बौद्धिक सम्पत्ति सृजना गर्ने काम पनि नवप्रवर्तन हो र त्यसलाई आर्थिक र सामाजिक विकासको कायापलट गर्नमा उपयोग गर्नु पनि नवप्रवर्तन नै हो । बौद्धिक सम्पत्ति आर्थिक समृद्धिमा योगदान पुर्याउने नवीन ज्ञानको भण्डार हो । यो ज्ञानको नवीनतम स्वरूप भएकाले र यसको सृजना गर्दा स्रष्टा वा आविष्कारक वा सर्जकले प्रशस्त मेहनत, स्रोत, साधन र समय खर्चनुपर्ने हुँदा उनीहरूको आफ्नो कृति, रचना वा आविष्कार राज्यद्वारा प्रदत्त एकलौटी अधिकारबाट संरक्षित र सम्पोषित गरिनुपर्छ । यसरी प्रदान गरिने एकलौटी अधिकारलाई बौद्धिक सम्पत्ति अधिकार भनिन्छ ।
पाश्चात्य मुलुकहरूको राष्ट्रिय उत्पादन अत्यधिक वृद्धि हुनु र आर्थिक सामाजिक समुन्नति अग्रगन्य स्थानमा पुग्नुको रहस्य पनि यसैभित्र लुकेको छ । बौद्धिक सम्पत्तिभित्र प्राविधिक विकासमा योगदान पुर्याउने पेटेन्ट आविष्कार सृजनशील साहित्यिक, कलात्मक तथा सांगीतिक सृष्टि माथिको प्रतिलिपि अधिकार, औद्योगिक तथा व्यापारिक वस्तुको आकर्षणमा योगदान पुर्याउने औद्योगिक डिजाइन उत्पादन गर्ने प्रतिष्ठानको पहिचान र उत्पादित वस्तुको पहिचान दिई व्यापार वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने ट्रेडमार्कलगायत विभिन्न चिह्नहरूको अधिकारलगायत मानवीय चिन्तनबाट प्रस्फुटित विचार र अभिव्यक्तिहरू बौद्धिक सम्पत्ति हुन् ।
नवप्रवर्तन बौद्धिक सम्पत्ति सृजनाको महत्त्वपूर्ण आयाम हो । यसले मानवजीवनलाई बढी स्वस्थ, सुरक्षित र सुविधासम्पन्न बनाउँछ । मान्छेले भोगेका कुनै पनि समस्यालाई समाधानमा रूपान्तरित गरिदिने प्रक्रिया नै नवप्रवर्तन हो । कुनै समस्याको प्राविधिक समाधान पत्ता लगाउनु आविष्कार हो भने आविष्कारलाई मानव जीवनोपयोगी हुनेगरी व्यवहारमा उतार्नु नवप्रवर्तन हो । नवप्रवर्तन केवल आविष्कारमा मात्र होइन, जुनसुकै बौद्धिक सम्पत्तिलाई व्यवहारमा उतारी मानव जीवनमा सुधार ल्याउने प्रक्रिया हो ।
नवप्रवर्तनकारी प्रतिभाहरूको संरक्षणका लागि बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने भरपर्दो नीति, कानून र संस्थागत व्यवस्था नभएको हाम्रो मुलुकमा समृद्धिको चाहना राख्नु आकाशको फल आँखा तरी मर भने जस्तै हो ।
कुनै प्रतिभाले नयाँ प्रविधिको विकास गर्नु, विकसित प्रविधिलाई व्यवहारमा उतार्नु, कुनै व्यवसायीले आकर्षक डिजाइनमा वस्तु उत्पादन गर्नु, समूह चिह्न प्रयोग गरी कुनै समुदायले उत्पादन गरेको भएको बजार प्रवर्द्धन गर्नु, नयाँ पेटेन्ट गरेको फर्मुला खोजतलास गरी औषधि उत्पादन गर्नु, मीठो स्वाद र धेरै उत्पादन हुने सुन्तलाको जातको विकास र विक्री वितरण गर्नु, यी सबै नवप्रवर्तनका काम हुन् । सृजनशील र नवप्रवर्तनकारी प्रतिभाहरूको संरक्षण गर्ने कानूनी उपाय बौद्धिक सम्पत्ति अधिकारको संरक्षण हो ।
