गतांकको बाँकी
वित्तीय अपराधका लागि पहिचानको चोरी जस्तै पहिचानको ठगी पनि प्रचलित अपराधमा नै गनिन्छ । पहिचानको चोरीमा अर्काको पहिचानलाई विभिन्न माध्यम वा उपायद्वारा चोरी गरेर त्यसको आधारमा आपराधिक कार्य गरिन्छ भने पहिचानको ठगी त्यो भन्दा केही अर्थमा भिन्न प्रकृतिको हुन्छ । सबै चोरीलाई ठगी मान्न सकिने भए पनि सबै ठगी चोरी मात्र नहुने भएकाले पहिचानको ठगीले पहिचानको चोरीभन्दा विस्तृत अर्थ वहन गरेको हुन्छ ।
नेपालमा पनि पहिचानको ठगी अहिले दिनानुदिन बढ्दै गएको देखिन्छ । गत माघ महीनामा मात्र अन्य व्यक्तिको नागरिकतामा असम्बद्ध व्यक्तिको फोटो टाँसेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै आएका प्रहरीले उल्लेख गरेको छ । भेरी ओभरसिजका रामेश्वर सिंहले विदेश जान सर्लाहीका सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवहरूले बुझाएको नागरिकतामा आफ्नो ज्वाइँ नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी विभिन्न बैंकमा तीन जनाको नाममा उनै ज्वाइँले चलाउने गरी खाता खोलेका थिए ।
वास्तवमा यसरी पहिचान पत्रलाई फेरबदल गरी त्यसलाई दुरुपयोग गरी वित्तीय अपराध गर्ने उद्देश्यले कुनै पनि प्रकारको सेवा ग्रहण गरिन्छ भने त्यसलाई नै पहिचानको ठगी भनेर बुझ्न सकिन्छ । र अहिलेसम्म यसरी पहिचानको ठगी गर्नेहरूले उपलब्ध गरेको सेवालाई हेर्दा खास गरी वित्तीय सेवा प्राप्त गर्ने उद्देश्यले यस्ता प्रकारका ठगी हुने गर्छ ।
पहिचानको ठगीका आवश्यक तत्त्वहरू
पहिचानको ठगी हुनका लागि पहिचानको चोरी हुनैपर्छ भन्ने छैन । माथि उदाहरणका रूपमा उद्धृत समाचार उल्लेख भएभैंm अन्य प्रयोजनका लागि असल नियतले उपलब्ध गराएको पहिचानको गलत ढंगले दुरुपयोग गरेर पनि पहिचानको
ठगी हुने गर्छ । पहिचानको ठगी सधैं अन्य व्यक्तिकै पहिचानसँग मात्र सम्बद्ध हुन्छ भन्ने पनि हुँदैन । तेस्रो व्यक्ति वा पक्षबाट भएजस्तै आपैmले आफ्नो नक्कली पहिचान बनाएर वा तोडमोड गरेर पनि ठगी गर्ने सम्भावना रहन्छ । यस्तो प्रकारको पहिचानको ठगीलाई ‘स्वयं ठगी’ पनि भन्न सकिन्छ ।
स्वयं ठगीअन्तर्गत आफ्नो पहिचान पत्र नक्कली बनाउने, त्यसैको आधारमा नक्कली बैंक खाता खोल्ने, क्रेडिटकार्ड सुविधा ग्रहण गर्ने, कर्जा सुविधा उपभोग गर्नेजस्ता सम्पूणर् नक्कली कारोबार हुने गर्छन् । यस्तो प्रकारको ठगीले अन्य तेस्रो पक्षलाई कुनै घाटा नपुर्याउने भए पनि सम्बद्ध सेवा प्रवाह गर्ने संस्थालाई चाहिँ कानूनी तथा व्यावसायिक झमेला पर्न सक्छ । यसरी हेर्दा यस्तो प्रकारको ठगीको कानूनी, आर्थिक एवं व्यावसायिक दायित्व प्रत्यक्ष रूपमा व्यक्ति स्वयं र सेवाप्रदायक गरी दुई पक्षसम्म मात्र सीमित हुन्छ्र ।
