वर्तमान युगको अत्यावश्यक खाद्यवस्तुका रूपमा परिचित बदाम (मुमफली)को विश्व आयात ४ अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको छ । विश्व बजारमा अत्यधिक माग रहेको बदाम उत्पादन क्षेत्रमा नेपालले पनि आफ्नो क्षमताले भ्याउने क्षेत्रमा उपस्थिति जनाउन सक्ने रणनीति तर्जुमा हुन आवश्यक छ । विशेषगरी चीन लक्षित बजारलाई दृष्टिगत गरी बदामको उत्पादन वृद्धि गर्न चिनियाँ लगानीमा यसको बृहत्तर खेती गर्न आवश्यक छ ।
मुलुकमा ठूलो आकारको भूमि बाँझो रहेको सन्दर्भमा यस भूमिलाई उपयोग गर्दै पहिलो चरणमा कम्तीमा चीनको मात्र बजारको माग पूरा गर्ने गरी नेपालमा बदामको व्यावसायिक खेती हुन आवश्यक छ । चीनले वार्षिक ६ लाख ६० हजार ८४२ टन बदाम आयात गर्दछ । यस आयातलाई पूर्ति गर्न संयुक्त राज्य अमेरिकाले हासिल गरेको उत्पादकत्व कायम गर्नेगरी नेपालले करीब २ लाख ३६ बिगाहा क्षेत्रफलमा यसको खेती गर्नुपर्ने देखिन्छ ।
यसका लागि चीन सरकार र त्यहाँका निजी लगानीकर्तासँग व्यावसायिक सम्झौताको खाँचो छ । चीनको बजार प्राप्त गरिसकेपछि अन्य मुलुकका बजार पनि क्रमश: प्राप्त गर्नेगरी रणनीति तर्जुमा गरी अघि बढ्नुपर्छ ।