नवप्रवर्तनका प्रमुख उपलब्धि हुन् : उत्पादन विधिमा सुधार, आफ्नै प्रविधिका आत्मनिर्भरता, उपभोक्ताका चाहना र खाँचोअनुसार नयाँ वस्तुको उत्पादन, बजारमा वस्तुको प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि र बजार विस्तार, समाजमा नवीनतम ज्ञान र शीपको सञ्चार, सृजनात्मक क्रियाकलाप वृद्धि, प्रविधिको विकास, लगानी वृद्धि, आर्थिक समुन्नति आदि । नवप्रवर्तनकारी प्रतिभाहरूको संरक्षणका लागि बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने भरपर्दो नीति, कानून र संस्थागत व्यवस्था नभएको हाम्रो मुलुकमा समृद्धिको चाहना राख्नु ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै हो । नेपालका केही नवप्रवर्तनकारी प्रतिभाहरूका कार्यहरूको संक्षिप्त चर्चा गर्न पनि यहाँ सान्दर्भिक नै देखिन्छ ।
राष्ट्रिय र अन्तरराष्ट्रिय जगत्मा चर्चित नवप्रवर्तनकारी व्यक्तित्व हुन्, ग्याग्दीका महावीर पुन । उनले म्याग्दी आसपासका दुर्गम पहाडी तथा हिमाली ग्रामीण इलाकामा सञ्चार सञ्जाल परियोजना सञ्चालन र कृषि तथा ससाना व्यवसाय प्रवर्द्धनमा आईटीको सफल प्रयोग गरेर चर्चित भएका छन् । उनले आफ्नै लगानीमा कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र खडा गरी प्रविधिको क्षेत्रमा अनुसन्धान, प्रशिक्षण, तालीम सञ्चालन, सेवा प्रवाह र प्रविधि विकासका कार्यहरू सञ्चालन गर्दै आएका छन् । उनका कामहरू म्यागासेसे फाउन्डेशन, अशोक फाउन्डेशन नेब्रेष्का विश्वविद्यालय जस्ता संस्थाबाट पुरष्कृत र सम्मानित भएका छन् ।
नवप्रवर्तनकारीहरूको समूहमा एक उदीयमान नक्षत्रको नाम हो– डा. प्रतिभा पाण्डे । हाल उनी महिला उद्यमीका रूपमा स्थापित भइसकेकी छन् । उनले १ करोड लागतमा ललितपुरको सानेपामा हर्वेदा बोटानिकल्स नामबाट जडीबुटीमा आधारित आयुर्वेदिक औषधि तथा छाला र कपाल आदिको स्याहारसम्भारसँग सम्बद्ध स्क्रब, टोनर, भिटामिन सी, विभिन्न थरी छालाका क्रिम, स्याम्पु, सावुन सुगन्धित तेलजस्ता वस्तु उत्पादन र प्रतिपिस रू. २०० देखि रू. २००० मा स्थानीय बजार तथा अनलाइनमा बेच्दै आएकी छन् । उनका उत्पादनहरू परम्परागत उत्पादनभन्दा फरक छन्, पूर्णरूपले अनुसन्धानमा आधारित छन् र सुन्तला, कागती, निबुवा आदि फलफूलका बोक्राजस्ता पहिले उपयोगमा नआएका वस्तुमा आधारित छन् । हाल उनले आफ्ना उत्पादनको निर्यात बजार अध्ययन गरिरहेकी छन् । अझ फ्रान्स वा इटालीका कस्मेटिक उत्पादकसँग प्राविधिक तथा बजारीकरण सम्झौता गरेर उत्पादन गर्न सकेमा अझै धेरै फड्को मार्न सक्ने सम्भावना देखिएको छ ।
