्ध भएर शुक्रवार, शनिवार र आइतवार ३ दिन तरकारी आपूर्ति घट्दा स्वाभाविक रूपमा मूल्यवृद्धि भएको दाबी गर्छन् । सोमवार दिउँसो राजमार्ग खुलेसँगै तरकारी र फलफूल आउने क्रम बढ्न थालेकोले २/३ दिनमै मूल्य पुरानै अवस्थामा फर्किने उनले बताए । पछिल्लो ४ दिनमा कालीमाटी भित्रिने तरकारीको परिमाण ५० देखि शतप्रतिशतसम्म घटेको समितिको तथ्यांकले देखाउँछ ।
समितिको दैनिक तरकारी आगमन सूचीअनुसार पछिल्लो ४ दिनमा तितो करेला आगमन करीब ५२ प्रतिशत र लौका आगमन ९१ प्रतिशतले घटेको छ । असोज ९ गते कालीमाटीमा १० मेट्रिक टन लौका भित्रिएकोमा बाढी पहिरोले नाका ठप्प भएपछि असोज १३ मा ९५० किलो मात्रै आएको छ ।
यसबीचमा तिते करेला १६ मेट्रिक टनबाट घटेर ७ टनमात्र भित्रिएको समितिले जानकारी दिएको छ । काँक्रो आगमन ६८ मेट्रिक टनबाट १५ मेट्रिक टनमा झरेको छ ।
कालीमाटी तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्य तरकारी बोकेर उपत्यका भित्रिने सयौैं मालवाहक गाडी राजमार्गमा रोकिएपछि मूल्य बढेको बताउँछन् । ‘हामीले अग्रिम मूल्य तिरेर ल्याएका तरकारी राजमार्गमा कुहिएको कसैले देखेको छैन । स्वाभाविक रूपमा बढेको मूल्यमा पनि व्यापारीले कालोबजारी गरे भन्ने आरोप लागेको छ,’ उनले गुनासो गरे ।
खाद्यान्नमा पनि मूल्यवृद्धि
यसैबीच खाद्यान्न व्यवसायीले तेल, दाल, गेडागुडी र चिनीको मूल्य वृद्धि गरेका छन् । खुद्रा व्यापार संघका अनुसार हरेक ब्रान्डको खानेतेलको मूल्य कार्टुनमै २०० रुपैयाँसम्म बढेको छ । चिनीको मूल्य किलोको १०० रुपैयाँबाट ११० पुगेको छ । गेडागुडीको मूल्य पनि औसतमा १० रुपैयाँ प्रतिकिलो बढ्न थालेको छ । मासको दाल २२० रुपैयाँ प्रतिकिलोबाट बढेर २३० पुगेको छ । त्यस्तै, चना दाल १४० बाट १८० रुपैयाँ र राजमा २५० बाट २९० रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।
संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार थोक व्यापारीले मूल्य बढाएर पठाएका हुन् । सरकारले पर्याप्त मात्रामा खाद्यान्न मौज्दात छ भनिरहेका बेला पनि थोक व्यवसायीले मूल्य बढाएर पठाएको उनले बताए ।
थोक व्यापारीहरूको संस्था खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले कुलेश्वरस्थित उपत्यकाकै सबैभन्दा ठूलो खाद्यान्न गोदाममा बाढी पसेर क्षति गरेपछि त्यसको असर बजारमा परेको हुन सक्ने बताए । उनका अनुसार बाढी पसेपछि गोदाममा रहेको करोडौं रुपैयाँको खाद्यान्न नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी रहेकाले के कति क्षति भयो भन्ने यकीन तथ्यांक नभएको उनले बताए ।
बल्खु तरकारी बजारमा बाढी पस्दा ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिइएको छ । तरकारी बजारका सञ्चालक मोहनकुमार बस्नेतले बाढी पसेर दोस्रो तल्लासम्म पानी पुग्दा त्यहाँ रहेका करीब ४५० ओटा तरकारी र खाद्यान्नका स्टल पूर्ण रूपमा बगेको बताए ।
‘बजार पुन: सञ्चालनमा ल्याउन एस्काभेटर र जेसीबीको सहयोगमा बजारभित्रको लेदो पन्छाउने काम भइरहेको छ । मंगलवारदेखि ५० ओटा जति स्टल सञ्चालनमा आउने तयारी गरेका छौं । पूर्ण सञ्चालनमा आउन २ साता लाग्न सक्छ,’ उनले भने ।