केही वर्षअघि कृषि विकास बैंकमा बैंककै कर्मचारीले नक्कली नागरिकताहरूका आधारमा विभिन्न व्यक्तिको नाममा खाता खोली ती खातामार्फत करीब ३४ करोड रुपैयाँ ठगी गरेको घटना अहिले पनि बैंकिङ जगत्मा ताजै छ । हुँदै नभएको आन्तरिक विप्रेषणको रकम भनी बैंकको आन्तरिक खाताबाट ती नक्कली खातामा रकमान्तर गरी ठगी गर्ने गरेको कुरा बाहिर आएपछि ठगीजस्तो वित्तीय अपराधका लागि कसरी पहिचानपत्रको दुरुपयोग हुने रहेछ भन्ने खुलेको थियो । उक्त घटनामा नागरिकता प्रमाणपत्रमा सम्बद्ध खातावालाको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण झूटो राखिएको तथा नागरिकतामा उल्लिखित गाविस वास्तविक रूपमा अस्तित्वमै नरहेको तथ्य पछि उजागर भएको थियो ।
यस्तै केही महीनाअघि मात्र सार्वजनिक भएको अर्को एउटा घटनाअनुसार सामाजिक सञ्जालमा ‘वैदेशिक रोजगारीको अवसर’ भन्ने सूचना राखेर रोजगारीको प्रलोभनमा पर्ने सर्वसाधारणबाट चोरिएको नागरिकताको आधारमा खोलिएको खातामा रकम जम्मा गर्न लगाई ठगिएको थियो । तिनीहरूले यस प्रकारको ठगी गर्न विदेश जान चाहनेहरूले बुझाउने नागरिकतालगायत अन्य कागजातको दुरुपयोग गरी बैंक खाता खोल्ने गरेको र त्यसरी खोलिएका खातामार्फत विभिन्न व्यक्तिबाट करीब ८२ लाख रुपैयाँ बराबरको ठगी गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो ।
यस्ता प्रकारका ठगीका घटना नेपालमा मात्र होइन, विश्वभरि नै भइरहेका छन् । अमेरिकामा मात्र गतवर्ष करीब ४३ लाख व्यक्ति यस्ता पहिचान पत्रको ठगी एवं चोरीसम्बन्धी अपराधको शिकार भएको तथ्यांक छ । यसरी शिकार भएका व्यक्तिबाट करीब ६ अर्ब डलर बराबरको रकम ठगी गरिएको बताइन्छ ।
सेवाप्रदायक संस्थाहरूले पनि पहिचानको चोरीको पहिचान एवं नियन्त्रण गर्ने उपायहरूका बारेमा जानकार भई सोहीअनुरूपको निरोधात्मक उपायहरू अवलम्बन गर्नु अनिवार्य छ । निरोधात्मक उपायहरूमा सबैभन्दा प्रभावकारी एवं भरपर्दो उपाय भनेको पहिचानको सम्पुष्टिलाई मानिन्छ । अर्काको पहिचानसँग सम्बद्ध व्यक्तिगत विवरण तथा कागजातहरू भौतिक रूपमा नै चोरी गरी अनधिकृत रूपमा कारोबार गर्ने प्रक्रिया पहिचानको भौतिक चोरी हो भने कुनै पनि व्यक्तिको विद्युतीय रूपमा रहेका गोप्य सूचनाहरू ह्याक गर्ने अपराधलाई पनि पहिचानको चोरी नै मान्ने गरिन्छ ।
यस्तै प्रकारका विश्वव्यापी वित्तीय अपराधको आलोकमा यो आलेखमा पहिचानको चोरी एवं ठगीका बारेमा चर्चा गर्दै तिनको नियन्त्रणका लागि उचित तरीकाले गर्नुपर्ने पहिचान– सम्पुष्टिका उपायहरूका बारेमा समेत संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । लेखको पहिलो भागमा पहिचानको चोरीका बारेमा छलफल गरिएको छ भने यसको अर्को भागमा पहिचानको ठगी र पहिचान सम्पुष्टिका विविध आयामका बारेमा चर्चा गरिनेछ ।
के हो पहिचानको चोरी ?