नेपालका आम महिला उद्यमीभन्दा डा.प्रतिभा यस अर्थमा पनि फरक छिन्– उनले आफ्नो उच्च शिक्षा अमेरिकामा प्राप्त गरिन् । अध्ययनका मूल विषयहरू रसायनशास्त्र, जैवी प्रविधि तथा वनस्पति शास्त्र र व्यवस्थापन रहेका छन् । त्यहीँ विद्यावारिधि पूरा गरिन् र आफ्ना तीन आविष्कारमा पेटेन्ट पनि लिइन् । त्यहाँ रहँदा उनले यूनेस्कोको फेलोसिपमा गरेको अनुसन्धान र रोजगारदाता कम्पनीमा गरेको काम पनि उद्योग सञ्चालनका लागि वरदान रहे । २०७२ सालको भूकम्पलगत्तै परिवार र मुलुक सम्झेर नेपालमा केही गरेर देखाउने रहरसहित फर्केकी प्रतिभाले फर्केलगत्तै व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रबाट मुगु, म्याग्दी र मुस्ताङमा जडीबुटीको अध्ययन अनुसन्धान गर्ने काम पाइन् ।
त्यसपछि उनले आफ्नो सोचअनुसार कपनमा केही जमीन भाडामा लिएर जडीबुटी खेती गर्न र सानेपास्थित गैरनाफामूलक संस्था रिब्स (रिसर्च इन्स्टिच्युट अफ बायोसाइन्स एन्ड बायोटेक्नोलजी) मा उत्पादनका लागि लक्षित गरिएका वस्तुमा अनुसन्धान गर्न लागिन् । यसैक्रममा उनले गैरसरकारी सामाजिक संस्था बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल नामको सामाजिक संस्थाको कार्यकारी सदस्यमा रहेर स्रोत व्यक्तिको भूमिका निर्वाह गरिन् र सोही विषयसँग सम्बद्ध जेनेभास्थित विश्व बौद्धिक सम्पत्ति संगठनका फोरमहरूमा पनि भाग लिइन् । यसरी उनको शीप, ज्ञान, अध्ययन, अनुसन्धान, शैक्षिक योग्यता र कार्यानुभव आदिले गर्दा नवप्रवर्तनकारी डा. प्रतिभाका सफलताका ढोकाहरू खुला रहेका छन् ।
नवप्रवर्तनकारी व्यक्तिहरूको चर्चा गर्दा रामलक्ष्मण रिमाल दुई जुम्ल्याहा भाइहरूलाई बिर्सनै सकिँदैन । बीस वर्षदेखि दुवै मिलेर प्रविधिको विकासमा निरन्तर लागिपरेका रिमाल बन्धुले महाराजगञ्जमा टेक्नोलोजी सेन्टर नामक कार्यशाला सञ्चालन गरेका छन्, यान्त्रिक तथा विद्युतीय उपकरणमा अनुसन्धान गर्दै नयाँ नयाँ उपकरणहरूको आविष्कार गरेका छन् र करीब एक दर्जन पेटेन्ट उद्योग विभागबाट स्वीकृत गराइसकेका छन् । उनीहरूले विकसित गरी परीक्षण, उत्पादन र बजारीकरण समेत गरेका उपकरणहरूमा सामुदायिक सुरक्षा उपकरण (सायरन सिस्टम), बाडीको पूर्वसंकेत गर्ने उपकरण, घर र कारखानाको अटोमेशन प्रणली, मकै रोप्ने मेशिन, विद्युतीय भोटिङ मेशिन, थर्मोग्राफिक क्यामरा आदि समेत गरी ५० भन्दा बढी किसिमका उत्पादन रहेका छन् । तीमध्ये ६ ओटा उपकरणको पेटेन्ट भइसकेको छ, २० ओटाको प्रतिलिपि अधिकार सुरक्षित छ, दर्जनभन्दा बढी पेटेन्टको कारबाहीमा रहेका छन् । हाल उनीहरूका १०० भन्दा बढी परियोजना कार्यान्वयनमा रहेका छन् । मेशिनको आफ्नै कार्यशालामा सफल उत्पादन र व्यापारीकरण भइसकेको छ ।