यसका अलावा अन्य व्यक्तिको पहिचानलाई तोडमरोड गरेर त्यसैको आधारमा विभिन्न प्रकारका सेवा उपभोग गरिन्छ भने त्यसलाई चाहिँ तेस्रो पक्षसँग सम्बद्ध पहिचानको ठगी भनेर मान्न सकिन्छ । यस्तो प्रकारको ठगीले ठगलाई मात्र होइन, पहिचानको ठगीको शिकार हुने तेस्रो पक्ष एवं सेवा प्रवाह गर्ने निकायसमेत गरी त्रिकोणीय दायित्त्व सृजना गरेको हुन्छ । अर्को शब्दमा भन्ने हो भने यस्तो प्रकारको ठगीको कानूनी, आर्थिक एवं व्यावसायिक दायित्व ठगी गर्ने व्यक्ति स्वयं, ठगीको शिकार हुने तेस्रो पक्ष तथा सेवा प्रवाह गर्ने निकाय गरी त्रिपक्षीय रूपमा कायम हुन्छ ।
पहिचानपत्रलाई फेरबदल गरी त्यसलाई दुरुपयोग गरी वित्तीय अपराध गर्ने उद्देश्यले कुनै पनि प्रकारको सेवा ग्रहण गर्नु पहिचानको ठगी हो र अहिलेसम्म यसरी पहिचानको ठगी गर्नेहरूले खास गरी वित्तीय सेवा प्राप्त गर्ने उद्देश्यले यस्ता प्रकारका ठगी गरेको देखिन्छ ।
पहिचानको ठगी गर्नेहरूले पहिचान पत्रमा समावेश भएका विवरण तथा सूचनाहरूलाई दुई किसिमले परिवर्तन गर्न सक्छन् । परिचयपत्रका आधारभूत सुरक्षा प्रबन्धलाई नै रासायनिक माध्यमबाट परिवर्तन गरिन्छ भने त्यसलाई रासायनिक परिवर्तनमार्फत हुने पहिचानको ठगी भनिन्छ । तर, त्यसो नगरी पहिचानपत्रका विवरणहरूलाई मेटेर वा अदलबदल गरेर भौतिक रूपमा परिवर्तन गरिन्छ भने त्यसलाई भौतिक परिवर्तनमार्फत हुने पहिचानको ठगी
भनेर बुझ्न सकिन्छ । ठगहरूले पहिचानको ठगी गर्ने क्रममा पहिचान पत्रमा रासायनिक एवं भौतिक दुवै किसिमका परिवर्तनका प्रक्रिया अवलम्बन गर्न सक्छन् ।
पहिचानको ठगी र चोरीबीचको भिन्नता
सामान्यतया पहिचानको चोरी र पहिचानको ठगीलाई कतिपय सन्दर्भमा एकै अर्थमा पनि बुझ्ने गरिन्छ । यस अर्थमा सबै प्रकारका पहिचानको चोरीलाई पहिचानको ठगी भन्न सकिन्छ तापनि सबै ठगी चोरीमा मात्र सीमित हुँदैनन् । यस अर्थमा पहिचानको ठगीले पहिचानको चोरीको भन्दा बृहत् दायरा समेटेको हुन्छ । पहिचानको अनधिकृत रूपमा चोरी भए पछि त्यसलाई अपराधकर्मका लागि दुरुपयोग हुन्छ भने त्यो पहिचानको ठगीमा रूपान्तरित हुन्छ ।
फेरि कतिपय अवस्थामा पहिचानको ठगीका लागि त्यसको चोरी नभएको पनि हुन सक्छ । स्वयं एकल रूपमा संलग्न भई गरिने ठगीमा पहिचानको चोरी भएको हुँदैन । त्यस्तै अन्य व्यक्तिले असल नियतले बुझाएको पहिचान पत्र वा सूचनाको दुरुपयोगदेखि तिनलाई नियतवश गरिने फेरबदलमा समेत पहिचानको चोरी भएको मान्न सकिँदैन परन्तु त्यहाँ ठगी भने अवश्य भएको हुन्छ । यिनै आधारमा पहिचानको चोरी र पहिचानको ठगीलाई पृथक् रूपमा बुझ्ने गरिन्छ ।
