नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा देशको ढुकुटीमा १६ अर्ब ४ करोड अमेरिकी डलर अर्थात् २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा जम्मा भएको छ । यो हालसम्मकै उच्च विदेशी विनिमय सञ्चिति हो । निर्यातमा सुधार नहुनु, आयातमा कमी आउनु र बढ्दो विप्रेषणले बाह्य क्षेत्र इतिहासकै बलियो अवस्थामा पुगेको हो । विदेशी मुद्रा सञ्चिति बढ्नु राम्रो भए पनि अत्यधिक सञ्चिति बढ्नु अर्थतन्त्र स्वस्थ छैन भन्ने कुराको संकेत हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव २ प्रतिशतले वृद्धि भई रू. २६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो । यसरी हेर्दा विप्रेषण वृद्धिको प्रतिशत भने केही कम देखिन्छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुन: श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । यो अघिल्लो आवको यही अवधिको भन्दा केही कम हो । देशमा रोजगारीको अवसर नरहेको बेला वैदेशिक रोजगारीमा जानेको संख्या उच्च रहँदै आएको छ । थुप्रै नेपाली विदेशिरहेकाले विप्रेषण बढ्दो क्रममा रहेको हो ।
नेपाल राष्ट्र बैंकले ७ महीनाका लागि वस्तु तथा सेवा खरीद गर्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने नीति लिएको छ । चालू आवको प्रथम २ महीनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमश: ३७ दशमलव ७ प्रतिशत, ११४ दशमलव ४ प्रतिशत र ३० दशमलव ८ प्रतिशत रहेको छ । यस्तो सञ्चिति निकै बढी हो । अहिले जसरी विदेशी मुद्रा थुप्रिइरहेको छ त्यसको असर बंैक तथा वित्तीय संस्थाको बढ्दो निक्षेपमा देखिएको छ । तर, बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा जाने कर्जामा चालू आर्थिक वर्षके प्रथम २ महीनामा केही सुधार भए पनि उल्लेखनीय सुधार हुन सकेको छैन । यसले अर्थतन्त्र चलायमान नभएको संकेत दिन्छ ।
अर्थतन्त्रलाई गति दिन राष्ट्र बैंकले चालू आवका लागि खुकुलो मौद्रिक नीति ल्यायो । तर, त्यसले पनि आयात उल्लेख्य बढाउन सकेको छैन । समीक्षा अवधिमा कुल वस्तु आयात १ दशमलव १ प्रतिशतले वृद्घि भई रू. २६२ अर्ब ५४ करोड पुगेको छ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५ दशमलव १ प्रतिशतले कमी आएको थियो । त्यस्तै मुलुकको व्यापारघाटा निकै बढी भए पनि निर्यात बढाउन सकिएको छैन । निर्यात ५ दशमलव १ प्रतिशतले घटेको छ । आयात निर्यातमा सुधार नहनुको अर्थ पनि अर्थतन्त्र चलायमान नहुनु हो । ठूलो परिमाणमा विप्रेषण भित्रिए पनि त्यो रकम बैंकमा थुप्रिएको छ । विप्रेषणलाई उत्पादनसँग जोड्न त सकिएको छैन नै, अहिले उपभोगसँग पनि जोड्न नसकिएको हो कि भन्ने देखाएको छ । विप्रेषणले उपभोग बढाएको भए आयात निकै बढ्नुपथ्र्यो । दशैंतिहारजस्ता ठूला चाड उपभोग्य वस्तु निकै विक्री हुने समय हो । कुल व्यापारको झन्डै ३० प्रतिशत व्यापार यही समयमा हुन्छ भन्ने व्यापारीको भनाइ छ । यसका लागि आयात बढेको देखिनुपर्ने हो तर त्यस्तो देखिएन । अहिले निजीक्षेत्रमा प्रवाह भएको कर्जामा केही सुधार आएकाले आन्तरिक अर्थतन्त्रले गति लिन आँटेको हो कि भन्ने देखाएको छ तर बाह्य क्षेत्रमा आएको सुधारको अनुपातमा आन्तरिक अर्थतन्त्रलाई गति दिन अझै सकिएको छैन । त्यसैले अर्थतन्त्र सुधारका लागि विशेष पहल आवश्यक रहेको देखिएको छ ।