त्यस्तै पोखरामा झलक थापाको हिमालय वाइनरी कम्पनी (डाँडाघरे वाइनरी) ले नेपाली फलफूल र जडीबुटीमा आधारित वाइनलाइ आँगन, मझेरी, आँटी, पिँढीजस्ता ठेट नेपाली शब्दहरूको ट्रेडमार्कबाट ब्रान्डिङ गरी पोखराकै पर्यटकीय प्रवर्द्धनमा सहयोग त पुर्याएको छ नै, यसबाहेक जापानमा समेत निर्यात गरिरहेको छ । यस्ता दर्जनौं सफल प्रतिभाहरू छन्, सबैको नाम यहाँ उल्लेख गर्न सम्भव छैन । मुलुकमा बौद्धिक सम्पत्तिको प्रवर्द्धनसम्बन्धी कुनै पनि सुविधा नभएका बेला आफ्नो विवेक र मेहनतबाट आफ्नो प्रतिमा उजागर गरेर तथा नवप्रवर्तनका उदाहरणीय काम गरेर यी प्रतिभाहरूले समाजलाई ठूलो गुन लगाएका छन् ।
कुनै समस्याको प्राविधिक समाधान पत्ता लगाउनु आविष्कार हो भने आविष्कारलाई मानव जीवनोपयोगी हुने गरी व्यवहारमा उतार्नु नवप्रवर्तन हो । नवप्रवर्तन केवल आविष्कारमा मात्र होइन, जुनसुकै बौद्धिक सम्पत्तिलाई व्यवहारमा उतारी मानव जीवनमा सुधार ल्याउने प्रक्रिया हो ।
नेपाली नवप्रवर्तनकारी प्रतिभाहरू नेपालभित्र मात्र होइन, विदेशमा समेत छरपस्ट भएका उदाहरण धेरै छन् । एउटा उदाहरण म यहाँ एडनवरामा बिदाका दिनहरूमा घुमफिर गर्ने क्रममा फेला पारेको एउटा ठाउँ र व्यक्तिबारे चर्चा गर्दै छु । यो ठाउँ आर्थिक अभियानको अघिल्लो अंकमा उल्लेख गरेको शाही वनस्पति उद्यान (रोयल बोटानिक गार्डेन) को प्रसंगभन्दा फरक छ । विगत सोमवार हामी पुगेका थियौं– शेर्पा गार्डेन, यसलाई क्यारिगवर्न गार्डेन पनि भनिन्छ । क्यारिगवर्न ठाउँको नाम पनि हो । यो ठाउँ एडनवराबाट १६० किमी दक्षिणपश्चिम रहेको वर्डस्वर्थको बाल्यकाल गुज्रेको सानो शहरमार्फतबाट पाँच किमी वरै पर्छ ।
हाम्रो समूहमा पहिलेजस्तो चारजना सदस्य– छोरी प्रतिमा, ज्वाइँ डा. दीपक, पत्नी वसन्ती र मेरा अलावा नातिनी द्वय निहारिका र आभारिका पनि थिए । कारबाट यात्रा गर्ने क्रममा बाटोका सुन्दर प्राकृतिक दृश्यहरूलाई आँखामा कैद गर्दै घुम्दै जाँदा साढे ३ घण्टाको यात्रापछि हामी क्यारिगवर्न पुग्यौं । हामी कारबाट ओर्लंदै गर्दा एउटा नेपाली अनुहारले नमस्ते भन्दै स्वागत गर्यो । उनी थिए दावा शेर्पा, तीनपटक सगरमाथाको सफल आरोहण गरिसकेका व्यक्ति । डा. दीपकले र प्रतिमाले दावा दाइ तपाईंको सुन्दर बगैंचा देखाउन यसपटक बुबा आमालाई लिएर आएका छौं भनेपछि उनले हामीलाई बगैंचाका एक एक कुना देखाएका थिए ।
