काठमाडौं । भारत र बंगलादेशबीच सम्बन्ध चिसिइरहेको बेला भारतले आफ्नो केही स्थल भन्सार नाका भएर तेस्रो देश जाने बंगलादेशको निर्यातमा दिँदै आएको अनुमति खारेज गरेको छ ।
यो निर्णयबाट बंगलादेशको नेपाल, भुटान र म्यानमारतर्फको निर्यातमा असर गर्न सक्ने भारतीय सञ्चार माध्यमले बताए पनि नेपाल र बंगलादेशको अधिकांश व्यापार हुने मार्गलाई भारतको यो निर्णयले नछोएकाले दुईपक्षीय व्यापार खासै प्रभवित नहुने सरोकारवालाको भनाइ छ ।
भारतको सेन्ट्रल बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेज एन्ड कस्टमस् (सीबीआईसी)ले मंगलवार एक निर्देशन जारी गरी सन् २०२० को जुन २९ देखि बंगलादेशलाई दिँदै आएको सुविधा अन्त्य गरिदिएको हो । उक्त निर्णयबाट भारतको पेट्रापोल र रानाघाट हुँदै भारतको कोलकाता बन्दरगाह, एयर कार्गो कम्प्लेक्स, कोलकाता, न्हाभासेवा बन्दरगाह जाने सुविधा अन्त्य गरिएको हो ।
‘नेपाल र बंगलादेशबीचको व्यापारमा पेट्रापोल र रानाघाट स्थल भन्सार नाका खासै प्रयोग नहुने भएकोले नेपाल–बंगलादेश व्यापार धेरै प्रभावित हुने देखिँदैन,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘नेपाल र बंगलादेशबीचको व्यापारमा मूलतः फूलबारी–बंगलाबन्धको बाटो प्रयोग हुन्छ तर भारतको पछिल्लो निर्णयले यो बाटोबाट हुने बंगलादेशको तेस्रो देश निर्यातलाई छोएको देखिँदैन ।’
छोटो दूरीका कारण नेपाल र बंगलादेशबीचको अधिकांश व्यापार यही मार्ग प्रयोग गरेर भइरहेको उनले बताए ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महीनामा बंगलादेशबाट नेपालमा २ अर्ब ९७ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । नेपालले ४३ करोड ३५ अर्ब रुपैयाँ बराबरको सामान बंगलादेश निर्यात गरेको छ । यो अवधिमा बंगलादेशबाट सबैभन्दा धेरै कच्चा जुट आयात भएको छ । कच्चा जुट १ अर्ब ६१ करोड रुपैयाँको आयात भएको छ ।
‘भारतीय निर्णयबाट कुनै असर हुने/नहुनेबारे कानून व्यवसायीलाई भारतीय निर्णय अध्ययन गर्न भनेको छु,’ नेपाल जुट मिल संघका अध्यक्ष राजकुमार गोल्छाले भने ।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले हालै भारतको उत्तरपूर्वको क्षेत्र भूपरिवेष्टित जस्तै भएको र त्यहाँ पुग्ने समुद्री मार्ग बंगलादेशले मात्र दिन सक्ने भनी चीनलाई बंगलादेशमा लगानी गर्न भनेपछि भारत चिढिएको थियो ।
भारतले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई आफ्नो देशमा शरण दिएदेखि दुई देशबीच सम्बन्ध तनावपूर्ण बनेको छ । यसबीचमा पछिल्लो भारतीय निर्णय आएको छ ।