पहिचानको चोरी भन्ने शब्द पहिलोपटक सन् १९६४ मा प्रयोग भएको मानिन्छ । चोरीको बदलिँदो प्रकृति र प्रविधिको विकासका कारण पहिचानको चोरीलाई पनि भौतिक र विद्युतीय गरी मुख्य रूपमा दुई प्रकारमा बुझ्न सकिन्छ ।
सरल अर्थमा भन्ने हो भने अर्काको पहिचानसँग सम्बद्ध व्यक्तिगत विवरण तथा कागजातहरू भौतिक रूपमा नै चोरी गरी अनधिकृत रूपमा कारोबार गर्ने प्रक्रिया पहिचानको भौतिक चोरी भनी सजिलै अनुमान गर्न सकिन्छ । माथि वैदेशिक रोजगारीको नाममा रकम जम्मा गर्ने प्रयोजनका लागि खाता खोल्नको लागि असम्बद्ध व्यक्तिको नागरिकता चोरिएको कार्यलाई भौतिक पहिचानको चोरीको कोटिमा राख्न सकिन्छ ।
अहिले डिजिटल कारोबारको विकास भै रहेको सन्दर्भमा कुनै पनि व्यक्तिको विद्युतीय रूपमा रहेका गोप्य सूचनाहरू ह्याक गर्ने अपराधलाई पनि पहिचानको चोरी नै मान्ने गरिन्छ । यसअन्तर्गत क्रेडिट कार्डको नम्बर तथा पिन कोड पत्ता लगाउनेदेखि बैंक खाताको विद्युतीय पहुँच प्राप्त गर्नेसम्मका अपराधहरू संलग्न हुन्छन् । यसका लागि अपराधीहरूले विभिन्न ह्याकिङ, फिसिङजस्ता भिन्नभिन्न प्रकारका उपाय अवलम्बन गरेर पहिचानको चोरी गर्ने गरेका छन् । यस प्रकारको अभौतिक चोरीलाई पहिचानको विद्युतीय चोरी मान्न सकिन्छ ।
विश्वव्यापी रूपमा नै अहिले भौतिक रूपमा हुने पहिचानको चोरीभन्दा विद्युतीय रूपमा हुने चोरी बढी संवेदनशील देखिएका छन् ।
चोरी गरिएको दुरुपयोगको प्रकृतिअनुरूप पहिचानको चोरीलाई विभिन्न किसिमले वर्गीकरण गर्न सकिन्छ । यदि पहिचानको चोरी गरी बैंक खाता खोल्ने, क्रेडिट डेबिट कार्ड निकाल्ने तथा अन्य वित्तीय सेवाहरू उपभोग गर्ने गरिन्छ भने त्यस्तो प्रकारको चोरीलाई वित्तीय पहिचानको चोरी मान्न सकिन्छ ।
यदि कुनै प्रकारको स्वास्थ्य सेवा वा स्वास्थ्य बीमाका लागि यसरी पहिचानको चोरी हुन्छ भने त्यसलाई स्वास्थ्य पहिचान चोरीको वर्गमा राखिन्छ । यदि चोरिएको पहिचानसँग सम्बद्ध कागजातका सूचनाका केही अंशमात्र प्रयोग गरी अर्कै नक्कली तेस्रो पहिचान पत्रको निर्माण गरिन्छ भने त्यसलाई संयोगात्मक पहिचानको चोरी भन्ने गरिन्छ ।
यसै गरी नाबालिगको नाममा पहिचान चोरी गरेर कुनै पनि प्रकारको सेवा उपभोग हुन्छ भने त्यो स्पष्टत: नाबालिग पहिचानको चोरी हो । यस्ता नाबालिगहरू सक्रिय पनि हुन नसक्ने र आफ्नो पहिचानको चोरीजन्य प्रभावका बारेमा जानकार तथा सचेत पनि नहुने साथै जानकार भइहाले पनि त्यसका विरुद्ध कारबाही प्रक्रियामा जाने सामथ्र्य नराख्ने भएकाले अपराधीहरूले नाबालिगको पहिचानलाई लामो समयसम्म अपराधकर्ममा दुरुपयोग गर्ने सम्भावना प्रचुर मात्रामा रहन्छ । यस्तै प्रकारको पहिचान चोरीको जोखिम ज्येष्ठ नागरिकको हकमा समेत रहन्छ । यसका अतिरिक्त करसँग सम्बद्ध पहिचानको चोरी, अपराधीसँग सम्बद्ध पहिचानको चोरी जस्ता अन्य वर्गमा पनि पहिचानको चोरीलाई विभाजित गर्न सकिन्छ ।
यसबाट अहिले पहिचानको ठगी एवं चोरीसँग सम्बद्ध वित्तीय अपराध विश्वव्यापी रूपमा नै तीव्र गतिमा फैलिएको सहजै अनुमान गर्न सकिन्छ्र अझ प्रविधिको विकासको कारण यसरी अपराध गर्नेहरूलाई पहिचानको चोरी र ठगी गरी वित्तीय अपराध गर्न झन् बढी उपयुक्त ‘अवसर’ प्राप्त भएको मान्न सकिन्छ ।
पहिचान चोरीको शिकार जुनसुकै अवस्थामा जोसुकै व्यक्ति पनि हुन सक्ने जोखिम रहन्छ र शिकार भएपछि त्यसका बहुआयामिक नकारात्मक प्रभावहरू पनि भोग्नु पर्ने हुन्छ । त्यसैले पहिचानको चोरी हुन नदिन अथवा त्यसको शिकार बन्नबाट बच्न व्यक्ति स्वयंमा नै हमेशा यसका बारेमा अतिरिक्त सजगताको अवश्यकता पर्छ ।
कसरी बच्ने ?