पहिचानको ठगीबाट बच्ने सबैभन्दा भरपर्दो उपाय भनेको त्यसको सम्पुष्टि नै हो । कुनै पनि सेवाप्रदायकले सेवा प्रदान गर्नुपूर्व आफूलाई उपलब्ध गराइने पहिचान पत्र आधिकारिक हो होइन भनी सम्पुष्टि गर्न सक्ने हो भने पनि त्यसले उल्लेख्य मात्रामा पहिचानजन्य ठगीबाट मुक्त बनाउन सक्छ । तर, नेपालमा अहिले सबै प्रकारका पहिचानको सम्पुष्टि गर्न प्राविधिक एवं व्यावहारिक रूपमा सम्भव छैन । यस्तो विद्यमान अवस्थाले गर्दा वित्तीय लगायत अन्य सेवा प्रदान गर्ने निकायहरूले पहिचानको ठगीसम्बन्धी जोखिमको पूणर्रूपमा निराकरण गर्न सकेको देखिँदैन ।
नेपालको सन्दर्भमा पहिचानको सम्पुष्टि गर्ने आधार र माध्यम
हेर्ने हो भने सबै प्रकारको पहिचानको सम्पुष्टि गर्ने गरी प्राविधिक क्षमता विकास नभइसकेको सन्दर्भमा यस्तो ठगी बढी नै हुने गरेको देखिन्छ । त्यसो त अमेरिका जस्तो विकसित मुलुकमा समेत सन् २०२१ मा कूल जनसंख्याको ९ प्रतिशत मानिसहरू पहिचानको ठगीको शिकार भएको परिप्रेक्ष्यमा नेपाल जस्तो देशमा यसो हुनुलाई स्वाभाविक नै मान्न सकिए तापनि त्यहाँ हुने ठगी सम्पुष्टिको आधार नभएर भन्दा पनि नगरेर भएको देखिन्छ भने नेपालमा चाहिँ त्यस अनुरूपको संयन्त्रको अभावले यस्तो भएको अनुमान गर्न सकिन्छ । तर, अहिले नेपालमा पनि कतिपय पहिचान पत्रहरूलाई सम्पुष्टि गर्न सकिने व्यवस्था छ तापनि विद्यमान विभिन्न प्रकारका सीमितताका कारण त्यसको समुचित उपयोग भने भएको अवस्था छैन ।
पहिचानको सन्दर्भमा सबैभन्दा बढी प्रयोग हुने नागरिकताको सम्पुष्टिको लागि अहिले आएर सीमित तथ्यांकमाथि पहुँच प्राप्त गर्ने अवस्था छ । नयाँ बनेका नागरिकताहरूको अभिलेख गृह मन्त्रालयको केन्द्रय सर्भरमा भण्डारण गरिएका हुन्छन् र ती अभिलेखको पहुँच कतिपय सेवा प्रवाह गर्ने निकायहरूलाई उपलब्ध गराउने भनी ‘नागरिकता प्रमाणपत्रको डाटा हेर्न मात्र पहुँच दिने म्बन्धी कार्यविधि २०७५’ ले सविस्तार प्रक्रियाको वणर्न गरेको छ । यो व्यवस्थाअनुरूप सेवाप्रदायकहरूले नागरिकताको केन्द्रीय अभिलेख भएको सर्भरमा पहुँच स्थापना गरी सेवा प्रदान गर्नुपूर्व पेश गरिएका नागरिकताको आधिकारिकताका बारेमा जानकारी लिन सक्छन् । तर, माथि नै भनिएभैंm यस्ता अभिलेख नयाँ जारी गरिएका नागरिकताहरूको मात्र उपलब्ध हुने भएकाले अन्य लाखौंको संख्यामा रहेका पुराना हस्तलिखित नागरिकताको आधिकारिकता परीक्षण गर्न यो उपायबाट सम्भव छैन ।
परिचयपत्रका आधारभूत सुरक्षा प्रबन्धलाई नै रासायनिक माध्यमबाट परिवर्तन गरिन्छ भने त्यसलाई रासायनिक परिवर्तनमार्फत हुने पहिचानको ठगी भनिन्छ । तर, त्यसो नगरी पहिचानपत्रका विवरणहरूलाई मेटेर वा अदलबदल गरेर भौतिक रूपमा परिवर्तन गरिन्छ भने त्यसलाई भौतिक परिवर्तनमार्फत हुने पहिचानको ठगी भनेर बुझ्न सकिन्छ ।