छ एकड जमीनमा फैलिएको बगैंचामा शेर्पा जोडी मात्र होइन, पुष्प तथा आलंकारिक बोटबिरुवाहरू, नर्सरी, चौर, क्यारी, झरना, सानो स्तुपा, पताकाहरू, पानीको धारा, सानो पावर हाउस, पानी प्रशोधन संयन्त्र, हिमाली ट्वाइलेट, गार्डेन टेबुल तथा बेन्च, कटेज तथा होमस्टे, आदि सुविधा र सजावटले हिमाली पर्यटकीय वस्तीको आभास मिल्दथ्यो । विदेशमा पनि नेपालको सानो अंश भेटाउँदा आनन्दले विभोर भयो । नेपालीको पौरखले नेपाली जनजीवन र संस्कृतिको पहिचान समुद्रपारिको संसारभर टाढाटाढा फैलिएको पाउँदा मन कति प्रफुल्ल हुन्छ, ह्दय आनन्दले गौरवान्वित हुन्छ । यस्ता कुरा नेपालीपन र नेपाली मन भए मात्र बुझ्न सकिन्छ ।
छोरीज्वाइँ र नातिनीहरू पहिले पनि आएको ठाउँ भएकाले आफ्नै तरीकाले उद्यान घुम्न थाले । म र मेरी सँगिनी भने दावाको साथमा घुम्न लाग्यौं । मेरा केही जिज्ञासा पनि थिए उद्यान अवलोकनका क्रममा मैले उनलाई सोध्दै गएँ र उनले पनि सरल स्वभाववश उत्तर दिँदै गए । त्यो उद्यानको खास मालिक जनेट (स्कटिस महिला) रहिछन् । उनी आफ्नो साथीसँग नेपाल पनि बरोबर आउनेजाने गर्दिरहिछन् ट्रेकिङ र पर्वतारोहणका लागि । दावाले उनीहरूको पथप्रदर्शक र भरियाको काम गर्दा रहेछन् । उनकै साथमा दावा पनि सँगै स्कटल्यान्ड आउने र जाने गर्दा रहेछन् । त्यस उद्यानमा नेपालबाट ल्याइएका ७०० प्रजातिका बोटबिरुवा पनि समावेश गरिरहेको रहेछ ।
दावाको भनाइअनुसार उनीहरूले नै स्थानीय भरिया वा पथ प्रदर्शकलाई लिएर जंगलबाट के कसरी प्लान्ट हन्टिङ गर्ने भनेर तरीका सिकाउँदा रहेछन् । तर, बिरुवा ओसार्ने काम १९९५ पहिले भएको रहेछ । १९९५ यता भने नेपाल र बेलायत दुवैतिर एयरपोर्ट भन्सारमा कडाइ गर्दो रहेछ । अहिले त उनी बस्ने गरेको २० वर्ष पनि नाघिसकेछ । दावाको मेहनतबाट जनेटको कारोबार निकै फस्टाएको रहेछ । दुई तीन पटक त उद्यानले अन्तरराष्ट्रिय पुरस्कार प्राप्त गरेको रहेछ । दावाको पनि गासबास र श्रीमती छोराछोरीको पालनपोषण र शिक्षदीक्षामा जनेटबाट सहयोग पुगेको रहेछ । काम अरूका लागि गरेको भए पनि दावा जोडीले त्यो एकीकृत उद्यान सेवामा नेपालीपन ल्याएको र नेपाललाई चिनाउने प्रयत्न गरेको कुरा स्वागतयोग्य नै छ । यो पनि नवप्रवर्तनको एउटा नमूना हो ।
हाल आएर बौद्धिक सम्पत्तिका अन्य धेरै विषय विकसित हुन पुगेका छन् । जस्तो गोपनीयताको अधिकार, भौगोलिक संकेतमाथिको अधिकार, अस्वस्थ प्रतिस्पर्धा निवारण, प्रविधि हस्तान्तरण, एकीकृत सर्किट संरचनामाथिको अधिकार, परम्परागत तथा जैविक साधनमाथिको अधिकार, बोटबिरुवाका नयाँ जातहरूमाथिको अधिकार, परम्परागत सांस्कृतिक निधिमाथिको अधिकार, जनजिब्रो तथा भाषाको अधिकारजस्ता विषय पनि बौद्धिक सम्पत्तिअन्तर्गत समावेश गरिएका छन् । यस्ता सबै किसिमका बौद्धिक सम्पत्तिहरूमा नवप्रवर्तन क्रियाकलापहरू सञ्चालन गर्न सकिन्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका अध्यक्ष हुन्