पारदर्शी तरीकाले सञ्चालनमा रहेका नेपालका बैंकहरूमाथि अर्बौं कमाएको आरोप लगाउँदै ब्याजदर घटाउन दबाब दिइए पनि बैंकहरूको कमाइ भने निकै कम रहेको देखिएको छ । आइतवार बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २० ओटा वाणिज्य बैंकले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ मुनाफा कमाएका छन् । यो मुनाफा गतवर्षको यही अवधिको तुलनामा ९ दशमलव ९४ प्रतिशतले कम हो । नेपाल राष्ट्र बैंकका अनुसार औसतमा बैंकहरूले ७ प्रतिशत मुनाफा कमाएका छन् । यो मुनाफा पनि नेपाल राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण गर्न दिएको सुविधाका कारण देखिएको हो । नत्र मुनाफा अझै कम देखिन्थ्यो ।
कुनै पनि व्यवसायीले ७ प्रतिशत मुनाफाको मार्जिन राखेर व्यापार गर्लान् ? अथवा उद्योग चलाउलान् ? उत्तर नकारात्मक नै आउन सक्छ । अहिले बैंकहरूले २८ अर्ब कमाए भनेर अंक ठूलो देखाइन्छ तर त्यो २८ अर्ब कमाउन कति लगानी भएको छ भनेर चाहिँ कमैले हेर्ने गरेका छन् । मुनाफामा मात्र आँखा लगाउनु उपयुक्त होइन । हुन त बैंकले सधैं मुनाफा मात्रै हेर्नु हुँदैन, अर्थतन्त्रलाई फाइदा हुनेगरी व्यवसाय गर्नुपर्छ भनेर भन्नेहरू पनि छन् । यो भनाइ पूर्ण असत्य पनि होइन । तैपनि लगानी गरेपछि प्रतिफल त अवश्य चाहिन्छ नै । तीनओटा सरकारीबाहेक अन्य सबै बैंक तथा वित्तीय संस्थाहरू निजी लगानीका छन् । मुनाफा हुन्छ भनेर नै बैंकमा ठूलो रकम लगानी भएको हो । अहिले बैंकमा गरेको लगानीले प्रतिफल कम दिएपछि संस्थापक शेयर विक्री गर्ने लहर चलेको छ । यो शुभसंकेत होइन ।
नियामक निकायले बैंकहरूलाई नियमनको यस्ता व्यवस्थाहरू गरिदिएको छ कि कुन बैंकमा कति पैसा छ, उसले कहाँकहाँ लगानी गरेको छ, कतिमा लगानी गरेको छ सबै थाहा पाउन सकिन्छ । त्यसमाथि उनीहरूले लिने र दिने ब्याज मासिक रूपमा सार्वजनिक गर्नुपर्छ । उनीहरूले हरेक त्रैमासमा नाफानोक्सानको विवरण पत्रपत्रिकामा सार्वजनिक गर्नैपर्छ जसलाई सर्वसाधारणले पढ्न सक्छन् ।
सरकारले अर्थतन्त्र चलायमान बनाउन र कर्जाको माग बढ्ने अवस्था सृजना गर्न काम गर्नुपर्छ । बैंकहरूले पनि लगानीका नयाँ नयाँ क्षेत्र खोजी गर्नुपर्छ । त्यसका लागि राष्ट्र बैंकले बाटो खुला गरिदिनु पनि पर्छ ।
बैंकहरूले मुनाफा मात्र हेर्नु हुँदैन भन्ने सही हो । त्यही भएर नियामक नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्रहरूमा निश्चित प्रतिशत लगानी गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । त्यस्तै बैंकहरूले कोरबैंकिङबाहेका व्यवसायमा पनि आँखा लगाउनु आवश्यक छ । बैंकहरूले गरेको कर्जा लगानीले नै अर्थतन्त्रको विस्तार हुने हो । तर, अहिले बैंकहरूको लगानी बढ्न सकेको छैन । ब्याजदर महँगो हुँदा ऋणको माग कम हुनु स्वाभाविक हो । त्यसको असर अहिले बैंकहरूको मुनाफामा परेको हो । ब्याजदर बजारलाई छाडेकाले त्यसको निर्धारण पैसाको माग र आपूर्तिले तय गर्ने हो । अहिले तरलता बढेपछि बैंकले निक्षेपमा दिने ब्याजदर निकै घटेको छ । कर्जाको ब्याजदर पनि क्रमश: घट्दै गएको छ ।
तर, ब्याजदर घटे पनि बैंकहरूले कर्जा प्रवाह गर्न सकेका छैनन् । यसको अर्थ मुलुकको अर्थतन्त्रमा मन्दी वा स्थिरता छ भन्ने हो । कर्जाको माग नभएर अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहेको छ । यो अवस्था अझै रहे ब्याजदर झनै घट्ने देखिन्छ । भोलिका दिनमा पैसा लगानी हुनै सकेन भने निक्षेपकर्ताले ब्याज पाउने होइन, उल्टै बैंकमा पैसा राखेवापत ब्याजदर तिर्नुपर्ने पनि हुन सक्छ । केही देशमा यस्तो भएको पाइन्छ । त्यसैले सरकारले अर्थतन्त्र चलायमान बनाउन र कर्जाको माग बढ्ने अवस्था सृजना गर्न काम गर्नुपर्छ । बैंकहरूले पनि लगानीका नयाँ नयाँ क्षेत्र खोजी गर्नुपर्छ । त्यसका लागि राष्ट्र बैंकले बाटो खुला गरिदिनु पनि पर्छ ।
सरकारले विकास निर्माणका काम अघि बढाउन नसक्दा निर्माण सामग्रीको माग घटेर उत्पादन नै कटौती गर्नु परेको अवस्था छ । त्यसैको परिणामस्वरूप अन्य व्यवसायसमेत प्रभावित भएको पाइन्छ । त्यसैले अर्थतन्त्र चलायमान बनाउन विशेष सक्रियतासमेत आवश्यक पर्छ ।