काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा अन्त:शुल्क स्टीकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतवार मुद्दा दायर गरेको हो । बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा लागेको यो नेपालको पहिलो घटना हो ।
अर्याल २०७८ साउन २५ देखि २०७९ चैत १४ सम्म सञ्चार सचिव थिए । सञ्चारबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका अर्याल अवकाशको ३ दिनअघि जेठ ३२ मा मुख्यसचिव बनेका थिए । भ्रष्टाचारको मुद्दा लागेपछि नेपाल सरकारका मुख्यसचिव अर्याल स्वत: निलम्बनमा परेका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार कुनै राष्ट्रसेवक थुनामा रहेको अवधिभर र मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक उक्त मुद्दा किनारा नलागेसम्म स्वत: निलम्बित हुने व्यवस्था छ ।
‘मुख्यसचिव नै जोडिएको मुद्दालाई यसै महीना अनुसन्धान सकेर अघि बढाउने निर्णय लिँदै छौं,’ अख्तियारका एक आयुक्तले आर्थिक अभियानसँगको कुराकानीमा बताए ।
पूर्वमुख्यसचिव विमल कोइराला निजामती सेवाको बहालवाला मुख्यसचिवलाई मुद्दा लागेको घटना पहिलो रहेको बताउँछन् । ‘हुन त सचिव भएकै बेलामा गरेको निर्णयको आधारमा मुद्दा लागेको हो । तैपनि बहालवाला मुख्यसचिव यस्तो केसमा पहिले परेका थिएनन्,’ उनले आर्थिक अभियानसँग भने, ‘कर्मचारीले ऐन, कानून छाडेर राजनीतिक कार्यकारीको मोहमा फसेर
गलत काम गर्नु हुँदैन भन्ने पाठ यस घटनाले सिकाएको छ ।’ उनका अनुसार यसमा संलग्न राजनीतिक कार्यकारीचाहिँ कारबाहीमा नपर्ने, खाली कर्मचारीमात्रै पर्दा अन्योलको अवस्था आएको छ । यसले कर्मचारीमात्रै दोषी हुन् त भन्ने प्रश्न खडा गरेको छ ।
लोकसेवा आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वगृहसचिव उमेशप्रसाद मैनाली मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लाग्नु सामान्य नरहेको बताउँछन् । नेपालको इतिहासमा सम्भवत: बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो रहेको बताउँदै उनले आर्थिक अभियानसँग भने, ‘मुख्यसचिवबाट अवकाशमा गइसकेपछि त मुद्दामामिला भएका थिए । मुख्यसचिव पदमै हुँदा मुद्दा दायर भएको योबाहेक अर्को मलाई जानकारीमा छैन ।’
उनका अनुसार अब प्रधानमन्त्रीले भन्ने गरेको सुशासन वा नैतिकतामाथि प्रश्न उठेको छ । ‘कि कर्मचारीमाथि मात्रै अभियोग लागेपछि, सजाय भोगेपछि राजनीतिक नेतृत्वलाई छुनु पर्दैन कि,’ उनले भने, ‘त्यसो होइन भने, अब निर्णय प्रक्रियामा सामेल कर्मचारी मात्रै दोषी हुने हो कि ? निर्णय अधिकारीमाथि प्रश्नै नउठ्ने हो ? यो विषय पनि अब झन् पेचिलो बनेर आएको छ ।’
अरू कोकोविरुद्ध मुद्दा ?
स्टीकर प्रकरणमा मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रीतेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । यसअघि नै एउटा भ्रष्टाचार मुद्दा दोषी ठहर र अर्को त्यस्तै मुद्दा विचाराधीन रहेको सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे र केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ ।
स्टीकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ । आरोपित ११ जना र प्रतिवादी कम्पनी प्रिन्टसेलबाट जनही बिगो कायम गरिएको रकम बमोजिम जरिवाना असुल गर्नुपर्ने मागदाबीमा उल्लेख रहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । उनका अनुसार स्टीकर छपाइमा भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६०० रुपैयाँसमेत प्रतिवादीबाट जनही असुलउपर गर्नुपर्ने अभियोगपत्रमा छ ।
मुख्यसचिव अर्याललाई लागेको मुद्दा के हो ?
सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष हुँदा योजना छनोटका आधारभूत प्रक्रिया नै पूरा नगरी केन्द्रमा ठूलो रकम विनियोजन गर्ने काममा संलग्न भएको अख्तियारको आरोप छ । सञ्चार मन्त्रालयको वार्षिक बजेटभन्दा बढी स्रोत सुनिश्चितता पाएको सुरक्षण मुद्रण केन्द्रले त्यसपछि अन्त:शुल्क स्टीकर छाप्ने काम अघि बढाउन भन्दै प्रिन्टर आयात गरेको थियो । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सचिव सुरक्षण मुद्रण विकास समितिको पदेन अध्यक्ष हुने व्यवस्था छ ।
समितिका सात जना सदस्यले निर्णय गर्नुपर्नेमा उनीहरूको अधिकार हरण गरेर आर्थिक वर्ष २०७९/८० को लागि केन्द्रको नीति, बजेट र कार्यक्रम समितिको बैठकबाट स्वीकृतसमेत नगराई र समितिको बैठकबाट अधिकार प्रत्यायोजनसमेत नगराई मन्त्रालयको सचिवको हैसियतमा कानूनले नदिएको अधिकार प्रयोग गरी कार्यकारी निर्देशकलाई गैरकानूनी कामकारबाही सम्पादन गर्न प्रत्यक्ष सहयोग पुर्याएको अख्तियारको आरोप छ ।
कानूनले नदिएको अधिकार प्रयोग गरी बजेट सिलिङ दिने, वार्षिक बजेट तथा कार्यक्रम अर्थ मन्त्रालय पठाई कार्यक्रम तथा बजेट प्रविष्ट गर्ने अनलाइन प्रणाली एलएमबीआईएसमा प्रविष्ट गराउने, कार्यसम्पादन सम्झौता गर्ने, खरीद गुरुयोजना स्वीकृत गर्नेजस्ता काम कारबाहीमा संलग्न भएको अख्तियारले बताएको छ ।
कर्मचारी वृत्तमा हलचल, ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो
अर्यालको गैरकानूनी भूमिकाको कारण सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले अन्त:शुल्क स्टीकर छपाइ खरीद गर्नेसम्बन्धी गैरकानूनी खरीद कार्य आघि बढाउन सकेको अख्तियारको आरोप छ । पौडेलले मिलेमतोमा सारभूत रूपमा प्रभावकारी नरहेको बोलपत्र स्वीकृत गरी कानूनविपरीत ठेक्का सम्झौता गरी पेश्की रकम भुक्तानीसमेत गरी केन्द्रको ३८ करोड ६७ लाख हानिनोक्सानी गरे/गराएको हुँदा मुख्यसचिव भ्रष्टाचारमा दोषी रहेको अख्तियारको भनाइ छ ।
२४ भदौ २०७८ मा तत्कालीन सञ्चार सचिव अर्यालले अतिरिक्त बजेट र थप २ वर्षका लागि गरी २३ अर्ब ६३ करोड रुपैयाँको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेका थिए । अर्यालले गरेको निर्णयमा भनिएको थियो, ‘चालू आर्थिक वर्षमा सुरक्षण मुद्रण भवन निर्माणको कार्य शुरू गर्नुपर्ने र अन्त:शुल्क स्टीकरलगायत सुरक्षण मुद्रण गर्न सम्भव हुने भन्ने प्राविधिक भनाइ रहेकाले तपसिलबमोजिमको बजेट व्यवस्थापन गरिदिनका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने ।’
सञ्चार मन्त्रालयले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि भन्दै त्यही वर्ष थप २७ अर्ब रुपैयाँ माग गर्ने निर्णय गरेको थियो । सचिव अर्यालको निर्णयमा उच्चस्तरीय सुरक्षासहितको डिजिटल प्रिन्टिङ प्रेस र उपकरणका लागि ३ अर्ब ३० करोड रुपैयाँ चाहिने उल्लेख थियो । त्यसबाहेक सुरक्षण मुद्रण केन्द्रको मेशिनरी औजारका लागि भन्दै थप ४ अर्ब ७२ करोड रुपैयाँ केन्द्रले मागेको थियो ।
सञ्चार मन्त्रालयले त्यसपछिका २ वर्षमा सुरक्षण मुद्रण केन्द्रको उपकरणका लागि भन्दै ९ अर्ब ४५ करोड रुपैयाँका दरले रकम माग गरेको थियो । उसले माग गरेको र स्रोत सुनिश्चितता खोजेको रकम जोड्दा २६ अर्ब ९३ करोड रुपैयाँ पुग्छ । त्यसबाहेक कर्मचारीको तलब भत्ता, पोशाकलगायतका लागि थप ९० लाख रुपैयाँ माग गरेको देखिन्छ । मागेजति बजेट व्यवस्थापन नभएपछि सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले २०७८ पुसमा सञ्चार मन्त्रालयमा पत्र पठाई सुरक्षण मुद्रण केन्द्र स्थापना गर्न ३३ अर्ब २९ करोड रुपैयाँ लाग्ने भएकाले स्रोत सुनिश्चितता मागिएको बताएका थिए ।