भौतिक रूपमा हुने पहिचानको चोरीबाट बच्ने उपायहरूमा आफ्नो नागरिकता, पासपोर्टजस्ता पहिचानका आधिकारिक कागजातहरूलाई सुरक्षित ढंगले राख्नुपर्ने हुन्छ । त्यति मात्र होइन, त्यस्ता दस्तावेजहरूको प्रतिलिपि पनि अरूले प्राप्त गर्न सक्ने गरी जथाभावी ढंगले राख्नु हुँदैन ।
विद्युतीय माध्यमबाट हुन सक्ने पहिचानको चोरीबाट बच्न भने आफूले प्रयोग गर्ने कम्प्युटर, मोबाइलजस्ता विद्युतीय उपकरणहरूको सुरक्षात्मक प्रयोगलाई उच्च महत्त्व दिनुपर्छ । ती उपकरणहरूमा प्रयोग हुने सुरक्षात्मक उपायहरूमा आफ्नो अनुहारको पहिचान गर्नुपर्ने वा बायोमेट्रिकबाट आधिकारिकता पुष्टि गर्ने गरी सुरक्षात्मक उपाय अवलम्बन गर्न सकिन्छ । पासवर्ड प्रयोग गरी प्रयोग गरिने उपकरण, लिंक एवं एपहरूमा अरूले अनुमान गर्न नसक्ने किसिमका जटिल प्रकारका पासवार्ड प्रयोग गरेर पनि पहिचानको चोरीको शिकार हुनबाट बच्न सकिन्छ ।
आफूले प्राप्त गर्ने इमेलहरूलाई राम्रोसँग परीक्षण गरी तिनले फिसिङजस्ता अपराधको लागि सम्पर्क गरे नगरेको यकीन गरेर मात्र त्यस्ता इमेल पढ्ने, तथा उत्तर फर्काउने गर्नाले पनि विद्युतीय माध्यमबाट हुन सक्ने विद्युतीय पहिचानको चोरीबाट आफूलाई सुरक्षित राख्न सकिन्छ ।
सार्वजनिक रूपमा उपलब्ध हुने वाइफाईमा आफ्ना उपकरण जोडिन पुगेमा पनि त्यसले पहिचानको ठगीको लागि बाटो खुलाउन सक्छ । त्यसैले सम्भव भएसम्म सार्वजनिक वाइफाईको प्रयोग नगरेर पनि यसको शिकार हुनबाट जोगिन सकिन्छ ।
आजभोलि आम रूपमा सबै कुरा सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गर्ने प्रवृत्ति सबैतिर बढेकै देखिन्छ । कतिपयले त आफ्ना व्यक्तिगत विवरण एवं दस्तावेजसमेत सामाजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ । यसले अपराधीहरूलाई पहिचानको चोरी गर्न झन् सहज बनाएको छ । त्यसैले सामाजिक सञ्जालको समुचित सञ्चालन गरेर पनि पहिचानको चोरीको शिकार हुनबाट बच्न सकिन्छ ।
यदि कुनै अपरिचित व्यक्तिले फोन गरेर वा अन्य कुनै पनि माध्यमबाट आफ्नो पहिचानसँग सम्बद्ध जानकारी वा कागजपत्र मागेको अवस्थामा त्यस्तो व्यक्तिलाई जानकारी तथा कागजात उपलब्ध नगराउने बरु सम्बद्ध कानून कार्यान्वयन गर्ने निकायलाई जानकारी दिने गर्नाले आफू स्वयं त सुरक्षित हुन सकिन्छ नै त्यसबाट अपराधीसमेत हतोत्साह हुन गई अन्य व्यक्तिहरूसमेत पहिचानको ठगीको शिकार हुनबाट बच्ने सम्भावना रहन्छ ।
समग्रमा भन्ने हो भने पहिचानको चोरीले वित्तीय जोखिम मात्र होइन, कानूनी एवं अन्य प्रकारका जोखिमहरू पनि निम्त्याउन भएकाले आफ्नो व्यक्तिगत विवरण एवं पहिचानसँग सम्बद्ध कागजातहरूलाई व्यक्ति स्वयं सचेत भई सुरक्षित राख्नु नितान्त जरुरी देखिन्छ ।
यसका अतिरिक्त पहिचानको चोरी गरी सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्था, मालपोत, अस्पताललगायत सार्वजनिक निकायहरूले पनि यदि गलत पहिचानको आधारमा कसैलाई सेवा प्रवाह गरेको रहेछ भने त्यसको परिणाम तत्तत् संस्थाहरूले पनि बेहोर्नुपर्ने हुन्छ । त्यसैले सेवाप्रदायक संस्थाहरूले पनि पहिचानको चोरीको पहिचान एवं नियन्न्त्रण गर्ने उपायहरूका बारेमा जानकार भई सोहीअनुरूपको निरोधात्मक उपायहरू अवलम्बन गर्नु अनिवार्य छ । निरोधात्मक उपायहरूमा सबैभन्दा प्रभावकारी एवं भरपर्दो उपाय भनेको पहिचानको सम्पुष्टिलाई मानिन्छ । पहिचानको ठगीका अतिरिक्त नेपालको सन्दर्भमा पहिचानको सम्पुष्टि कसरी गर्न सकिन्छ भन्ने बारेमा यो लेखको अर्को खण्डमा चर्चा गरिनेछ । बाँकी अंश अर्को हप्ता ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।