पहिचान पत्रकै रूपमा रहेको मतदाता परिचयपत्रको सम्पुष्टि भने निर्वाचन आयोगको वेबसाइटमा गएर गर्न सकिन्छ । हुन त सोही वेबसाइट मार्फत नागरिकता नम्बरसमेत सम्पुष्टि गर्न सकिन्छ तापनि यो अलिक घुमाउरो प्रक्रिया हुनाले त्यति सहज भने छैन । फेरि मतदाताको मतदान केन्द्रको जानकारीविना यो माध्यमबाट पहिचानको सम्पुष्टि गर्न त्यति सहज छैन । त्यसैले सेवाप्रदायक निकायले ग्राहकको उपस्थितिमै मात्र यो माध्यमबाट ग्राहक र उसले उपलब्ध गराउने पहिचान पत्रको सम्पुष्टि गर्दा सहज हुन्छ । अन्यथा सम्बद्ध क्षेत्रका सम्पूणर् मतदान केन्द्रहरूको विवरण हेरेर सम्पुष्टि गर्नुपर्ने भएकाले त्यसका लागि अतिरिक्त समय र मिहेनत खर्चिनुपर्छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइटले कम्पनीको दर्ता नम्बरको आधारमा सम्बद्ध कम्पनीको नाम, दर्ता मिति, कम्पनीको प्रकारदेखि लिएर कम्पनीले कार्यालयमा पछिल्लोपटक गरेको सम्पर्कको मितिसमेत उपलब्ध गराउँछ । यसरी सार्वजनिक रूपमा उपलब्ध हुने कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइटमार्फत यदि कम्पनीको दर्ता नम्बरसहितको कानूनी अवस्थाका बारेमा यथार्थ रूपमा जानकारी प्राप्त गर्ने हो भने पहिचानको ठगीसम्बन्धी जोखिमबाट सम्बद्ध सेवाप्रदायक कम्पनीहरू केही मात्रामा भए पनि मुक्त हुन सक्छन् ।
यसै गरी सवारी चालक अनुमतिपत्रको सम्पुष्टिका लागि पनि यातायात व्यवस्था विभागको वेब साइटले मद्दत गर्छ । तर, यसको लागि सवारी चालक अनुमतिपत्र ‘स्मार्ट’ हुनु जरुरी छ । स्मार्टबाहेकका अन्य पुराना सवारी चालक अनुमतिपत्रको सम्पुष्टिका लागि भने अन्य परम्परागत तरीका अवलम्बन गर्नुको विकल्प छैन ।
त्यसै गरी आन्तरिक राजस्व कार्यालयले जारी गर्ने व्यक्तिगत लेखा नम्बरको सम्पुष्टि पनि वेबसाइटमार्फत नै गर्न सकिन्छ । आन्तरिक राजस्व कार्यालको वेबसाइटमा सम्पुष्टि गर्नुपर्ने लेखा नम्बर र साधारण क्याप्चा भरेपछि उक्त लेखा नम्बर आधिकारिक हो कि होइन भनी सजिलै छुट्ट्याउन सकिन्छ ।
यी माथि उल्लिखित पहिचान सम्पुष्टिका उपायहरूका अलावा सेवाप्रदायक संस्थाहरूले मोबाइल एप ‘नागरिक’ को माध्यमबाट समेत कुनै पनि व्यक्तिको पहिचानको आधिकारिकता सम्पुष्टि गर्न सक्ने अवस्था छ । कुनै पनि व्यक्तिको व्यक्तिगत विवरण एवं दस्तावेजहरू नागरिक एपको माध्यमद्वारा सम्बद्ध व्यक्तिबाहेक अन्य व्यक्तिले हेर्न नमिल्ने कारणले गर्दा नागरिक एपबाट सम्पुष्टि गर्नका लागि भने सम्बद्ध व्यक्ति स्वयंले सहयोग गर्नुपर्ने हुन्छ । तर, ठगी गर्ने मनसाय भएका सेवाग्राहीहरूले यसरी सेवाप्रदायकलाई सम्पुष्टिको लागि मद्दत गर्ने सम्भावना कम मात्र हुने भएकाले यो प्रक्रियाबाट सम्पुष्टि गर्न त्यति व्यावहारिक देखिँदैन ।
लेखक सम्पत्ति शुद्धीकरणमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।