बजेट विनियोजन नहुँदा सुरक्षण मुद्रणको काम गर्न कठिन भएको भनी उनले पत्रमार्फत ध्यानाकर्षण गराएका थिए । त्यतिबेला सुरक्षण मुद्रण केन्द्रका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको थिएन । योजना आयोगको योजना बैंकमा पनि त्यो कार्यक्रम समावेश भएको थिएन । सञ्चार मन्त्रालयले भने सुरक्षण मुद्रण केन्द्रका लागि आवश्यक पर्ने कुनै उपकरण, त्यसका बजारभाउलगायत सामान्य अध्ययनसमेत नगरी रकम माग गरेको थियो । पत्राचार गर्ने बेलासम्म बहुवर्षीय खरीद योजना पनि तयार भएको थिएन । जनार्दन शर्मा अर्थमन्त्री भएका बेला स्रोत सुनिश्चितताको निर्णय पनि भएको थियो । गतवर्षको निर्वाचनलगत्तै सरकार परिवर्तन भएपछिका अर्थमन्त्री विष्णु पौडेलले स्रोत सुनिश्चितताको निर्णय उल्टाइदिएका थिए ।
अर्याललाई अर्को पनि मुद्दाको सम्भावना
मुख्यसचिव अर्याल नेपाल दूरञ्चार प्राधिकरण टेरामक्स प्रविधि खरीद प्रकरणमा पनि मुछिएका व्यक्ति हुन् । यसबारेमा पनि अख्तियारले अनुसन्धान जारी राखेको छ । अख्तियार स्रोतका अनुसार अर्को कुनै परिस्थिति नबने यही महीनाभित्रै टेरामक्स खरीदसम्बन्धमा पनि विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।
‘मुख्यसचिव नै जोडिएको मुद्दालाई यसै महीना अनुसन्धान सकेर अघि बढाउने निर्णय लिँदै छौं,’ अख्तियारका एक आयुक्तले आर्थिक अभियानसँगको कुराकानीमा बताए ।
कहिले के भएको थियो ?
सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्त:शुल्क स्टीकर छाप्न टेन्डर आह्वान गरेको थियो । सेन्टरले आह्वान गरेको अन्त:शुल्क स्टिकर छपाइको ठेक्का २०७९ मङ्सिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो । ४३ करोड ३२ थान अन्त:शुल्क स्टीकर प्रतिथान ८९ पैसाका दरमा छाप्ने गरी प्रिन्टसेल र केन्द्रबीच सम्झौता भएको थियो ।
त्यसअनुसार सम्झौता भएको स्टीकर छपाइको लागत ३८ करोड ५५ लाख ४८ हजार रुपैयाँ हुन आउँछ । आन्तरिक राजस्व विभागका अनुसार त्यसअघि यस्तै स्टीकर प्रतिथान अधिकतम २५ पैसासम्म पथ्र्यो । प्रतिथान २५ पैसाले हिसाब गर्दा ती स्टीकरको लागत १० करोड ८३ लाख रुपैयाँ मात्र पर्ने देखिन्छ । तर, त्योभन्दा ४ गुणा बढी लागतमा ठेक्का सम्झौता कायम गरिएको छ । प्रिन्टसेलले स्टीकरको कागज र मसी मात्र खरीद गर्ने सम्झौता भएको थियो । बाँकी छपाइको काम सेन्टरबाटै हुने भनिएको सम्झौतामा अस्वाभाविक मूल्य कायम गरेर प्रिन्टसेललाई ठेक्का दिइएको थियो । अग्रिम भुक्तानीबापत ६ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरिएको अख्तियारले बताएको छ । त्यसबेला सञ्चार सचिवमा हालका मुख्यसचिव अर्याल र सेन्टरको कार्यकारी निर्देशक विकल पौडेल थिए । सुरक्षण मुद्रण विकास समिति अध्यक्ष सञ्चार सचिव रहने व्यवस्था छ । अर्याल र पौडेलसहितका अधिकारीको निर्णयले स्टीकर खरीदको ठेक्का लगाइएको थियो । खरीद प्रक्रिया धेरै हतारमा अगाडि बढाइयो र स्पेसिफिकेशन र डिजाइन समेत आन्तरिक राजस्व विभागबाट स्वीकृत नगरी/नगराई अन्त:शुल्क स्टीकर खरीदका लागि सुरक्षण मुद्रण केन्द्रले कानूनविपरीत ठेक्का लगाई पेश्कीसमेत दिएको अख्तियारको आरोप छ ।