वीरगञ्ज । अत्यधिक विद्युत् कटौतीका कारण बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूको उत्पादन अस्तव्यस्त भएको उद्योगीहरूले बताएका छन् । कोरिडोरमा प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमै विद्युत् कटौतीको बढी समस्या छ । कोरिडोरमा अघोषित लोडसेडिङले उत्पादनको मुख्य सिजनमै हात बाँधेर बस्नुपर्ने अवस्था आएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताए ।
कोरिडोरका फलाम उद्योग र ठूला उत्पादकले ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका छन् । निर्माण सामग्रीको विक्री हुने मुख्य सिजनमै विद्युत् नहुँदा उत्पादन गर्न नसकिएको एक उद्योगीले बताए । बारा–पर्सालाई निर्माण सामग्री उत्पादनको हब भनिए पनि विद्युत् अभावले उत्पादन समस्याग्रस्त भएको गुनासो उनको छ । परवानीपुर–रक्सौल प्रसारण लाइनबाट १५० मेगावाट विद्युत् आयात भइरहेको र यसबाट उद्योगमा आपूर्ति दिइएको प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुवेले बताए । ६६ केभीबाट आपूर्ति लिएका औद्योगिक ग्राहकलाई बढी समस्या भएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।
भारतबाट विद्युत् आयात कटौती भएदेखि नै कोरिडोरका उद्योगमा अघोषित लोडसेडिङ शुरू भएको थियो । अहिले साँझ ५ बजेदेखि ११ बजेसम्म लाइन काट्ने गरिएको प्राधिकरणले बताएको छ । भारतले यो समयमा विद्युत् आपूर्ति नगरेकाले उद्योगमा लाइन काटेर घरायसी ग्राहकलाई आपूर्ति दिने गरिएको छ ।
विद्युत् कटौती बढेपछि सिमेन्ट, डण्डी, पाइप, पेन्ट्सजस्ता उद्योग बढी विद्युत् खपत गर्ने उद्योग बढी प्रभावित भएका हुन् । बजारमा माग सृजना हुने समयमै विद्युत् कटौतीले उत्पादन गर्न नपाएपछि उद्योगी चिन्तित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।
६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा अहिले १२ घण्टा पनि लाइन नरहेको एक उद्योगीले बताए । ती उद्योगीका अनुसार लाइन दिइएको भनिएको समयमा पनि पटकपक लाइन कट्ने समस्याबाट उद्योगी हैरान भएको नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका उद्योग समितिका अध्यक्ष दीपेश अग्रवालले बताए । यता, ११ र ३३ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा पनि कटौती भइरहेको छ ।
गत चैत ३ देखि भारतबाट आयात हुने विद्युत्को समय कटौती भएको थियो । त्यसअघि दैनिक २० घण्टा आयात हुनेमा अहिले १२ घण्टामात्रै भएको प्राधिकरणका अधिकारीहरूले बताएका छन् । केही दिनअघि हावाहुरीका कारण प्रसारण पूर्वाधारमा क्षति पुगेकाले आपूर्तिमा समस्या आएको प्राधिकरणले बताएको थियो । अहिले सुक्खायामका कारण विद्युत्को आन्तरिक उत्पादन घटेको र भारतबाट आयात पनि कम भएकाले आपूर्तिमा समस्या देखिएको प्राधिकरणका अधिकारीहरूकोभनाइ छ ।